जाजरकोट ।
जिल्लाको बारेकोट गाउँपालिका–५ खम्बुडाँडावासी विगत चार महिनायता अन्धकारमा बस्न बाध्य भएका छन् । गाउँमा रहेको सौर्य मिनिग्रिड चार महिनादेखि मर्मत नहुँदा स्थानीयवासीलाई समस्या भएको हो । चट्याङ परेर सौर्य मिनिग्रिडमा क्षति पुगेपछि विद्युत् सेवा चार महिनादेखि अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताए ।
उनका अनुसार मर्मतका लागि आवश्यक प्रक्रिया पूरा गर्न समय लागेको हो । मिनिग्रिड हस्तान्तरणपछि मर्मतको जिम्मेवारी कसको हुने भन्ने विषयमा स्पष्टता नहुँदा ढिलाइ भएको अध्यक्ष गिरीको भनाइ छ । यता जिल्ला प्रशासन कार्यालय जाजरकोटमार्फत मन्त्रालयमा समेत मर्मतका लागि पत्राचार गरिसकिएको उनले जानकारी दिए । तर लामो समयसम्म विद्युत् सेवा अवरुद्ध रहँदा स्थानीयवासी आक्रोशित बनेका छन् ।
स्थानीयवासीका अनुसार वैकल्पिक ऊर्जा परियोजनामा देखिएको लापरबाहीका कारण समस्या जटिल बन्दै गएको छ । सरोकारवाला निकायले चाँडो ध्यान नदिए आन्दोलनमा उत्रन बाध्य हुने स्थानीयले चेतावनीसमेत दिएका छन् । करिब चार महिनादेखि मिनिग्रिड सञ्चालन हुन नसक्दा यहाँका करिब पाँच सय घरधुरी प्रभावित भएका हुन् । विद्युत् अभावका कारण नागरिकलाई दैनिक सेवा प्रवाह तथा जीवनयापनमा कठिनाइ भएको छ ।
विद्यार्थीलाई पठनपाठन र विभिन्न सेवा प्रवाहमा समेत प्रभाव परेको स्थानीयको गुनासो छ । विद्युत् अवरुद्ध हुँदा मोबाइल चार्ज गरेर आफन्तहरूसँग सम्पर्क गर्नसमेत नपाइएको एक स्थानीयले बताए । दुई सय किलोवाट क्षमताको उक्त सौर्य मिनिग्रिड २०७९ जेठ २५ गतेबाट सञ्चालनमा आएको थियो ।
वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको सहयोगमा करिब १० करोड नौ लाखको लागतमा निर्माण गरिएको यो मिनिग्रिडबाट उत्पादित विद्युत् नेपाल टेलिकमको टावर सञ्चालनका लागिसमेत प्रयोग हुँदै आएको थियो ।









प्रतिक्रिया दिनुहोस्