पञ्चपुरीमा करारका कर्मचारी हटाएपछि १२ स्वास्थ्य संस्था बन्द



सुर्खेत ।

पञ्चपुरी नगरपालिकाले करारका कर्मचारी हटाएपछि स्वास्थ्य सेवा केन्द्र बन्द भएका छन् । करार स्वास्थ्यकर्मीकै भरमा सञ्चालित १२ वटा स्वास्थ्य संस्था बन्द भएका हुन् । स्वास्थ्य सेवा पु¥याउन खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि सेवाग्राही मारमा परेका छन् ।
पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाले साउन १ गतेदेखि करार सेवाका कर्मचारी हटाएको हो ।

नगरपालिकामा सञ्चालित ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले जनाएको छ । नगरपालिकाले चालू आर्थिक वर्षमा १२८ जना करारका कर्मचारी हटाएको छ । जसमा ७४ जना शिक्षक, ४१ जना स्वास्थ्यतर्फका कर्मचारी र १३ जना नगरपालिकामा कार्यरत कर्मचारी हटाइएको पञ्चपुरी नगरपालिकाले जनाएको छ ।

गाउँ–गाउँमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले खोलिएका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपछि नागरिकले निकै सास्ती खेप्नुपरेको छ । १२ वटा आधारभूत स्वास्थ्य संस्था बन्द भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गंगादेब पुरीले जानकारी दिए । उनका अनुसार ६ वटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र ६ वटा सामुदायिक स्वास्थ्य सेवा इकाई बन्द भएका हुन् ।

नगरपालिकाको वडा नं. १ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र हासेगाउँ, वडा नं. ३ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र तोक्मा, वडा नं. ४ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र बराइँचे, वडा नं. ६ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र चत्तुरे र वडा नं. ८ मा रहेको आधारभूत स्वास्थ्य केन्द्र दुलालथाई बन्द भएका छन् ।

यस्तै वडा नं. १० मा रहेको आधारभूत स्वास्थ्य केन्द्र नार्सी, वडा नं. ६ मा रहेको सामुदायिक स्वास्थ्य इकाई लाटीकाँडा, वडा नं. ८ मा रहेको सामुदायिक स्वास्थ्य इकाई दहसान्ने, वडा नं. ७ मा रहेको सामुदायिक स्वास्थ्य इकाई सिम्ताचौर तथा पैसरा, वडा नं. ९ मा रहेको सामुदायिक स्वास्थ्य इकाई राग र वडा नं. १० मा रहेको सामुदायिक स्वास्थ्य इकाई बच्छी बन्द भएका हुन् ।

घर आगनका स्वास्थ्य संस्था बन्द हुँदा तीन घण्टा दुरीमा रहेको साल्कोट अस्पतालमा धाउनुपरेको वडा नं. १ का धर्मजीत थापाले जानकारी दिए । घरआँगनमै पाउने सेवा लिन अहिले घण्टौको दुरीमा रहेका साल्कोट अस्पतालमा आउने गरेको उनले बताए । गाउँघरका आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्द भएपनि वडा नं. १, २ र ३ का अधिकांश बिरामी सामान्य उपचार गर्न वडा नं. २ मा रहेको आधारभूत अस्पताल साल्कोट आउने गरेका छन् । सामान्य सिटामोल लिनसमेत तीनदेखि चार घण्टाको दुरीमा धाउनुपर्ने बाध्यता स्थानीयमा छ ।

आन्तरिक आम्दानी न्यून हुँदा पालिकाहरूले आफ्नै श्रोतबाट कर्मचारी राख्न सकेका छैनन् । त्यसैमा कर्णाली प्रदेश सरकारले जारी गरेको स्थानीय सेवा ऐन अनुरूप करारका कर्मचारी हटाइएको पञ्चपुरी नगरप्रमुख लालविर भण्डारीले बताए । ‘नगरपालिकाको आन्तरिक आन्दानी न्यून हुँदा करारका कर्मचारी हटाउनुपर्ने बाध्यता बन्यो’ उनले भने, ‘त्यसैबेला कर्णाली सरकारले जारी गरेको स्थानीय सेवा ऐनले स्थानीय सरकारले नियुक्ती गरेका कर्मचारीको सेवा सुविधा सम्बन्धित पालिकाले दिने भनेपछि हटाउनुपर्ने अवस्था आयो ।’

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ४ गते शुक्रबार