पोषण सूचक पहिचान गर्न घरधुरी सर्वेक्षण



सल्यान ।

जिल्लाको कालिमाटी गाउँपालिकाले पोषणमैत्री स्थानीय शासन अभियानलाई तीव्रता दिएको छ । कुपोषण न्यूनीकरण र स्वस्थ समुदाय निर्माणलाई केन्द्रमा राख्दै अभियानलाई तीव्रता दिएको हो । कर्णाली प्रदेशमै पहिलो पटक कालिमाटी–५ लाई पोषणमैत्री घोषणा गरिएको छ ।

गाउँपालिकाले अब वडा नम्बर ४ लाई लक्षित गर्दै विस्तृत घरधुरी सर्वेक्षण सुरु गरेको हो । गाउँपालिकाका अनुसार सर्वेक्षणमार्फत वडाको वास्तविक पोषण अवस्था पहिचान गरी आवश्यक सुधारका कार्यक्रम अघि बढाइने छ । यसका लागि शिक्षक, बुद्धिजीवीसहित ३५ जना जनशक्ति परिचालन गरिएको छ ।

स्वास्थ्य शाखा प्रमुख गोरखबहादुर थापाका अनुसार सर्वेक्षणबाट बालबालिका र महिलाको पोषण अवस्था, हजारदिने आमाको हेरचाह, सुत्केरी सेवा, सरसफाइ र पोषणयुक्त आहारको पहुँचजस्ता सूचकको यथार्थ विवरण आउने छ । पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०८० अनुसार पोषणमैत्री वडा घोषणा गर्न ३५ वटा सूचक पूरा गर्नुपर्नेछ भने कम्तीमा ९० प्रतिशत उपलब्धि हासिल गर्नुपर्ने प्रावधान छ ।

यही लक्ष्यलाई ध्यानमा राख्दै वडा नम्बर ४ मा घरघरमा करेसाबारी निर्माण, विद्यालयमा पोषणमैत्री बगैँचा स्थापना र बालबालिकालाई पोषणयुक्त खाजाको व्यवस्था गर्ने कार्य तीव्र पारिएको छ । तर पोषणसँगै सामाजिक सूचकहरू पूरा गर्नु चुनौतीपूर्ण देखिएको छ । बालविवाह न्यूनीकरण र घरेलु हिंसा शून्य बनाउने लक्ष्यमा अझै सुधार आवश्यक रहेको स्थानीय बताउँछन् ।

खानेपानी र सरसफाइ सुधारका लागि हेल्बटास नेपालसँगको सहकार्यमा गाउँपालिकाले विभिन्न योजना सञ्चालन गरिरहेको जनाएको छ । यसले पोषणमैत्री वातावरण निर्माणमा टेवा पु¥याउने अपेक्षा गरिएको छ । गाउँपालिकाले नीति तथा कार्यक्रमअनुसार सबै वडालाई क्रमशः पोषणमैत्री घोषणा गर्ने दीर्घकालीन लक्ष्य लिएको छ । यसका लागि स्वास्थ्य, शिक्षा, कृषि र खानेपानी क्षेत्रबीच समन्वय गर्दै बहुक्षेत्रीय प्रयास अघि बढाइएको छ ।

गाउँपालिका अध्यक्ष दानबहादुर केसीले पोषणमैत्री अभियान पूर्वाधार विकासभन्दा पनि जनताको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने दीर्घकालीन पहल भएको बताए । उनका अनुसार विकासलाई सडक र भवनमा मात्र सीमित गरिएको छैन । अब स्वास्थ्य, शिक्षा र उत्पादनसँग जोडिएको जीवनस्तर सुधारमा ध्यान दिइएको उनले बताए ।

‘हाल सुरु गरिएको सर्वेक्षणले वडाको यथार्थ अवस्था उजागर गर्दै घोषणाका लागि बाँकी तयारी छिटो टुङ्ग्याउन सहयोग गर्ने अपेक्षा गरिएको छ,’ उनले भने, ‘यो अभियानले स्थानीयस्तरमा पोषणप्रति सचेतना बढाउने, कुपोषण घटाउने र स्वस्थ समाज निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने उद्देश्य राखिएको छ ।’

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख ११ गते शुक्रबार