दशरथ चन्द र सुदूरपश्चिम विश्वविद्यालयको नियुक्ति खारेजी



कैलाली ।

शनिबार राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरे । अध्यादेशमार्फत विभिन्न ११० वटा कानुन परिमार्जन गरिएको छ । सो अध्यादेश जारी भएसँगै विभिन्न नियामक निकाय, सार्वजनिक संस्था तथा राज्यका अन्य अंगहरूमा कार्यरत करिब एक हजार ५३४ पदाधिकारी पदमुक्त भएका छन् ।

अध्यादेशले सुदूरपश्चिममा पनि थुप्रै पदमुक्त भएका छन् । सञ्चालनमा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा पनि नियुक्ति पाएका थुप्रै पदमुक्त हुँदैछन् । शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन, २०८२ को दफा ७ (२) का खण्ड (छ), (ट), (ठ) र (ड) बमोजिमका सदस्यहरू, दफा १० (२) का खण्ड (ग), (घ), (ङ) र (च) बमोजिमका सदस्यहरू, दफा १२ (२) का खण्ड (घ) र (ङ) बमोजिमका सदस्यहरू, दफा २५ (७) बमोजिम नियुक्त उपकुलपति र रजिस्ट्रार, दफा ३० बमोजिम नियुक्त डिन, दफा ३२ बमोजिम नियुक्त प्रिन्सिपल, दफा ३३ बमोजिम नियुक्त अस्पताल निर्देशक र दफा ३७ (२) को खण्ड (क) बमोजिम मनोनीत पदपूर्ति समितिको संयोजकको पद जाने भनिएको छ ।

सोअनुसार उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी र रजिस्ट्रार डा. खेमराज जोशी पनि पदमुक्त हुने भएका छन् । यस्तै, अध्यादेशअनुसार विश्वविद्यालय सभामा नियुक्त भएका सदस्य पनि पदमुक्त हुने छन् । सभा सदस्य रहेका सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति समेत रहेका प्रा.डा. हेमराज पन्त, प्रा.डा. जयराज अवस्थी, प्रा.डा. अम्मरराज जोशी, डा. लवदेव अवस्थी, सहप्राध्यापक अनुराधा रोकाया, डा. डम्मरबहादुर पाल र प्रा.डा. संगीताराज भण्डारी पनि पदमुक्त हुने भएका छन् ।

उपकुलपति जोशीले सार्वजनिक पदाधिकारीहरूको पदमुक्तिसम्बन्धी अध्यादेश जारी भएपछि अन्योलता सिर्जना भएको बताए । ‘हामीले विश्वविद्यालयमा सञ्चालित अस्पताललाई शिक्षण अस्पतालमा स्तरोन्नति र मेडिकल शिक्षा अध्यापनका लागि थुप्रै प्रक्रिया अगाडि बढाइसकेका थियौँ,’ उनले भने, ‘तर, अध्यादेश जारी भएपछि स्वतः पदमुक्तको कुरा सुनिरहेको छु । अब के गर्ने भन्ने अन्योलता छ ।’ जोशीका अनुसार विश्वविद्यालयमा एमबीबीएस, नर्सिङ, बीएस्सी एमएलटी, बीअप्टोमेटरीमा अध्यापन सुरु गर्ने तयारी छ ।

यस्तै, सुदूरपश्चिम विश्वविद्यालय ऐन, २०६७ को दफा ७ (२) का खण्ड (च), (छ), (झ), (ञ), (त) र (प) बमोजिमका सदस्यहरू, दफा १० (१) का खण्ड (घ), (ङ), (च), (छ) र (ज) बमोजिमका सदस्य र सदस्यसचिव, दफा १२ (२) का खण्ड (ख), (ग) र (घ) बमोजिमका सदस्यहरू, दफा २१ (२) का खण्ड (क) र (ग) बमोजिमको सेवा आयोगका अध्यक्ष र सदस्य, दफा २४ बमोजिम नियुक्त उपकुलपति, दफा २५ बमोजिम नियुक्त रजिस्ट्रार र दफा २६ बमोजिम नियुक्त डिन पनि पदमुक्त हुने छन् । सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति प्रा.डा. हेमराज पन्त छन् भने विनोद लेखक रजिस्ट्रार छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २१ गते सोमबार