सुर्खेत ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङप्रति आक्रोश पोखेका छन् । शनिबार वीरेन्द्रनगरमा आयोजित कर्णाली प्रदेशस्तरीय एकता सन्देशसभालाई सम्बोधन गर्दै प्रचण्डले घिसिङप्रति आक्रोश पोखेका हुन् । उनले कुलमानलाई ‘बैगुनी’को संज्ञा दिएका छन् । आफ्नो प्रधानमन्त्रीत्वकालमा भएका कामहरूको चर्चा गर्दै प्रचण्डले लोडसेडिङ अन्त्यको जस कुलमानले मात्र लिन खोजेको र आफूलाई नियुक्त गर्ने नेतृत्वलाई बिर्सेको बताए ।
‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा हामीले लोडसेडिङबाट आक्रान्त भएको नेपाललाई लोडसेडिङमुक्त नेपाल बनाउने ऐतिहासिक कार्य पूरा गरेकै हो । यसलाई नराम्रो त कसैले भन्न सक्दैन,’ उनले भने, ‘अहिले कुलमान घिसिङले कुन विष खाए ? जुन थालमा खायो त्यसैमा प्वाल पार्न खोजेका छन्, तिनले त्यसो नगरुन्, बुद्धि फिरोस् भन्न चाहन्छु ।’ प्रचण्डले कुलमानलाई प्राधिकरणमा आफूले नै ल्याएको दाबी गरे । दुई पटक प्रधानमन्त्रीको हैसियतले आफूले कुलमानलाई टिपेर ल्याएको उनको तर्क छ ।
‘सबैले यो मान्छे राम्रो छ भनेर गरेको कुरा र उसले पहिला–पहिला प्रचण्डले हो मलाई बनाएको भनेको कुरा बिर्सेर अहिले लाज मर्नु गरेको छ । म योभन्दा बढी भन्दिनँ बिचरा ।’ कुलमानले आफ्नो क्षमताले मात्र लोडसेडिङ हटाएको भन्ने अभिव्यक्ति दिएकोप्रति संकेत गर्दै प्रचण्डले कुलमानको बुद्धि फिर्नुपर्ने तर्क गरे । यसरी बैगुनी भएर कुलमानले पार नपाउने उनको भनाइ छ । आफ्नो पहिलो प्रधानमन्त्रीत्वकालमा मध्यपहाडी लोकमार्ग, उत्तरदक्षिण कोरिडोर, विभिन्न विश्वविद्यालयको स्थापना र गरिब किसानहरूको ऋण मिनाहा गर्ने जस्ता महत्त्वपूर्ण निर्णयहरू गरेको प्रचण्डले स्मरण गराए ।
नेकपा सहसंयोजक माधवकुमार नेपालले कम्युनिस्ट नेतृत्वको सरकारले गरेका कामहरूको बचाउ गरे । आफू र पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री हुँदा धेरै राम्रा कामहरू भएको उनको दाबी छ । ‘प्रचण्डजी र म प्रधानमन्त्री भएका बेला राम्रा काम पनि गरेका छौँ, तर केही गरेनन् भनेर भ्रम फैलाइयो,’ उनले भने, ‘मध्यपहाडी लोकमार्ग, कर्णाली राजमार्ग, जनता आवास कार्यक्रम र युवालाई रोजगारी दिने जस्ता महत्त्वपूर्ण कामहरू कम्युनिस्ट सरकारकै पालामा भएको हुन् ।’
जनअपेक्षा अनुसार जति काम हुनुपर्ने थियो, त्यो नभएको हुनसक्ने उनले स्वीकार गरे । अबको पार्टी इमानदारहरूको पार्टी हुने उनको भनाइ छ । भ्रष्टाचार र स्वार्थी प्रवृत्तिको अन्त्य नगरी देशलाई समृद्ध बनाउन नसकिने उनको तर्क छ । ‘जनअपेक्षाअनुसार जति काम गर्न सक्नुपथ्र्यो त्यो नभएका होलान्, तर केही नभएको होइन । हामीले शिर निहुराउनुपर्ने अवस्था छैन,’ उनले थपे, ‘अब भ्रष्टाचार र स्वार्थी प्रवृत्तिलाई अन्त्य गरी साझा भावना अगाडि बढाउन सकिएन भने देशलाई अगाडि बढाउन सकिँदैन । त्यसैले विगतका कमजोरी स्वीकार गर्दै इमानदार तरिकाले काम गर्ने सोचेर पार्टी एकता गरेका हौँ ।’
