सुर्खेत ।
जाजरकोटको नलगाड नगरपालिका–२ छेप्कामा भएको आगलागीमा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ । गत चैत २९ गते आइतबार बिहान ग्यास सिलिन्डर लिक भई स्थानीय ठालुप्रसाद जैसीको घरमा आगलागी हुँदा तीन जना घाइते भएका थिए ।
घाइते भएकामध्ये ठालुप्रसादकी ४२ वर्षीया श्रीमती माया जैशीको काठमाडौँस्थित कीर्तिपुर जलन अस्पतालमा उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोट सूचना अधिकारी एक्कबहादुर नेपालीले बताए । आगलागीमा परी घाइते भएका अन्य दुई जना रुपा जैशी र ठालुप्रसादका छोरा गणेश गौतमको काठमाडौँमै उपचार भइरहेको छ ।
घाइते उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी नेपालगन्ज पुर्याइएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँमा लगिएको थियो । रासस
प्रकाशित मिति : २०८३ वैशाख ८ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्