धनगढी ।
नयाँ वर्ष आरम्भसँगै सुदूरपश्चिम प्रदेशमा मनाइने ‘बिसु’ पर्व नजिकिएसँगै रौनक बढेको छ । यो पर्व मनाउने तयारीस्वरूप प्रत्येक घरपरिवारमा निसौसे, रोट, माणा, गतानी डुब्का लगायतका डोटेली खानाका मीठा परिकार पकाउन व्यस्तता बढेको छ ।
बिसु पर्व मनाउन विवाहिता छोरी, चेलीमा आ–आफ्नो माइतीघर जाने चटारो पनि देखिएको छ । यसैगरी नोकरीको सिलसिलामा भारतमा रहेका नेपालीहरु केही समयका लागि भए पनि यो पर्व मनाउन जन्मघर फर्किइरहेका छन् । छिमेकी राष्ट्र भारत गएकाहरू यतिबेला घर फर्कन थालेका छन् ।
बिसु पर्वका लागि घर आउनेहरूको भारतीय सीमा नाका र बसपार्क क्षेत्रमा दिनहुँ भिड लाग्ने गरेको छ । वर्षभरी भारतमा मजदुरी गरेर परिवारसँग नयाँ वर्ष मनाउन पाउँदा उनीहरूमा उत्साह देखिएको छ ।
रोजगारी, अध्ययनलगायत विभिन्न कामले घरबाहिर गएकाको समेत यतिबेला घर फर्कने क्रम बढेको छ । कैलालीको त्रिनगर नाका, कञ्चनपुरको गड्डाचौकी नाकामा दिनहुँ हजारौँको सङ्ख्यामा नेपाली घर फर्किरहेका छन् । गाउँघरमा समेत चहलपलह बढेको छ । गाउँघरमा लिपपोत गर्ने, मिठामसिना खानाका परिकार बनाउने गरिएको पाइन्छ ।









प्रतिक्रिया दिनुहोस्