कृष्ण परियार । अर्घाखाँची ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सडकमै सवारीका चालक र सहचालकलाई प्रशिक्षण दिन थालेको छ । ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख सरोज केसी आफँै सडकमा खटिएर ट्राफिक नियमहरूको बारेमा सवारीका चालक र सहचालकलाई प्रशिक्षण दिन थालेका हुन् ।
ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले सोमबार गोरूसिंगे सन्धिखर्क सडक खण्ड अन्तर्गत सुपादेउराली लाहुरे बजारमा क्षमताभन्दा बढी लोड बोक्ने टिप्परलाई कारबाही गरेको थियो । कारबाहीका साथै सवारीका चालक र सहचालकलाई सवारी दुर्घटना न्यूनीकरणका लागि प्रशिक्षण समेत दिइएको ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख केसीले जानकारी दिए ।
उनले ओभरलोड बोक्ने ट्रिपरका ढुङ्गा फाल्दै कुनै पनि सवारी साधनले क्षमताभन्दा बढी सामान ढुवानी गर्दा सडक संरचनामा असर पुग्ने, सवारी साधन अनियन्त्रित भई दुर्घटना हुन सक्ने भएकाले क्षमता भन्दा बढी सामान ढुवानी नगर्न आग्रह गरेका छन् । क्षमताभन्दा बण्ी बोक्ने चालक र सहचालकलाई अब कडा कारबाही गरिने ट्राफिक प्रमुख केसीले बताए । १५ वटा टिप्परले क्षमताभन्दा बढी ढुङ्गा बोकेको पाएपछि क्षमताभन्दा बढी ढुङ्गा सोही स्थानमा नै झारिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले गत आर्थिक वर्ष २०८१–०८२ मापसेमा ४६ जनालाई कारबाही गरेको थियो । सो अवधिमा २३ हजार रूपैयाँ राजस्वसमेत संकलन भएको बताइएको छ । चालू आर्थिक वर्षको मंसिर महिनासम्म ९७ जनालाई मापसेमा कारबाही गरिएको र ५१ हजार रूपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख केसीले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्