दाङ– १ मा चार जनाबीच प्रतिस्पर्धा



शिवु खनाल । दाङ ।

शीर्षस्थ नेताहरू मैदानमा होमिएको दाङ क्षेत्र नं. १ मा यसपटक मतपरिणामबारे निकै चासो व्यक्त भइरहेको छ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं पूर्वसहरी विकासमन्त्री मेटमणी चौधरीसहितका नेता फागुन २१ को प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रतिस्पर्धामा छन् । यहाँ चौधरीसँग नेपाली काँग्रेसको तर्फबाट योगेन्द्र चौधरी, नेकपा एमालेको तर्फबाट रेवतीरमण शर्मा घिमिरे, स्वतन्त्रबाट कुलप्रसाद केसी, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का देवराज पाठकलगायत १४ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

२०७९ सालको प्रतिनिधिसभाको चुनावमा तत्कालीन नेकपा एसका तर्फबाट उम्मदेवार रहेका मेटमणी चौधरीले तत्कालीन माओवादीसँगको चुनावी गठबन्धनबाट जित निकालेका थिए । एमालेकी शान्ता चौधरीलाई ५ हजार ८४ मतान्तरले पराजित गर्दै मेटमणीले २६ हजार ५६३ मत पाएर जित निकालेका थिए । चौधरी मत बलियो रहेको दाङ क्षेत्र नं. १ मा चौधरी समुदायबाट नेपाली काँग्रेसका सहमहामन्त्री योगेन्द्र चौधरी उम्मेदवार छन् । थरुहट आन्दोलनको पृष्ठभूमिबाट भएकाले उनीसँग चौधरी समुदायको मत राम्रो छ । त्यसैले मेटमणीले पाउने जातीय मत यसपालि विभाजित हुने देखिन्छ ।

२०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्दा १३ हजार ७ सय ९८ मत प्राप्त गरेर पराजित भएका पाठक यो पटक पुनः रास्वपाबाट टिकट लिएर प्रतिस्पर्धामा छन् ।
नेपाली कम्युनिस्ट पार्टीका पूर्वनेता तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका छन् । पार्टीले मेटमणी चौधरीलाई टिकट दिएपछि पूर्वमाओवादी पक्ष असन्तुष्ट छ । पहाडिया र थारू समुदायको मिश्रित बसोबास रहेको दाङ क्षेत्र नं. १ मा यो पटक नेकपा, काँग्रेस, रास्वपा र एमालेबीच चारपक्षीय प्रतिस्पर्धा हुने अनुमान छ ।

रोचक भिडन्त

दुई स्वतन्त्रसहित १४ जना उम्मेदवार यस क्षेत्रमा चुनावी प्रतिस्पर्धाका लागि मैदानमा उत्रेका छन् । यस क्षेत्रमा नेपाली काँग्रेस, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), नेकपा एमाले र रास्वपा लगायतका दलका उम्मेदवारले दुई स्वतन्त्र उम्मेदवारसँग सामना गर्नु परेको छ । मुख्य ठूला दलका उम्मेदवारले स्वतन्त्र उम्मेदवारको सामना गर्नु परेपछि त्यसको फाइदा उठाउँदै नेकपा (एमाले)का उम्मेदवार आफ्नो पक्षमा जित निकाल्न लागिपरेका छन् । ‘हामी जित निकाल्ने रणनीतिसहित चुनावी अभियानमा होमिएका छौँ,’ नेकपा एमालेबाट उम्मेदवार बनेका रेवतीरमण शर्मा घिमिरेले भने, ‘हाम्रो पक्षमा जित निकाल्न लागिपरेका छौँ ।’

यता स्वतन्त्र रूपमा उम्मेदवार बनेका कुलप्रसाद केसीले पार्टीभित्र विधि र पद्धतिलाई स्थापित गर्न नसकेका कारण स्वतन्त्र उम्मेदवारी दिएको बताए । मेटमणी चौधरीलाई उम्मेदवार बनाएपछि केसीले विद्रोह गरेका हुन् । स्वतन्त्र उम्मेदवार केसीको पक्षमा देउखुरी क्षेत्रका क्रियाशील नेताहरू खुलेर लागेका देखिन्छन् । यता नेपाली काँग्रेसका उम्मेदवार योगेन्द्र चौधरीले पनि निर्वाचन परिणाम आफ्नो पक्षमा ल्याउन घरदैलो र मतदाता भेटघाटमा व्यस्त बनेका छन् । रास्वपाबाट उम्मेदवार बनेका देवराज पाठकले आफ्नो पक्षमा मतपरिणाम आउने दाबी गर्छन् । उनी पनि चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

यस्तै मंगोल नेशनल अर्गनाइजेसनबाट खुमबहादुर गाहा मगर, राष्ट्रिय जनमोर्चाबाट गणेश आचार्य, नेशनल रिपब्लिकबाट मिनबहादुर ठेडी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय विसी, नेपाल कम्युष्टि पार्टीबाट प्रकाश शाही, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, आम जनता पार्टीबाट सिताराम यादव, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी र स्वतन्त्रबाट मालिकराम यादव चुनावी मैदानमा होमिएका छन् ।

दाङमा चार लाख ३१ हजार मतदाता कायम

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दाङमा चार लाख ३१ हजार छ सय ८६ बढी मतदाता कायम भएका छन् । जसमा दुई लाख १३ हजार तीन सय ८० पुरुष, दुई लाख १८ हजार तीन सय तीनजना महिला र तीनजना अन्य मतदाता रहेको लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुवँरले जानकारी दिए ।

यसअघि जिल्लामा चार लाख १४ हजार नौ सय ५६ मतदाता रहेका थिए । निर्वाचनका लागि १६ हजार सात सय ७० जना नयाँ मतदाता थप भएका हुन् । निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गर्नका लागि जिल्लामा एक सय ५९ वटा मतदानस्थल र चार सय ८२ वटा मतदान केन्द्र कायम गरिएको कुवँरले जानकारी दिए ।

यसअघि जिल्लामा एक सय ७६ वटा मतदानस्थल र चार सय ६५ वटा मतदान केन्द्र रहेका थिए । जिल्लामा आगामी निर्वाचनका लागि छवटा मतदानस्थल थप भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । दाङमा तीनवटा निर्वाचन क्षेत्र रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १ गते शुक्रबार