परिस्थितिले नझुकेकी ‘नरमा’को संघर्ष



रामप्रकाश विक । जुम्ला ।

जुम्ला सदरमुकाम खलङ्गाको बिहानीपखको चिसो । वटुक भैरवनाथ मन्दिरको टहरामा झुण्डिएको पर्दा चिसो सिरेटोसँगै हल्लिन्छ । त्यही पर्दाभित्र सुरु हुन्छ, एउटी साहसी आमाको दैनिकी । हातमा पुराना जुत्ता, आँखामा सपना र मनमा दिवंगत श्रीमान्को याद बोकेर नरमा सार्की हरेक दिन बिहानै सुभाष सु–सेन्टरको सटर खोल्छिन् ।

यो केवल जुत्ता पसल मात्र होइन, नरमाको लागि एउटा जिउँदो इतिहास पनि हो । चार वर्ष पाँच महिनाअघि कोरोनाको कहरले नरमाका श्रीमान्को निधन भयो । त्यसपछि नरमाको दैनिकीसँगै संघर्षको संसार बदलिदियो । श्रीमान् नन्दे सार्कीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अन्तिम सास फेरेपछि नरमामाथि पाँच जनाको परिवार पाल्ने ठूलो जिम्मेवारी आइलाग्यो ।

‘श्रीमान् बितेको दिनदेखि मेरो जीवन दुई भागमा बाँडियो । तर म कमजोर भएँ भने उहाँले सिकाउनुभएको सीप र सपना पनि मर्छ’ उनले भनिन्, ‘त्यसैको डरले मलाई उभिने शक्ति दिएको छ । यो २५ वर्षको अटुट यात्रा हो । २०५९ सालदेखि श्रीमान्सँगै सुरु गरेको यो व्यवसाय आज २५ वर्ष पुगेको छ ।’

श्रीमान् साथमा नभए पनि नरमाले यो पेशालाई जीवित राखेकी छन् । पसलमा लेडिज र जेन्स दुवै खालका गुणस्तरीय छालाका जुत्ताहरू उपलब्ध छन् । जेन्स जुत्ता दुई हजारदेखि तीन हजार पाँच सय रूपैयाँसम्म र लेडिज त्ता एक हजार आठ सयदेखि दुई हजार आठ सय रूपैयाँसम्म पर्छ । फागुनदेखि मंसिरसम्म व्यापार राम्रो चल्छ । पुस र माघमा भने बिक्री ठप्पजस्तै हुन्छ ।

यति हुँदाहुँदै पनि उनले हार मानेकी छैनन् । सिजनमा मासिक ६० हजारदेखि एक लाख रूपैयाँसम्म आम्दानी हुने गरेको उनी बताउँछिन् ।
‘पसल भाडा सात हजार २६० रूपैयाँ र बस्ने कोठाको भाडा पाँच हजार रूपैयाँ, खाना र अन्य खर्च कटाएर सिजनको बेला मासिक करिब ८० हजार रूपैयाँ बचत हुन्छ’ उनले थपिन्, ‘वार्षिक नौ लाख जति कमाइहुन्छ । यो रकमभन्दा ठूलो कुरा आत्मसम्मान हो । सिपको पुस्तान्तरण र छोराछोरीको सपना पुरा गर्न जुत्ता बनाउने काम छोड्दैन ।’

नरमालाई काममा उनका देवर पूर्ण सार्कीले पनि साथ दिइरहेका छन् । नरमाले उनलाई उचित पारिश्रमिक दिएर रोजगारी समेत दिएकी छन् । यो व्यवसायलाई उनी नाफा मात्र नभएर आफ्नो परम्परा जोगाउने माध्यम मान्छिन् । दैलेखबाट जुम्लालाई कर्मभूमि बनाएकी नरमाका चार सन्तान छन् । जसमा दुई छोरी, दुई छोरा रहेका छन् । अहिले स्नातक तहमा पढ्दै लोकसेवाको तयारी गरिरहेका छन् । छोराछोरीको पढाइ रोकिन नदिन नरमाले आफ्नो मेहनत जारी राखेकी छन् ।

उनले भनिन्, ‘साँझ परेपछि पसलमा ताला लगाउँदा श्रीमान् कतै नजिकै हुनुहुन्छ कि भन्ने अझँै महसुस हुन्छ । हरेक जुत्ताका टाँकाहरूमा श्रीमानको स्पर्श महसुस गर्छ ।’ खलङ्गा बजारमा रहेको नरमाको यो सानो पसलले एउटै सन्देश दिइरहेको छ । जो परिस्थितिले मानिसलाई लडाउँन सक्छ, तर बलियो इच्छाशक्ति छ भने कसैले हराउन सक्दैन भन्ने । नरमा सार्कीको यो संघर्ष धेरैका लागि प्रेरणाको स्रोत बनेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १३ गते आइतबार