स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण गर्न बजेट अख्तियारी प्रदान



सुर्खेत ।

कर्णाली प्रदेश सरकारले स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण गर्न बजेट अख्तियारी दिएको छ । प्रादेशिक अस्पताल नभएका संघीय निर्वाचन क्षेत्रमा रहेका एक–एक स्वास्थ्य संस्थाको सेवा सुदृढीकरण कार्यक्रम कार्यान्वयन प्रक्रिया अघि बढाइएको हो । यसका लागि सम्बन्धित स्थानीय तहमा बजेट अख्तियारी प्रदान गर्ने कर्णाली सरकारले निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले सुर्खेतको सालकोट अस्पतालको लागि पञ्चपुरी नगरपालिकालाई एक करोड, दुल्लु अस्पतालको लागि दुल्लु नगरपालिकालाई एक करोड र कालिका खेतु प्राथमिक स्वास्थ्य चौकीका लागि हिमा गाउँपालिकालाई एक करोड बजेटको व्यवस्था गर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले इलाका प्रहरी कार्यालय राकम कर्णाली दैलेखको अधुरो भवन निर्माणको लागि साठी लाख सम्बन्धित इलाका प्रहरी कार्यालयमा अख्तियारी प्रदान गर्न नेपाल सरकार, गृह मन्त्रालय र अर्थ मन्त्रालयको स्वीकृति माग गर्ने निर्णय गरेको छ ।

प्रादेशिक तथा स्थानीय सडक सुधार आयोजना, प्रादेशिक आयोजना व्यवस्थापन इकाई सुर्खेत र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाई, सुर्खेतको अस्थायी दरबन्दी संरचना स्वीकृत गर्ने निर्णय पनि बैठकले गरेको छ ।

२६ वटा स्वास्थ्य संस्था र विद्यालय निर्माण हुँदै

कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले जाजरकोटका २६ वटा विद्यालयर स्वास्थ्य संस्था निर्माण गर्ने निर्णय गरेको छ । पालिकाको सिफारिसमा २६ वटा भौतिक संरचना प्रदेश सरकारले बनाउन लागेको हो । २०८० कात्तिक १७ गते रामीडाँडा केन्द्र विन्दु बनाएर गएको भूकम्पबाट क्षति भएका भौतिक संरचना निर्माण गर्न लागिएको हो ।

यसका लागि १२ करोड ७० लाख रकम दिने निर्णय भएको पूर्वाधार विकास महाशाखाका सिनियर डिभिजनल ईन्जिनियर प्रेमबहादुर ओलीले जानकारी दिए । चालू आर्थिक वर्षभित्र निर्माण गर्ने उद्देश्यका साथ २१ वटा विद्यालय र पाँच वटा स्वास्थ्य भवन निर्माण गर्नका लागि बजेट पठाएको उनले बताए । एनका अनुसार सात पालिकामा भूकम्पबाट भत्किएका विद्यालय र स्वास्थ्य संस्था निर्माण गर्न निर्णय गरेको थियो । बारेकोट गाउँपालिकामा चारवटा विद्यालय निर्माण हुने भएका छन् ।

बारेकोट–१ स्थित हिमालय देवी विद्यालयमा ५२ लाख र वडा नम्वर ३ को जनप्रिय आधारभूत विद्यालय स्याला मुलसामलाई ६५ लाख विनियोजन गरिएको छ । वडा नम्बर ४ को हिमालय आधारभूत विद्यालय गोठगाउँलाई ५१ लाख र वडा नम्बर ८ को विश्व आधारभूत विद्यालय सेपुखोलालाई ४५ लाख रकम उपलब्ध गराउने निर्णय भएको छ । त्यस्तै नलगाड नगरपालिकाका तीनवटा विद्यालय निर्माण हुने भएका छन् । नलगाड–१ को जन आदर्श प्राथमिक विद्यालय ज्ञानेचौरलाई ५० लाख, वडा नम्बर ९ को जनस्वास्थ्य प्राथमिक विद्यालय बासकोटलाई ५२ लाख र वडा नम्बर ४ को भानुभक्त माध्यमिक विद्यालय लहँलाई ३० लाख रकम दिने निर्णय भएको हो ।

भेरी नगरपालिकामा दुईवटा विद्यालय निर्माण गर्न छनोट गरिएको छ । वडा नम्बर २ को शंकर भवन माध्यमिक विद्यालय बाहुनथानालाई ४८ लाख र वडा नम्बर १ को शिव माध्यमिक विद्यालय कालेगाउँलाई ४२ लाख रकम रूपैयाँमा भवन निर्माण गरिने छ । यस्तै छेडागाड नगरपालिकामा तीनवटा विद्यालय निर्माण गर्न निर्णय भएको छ । छेडागाड १ को पिपल चौतारी आधारभूत विद्यालयमा ५० लाख, वडा नम्बर ८ को पशुपती आधारभूत विद्यालय रौतनगाउँमा ५० लाख र वडा नम्बर ३ को सरस्वती आधारभूत विद्यालय चुवादेवलीमा ५० लाख रकम दिने निर्णय भएको छ ।

कुशे गाउँपालिकामा दुईवटा विद्यालय निर्माण हुने भएका छन् । जनविकास प्राथमिक विद्यालय कुशे ६ घरङ्गलाई ५० लाख र वडा नम्वर ४ को धारापानी आधारभूत विद्यालयलाई ५० लाख रकममा विद्यालय बनाउने निर्णय भएको हो । शिवालय गाउँपालिका ७ चन्द्रज्योति आधारभूत विद्यालय लयलकाडा ४३ लाख र वडा नम्बर २ को इन्द्रज्योति आधारभूत विद्यालय लयकाडाको भवन निर्माण गर्न ५० लाख रकम विनियोजन भएको छ ।

त्यस्तै जुनिचाँदे गाउँपालिकामा पाँचवटा विद्यालय निर्माण हुने भएका छन् । जुनिचाँदे ६ को मालटाकुरा प्राथमिक विद्यालय वडासेनामा ५७ लाख, वडा नम्बर २ को महादेव प्राथमिक विद्यालय ५० लाख, वडा नम्वर ४ को जनशक्ति प्राथमिक विद्यालय निर्माण गर्न ५५ लाख, वडा नम्बर ११ को महेन्द्र माध्यमिक विद्यालयमा ५५ लाख र वडा नम्बर ३ को नेपाल राष्ट्रिय आधारभूत विद्यालय निर्माण गर्न ५५ लाख रकम विनियोजन गरिएको छ ।

यता स्वास्थ्यतर्फ बारेकोट गाउँपालिकामा दुईवटा निर्माण हुने भएका छन् । बारेकोट ४ को सामुदायिक स्वास्थ्य इकाई मैनालाई ५२ लाख र वडा नम्बर २ को स्वास्थ्य शाखा बारेकोटलाई ३० लाख रकम विनियोजन गरिएको छ । भेरी नगरपालिका १३ कुदुमा रहेको स्वास्थ्य चौकीका लागि ४३ लाख, छेडागाड नगरपालिका वडा नम्बर २ को पोखरा बर्थिङ सेन्टर भवन निर्माण गर्न ४५ लाख र कुशे गाउँपालिका ३ को आधारभूत स्वास्थ्य चौकी निर्माण गर्न ५० लाख रकम विनियोजन भएको छ ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार