कोहलपुर (बाँके) ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १४ मा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा लायन्स क्लब अफ कोहलपुर सयपत्रीका सदस्य विष्णु बस्याल र पार्वती कोइरालाले आफ्नो जन्मदिनको अवसरमा विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका छन् । मंगलबार एक औपचारिक कार्यक्रमकाबीच सदस्यद्वय बस्याल र कोइरालाले विद्यालयका २०७ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेका हुन् ।
न्यानो कपडा वितरण कार्यक्रम लायन्स क्लब अफ कोहलपुर सयपत्रीका अध्यक्ष अन्जना पाण्डे र लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ‘एन’ डिस्ट्रिक गर्भनर ज्ञानेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सदस्य कोइरालाले जन्मदिनलाई तडकभडकभन्दा सामाजिक कार्य गरेर मनाऔँ भन्ने उद्देश्यले विद्यार्थीहरूलाई सहयोग गरेको बताइन् ।
उनका अनुसार दुवैजनाले जन्मदिनको अवसरमा विद्यार्थीहरूलाई सहयोग गरौँ भन्ने पवित्र उद्देश्यले न्यानो कपडा वितरण गरिएको हो । ‘पछिल्लो समय जन्मदिनलाई तडकभडक रूपमा मनाउने प्रवृत्ति छ । जन्मदिनको नाममा फजुल खर्च गर्नु राम्रो होइन । विशेष दिनमा केही राहत होस् भनेर वितरण गरेका हौँ,’ कोइरालाले भनिन् ।
लायन्स क्लब अफ इन्टरनेशनल ३२५ ‘एन’ डिस्ट्रिक गर्भनर ज्ञानेन्द्र श्रेष्ठले लायन्स एक परोपकारी संस्था भएको बताए । उनले लायन्सले विश्वभर झैँ नेपालमा समेत सामाजिक कार्य गर्दै आएको बताए । सामाजिक कार्य अन्तगर्त नै लायन्स क्लब अफ कोहलपुर सयपत्रीका सदस्यहरूले जन्मदिनको अवसरमा पुण्य कार्य गरेको उनले बताए । सम्पूर्ण लायन्स सदस्यहरूले पवित्र उद्देश्यका साथ यसरी नै सहयोग गर्दै समाज सेवामा योगदान दिँदै आएको श्रेष्ठको भनाइ थियो ।
लायन्स क्लब अफ कोहलपुर सयपत्रीका अध्यक्ष पाण्डेले आफूहरूले लामो समयदेखि सामाजिक कार्य गर्दै आएको बताइन् । उनका अनुसार कोहलपुरको विकट स्कुलका रूपमा रहेको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।कार्यक्रममा लायन्स क्लब अफ कोहलपुर सयपत्रीका सदस्यहरू, विद्यार्थीका अभिभावक, शिक्षक र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्