‘समाजवाद ल्याउन नसके जेलमा कोचिदिनुहोला’
नेकपा नेता वामदेव गौतमले मुलुकमा समाजवाद निर्माण गर्न नसके आफूहरूलाई जेल हाल्न जनतालाई आग्रह गरेका छन् । शनिबार सुर्खेतमा आयोजित नेकपाको एकता सन्देश सभालाई सम्बोधन गर्दै गौतमले यस्तो बताएका हुन् । भाषणका क्रममा निकै आक्रामक देखिएका गौतमले अब नेताहरूलाई भाग्ने छुट नभएको बताए । ‘यदी हामीले समाजवाद निर्माण गर्न सकेनौँ भने तपाईँहरुले हामीलाई जेलमा लगेर कोचिदिनुहोला, हामीलाई अब भाग्ने छुट छैन,’ उनले भने, ‘विगतमा भएका कमीजोरीहरूलाई सुधार्दै जानेछौँ । तर जनतालाई भ्रममा नपार्न नेतृत्वकर्तालाई मेरो चेतावनी छ ।’
जनतालाई ढाँट्नका लागि मात्र ‘समाजवाद, समाजवाद’ नभनिएको उनको तर्क छ । अब ढिला नगरी समाजवाद निर्माणतर्फ लागेर मुलुकलाई समृद्ध बनाउनुपर्ने उनले बताए । सम्बोधनका क्रममा नेता गौतमले पछिल्लो समय चर्चामा रहेको युवाहरूको ‘जेनजी’ आन्दोलन एमाले अध्यक्ष केपी ओलीकै कारण भएको दावी गरे । नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले संविधानको मर्मअनुसार अघि बढ्न सुझाव दिए । नेपाली कम्युनिस्ट आन्दोलन देशको सबैभन्दा ठूलो शक्तिका रूपमा स्थापित भएको उल्लेख गर्दै उनले अबको बाटो समृद्ध समाजवादको विकास हुनुपर्नेमा जोड दिए ।
समाजवाद स्थापनामा जोड
एकता सन्देशसभामा बोल्ने नेकपाका नेताहरुले समाजवाद स्थापनामा जोड दिइएको बताएका छन् । नेकपा नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा नेपाली विशेषताको समाजवाद ल्याउनुपर्ने बताए । देशलाई समाजवादतर्फ लैजानु नै अबको मुख्य विकल्प रहेको उनको भनाइ छ । ‘मुलुकमा विदेशीहरूको हस्तक्षेप बढेको छ । राष्ट्रिय स्वाधिनतामाथि प्रश्न उठेको छ,’ उनले भने, ‘अब पुँजीवादको अन्त्य र भ्रष्टाचारको अन्त्य गर्न सबै कम्युनिस्टहरू मिलेर समाजवाद स्थापना गर्नुको विकल्प छैन ।’
शिक्षा र स्वास्थ्य क्षेत्रमा अपेक्षित रूपान्तरण गर्न नसकिएको स्वीकार गर्दै खनालले सबै जनताले गाँस, बास र कपाससहित शिक्षाको सहज पहुँच पाउने नेपाल निर्माण गर्न समाजवाद अपरिहार्य रहेको जिकिर गरे । नेकपा एमालेलाई पनि एकता र समाजवादको बाटोमा आउन उनको आग्रह छ । नेता नारायणकाजी श्रेष्ठले नेकपालाई घुस नखानेहरूको पार्टी बनाउने बताएका छन् । नेकपालाई घुस नखानेहरूको पार्टी भनेर चिनाउनुपर्ने भएकाले त्यहीअनुसार काम गरिने उनको भनाइ छ । भ्रष्टाचार नगर्नेहरूको पार्टी बनाएर सबैलाई एकताबद्ध गराउनुपर्ने भन्दै मजदुर, जनजाति, दलितलाई समेत एकताबद्ध गरेर काम गरिने उनले बताए ।
‘माओवादी सरकारमा हुँदा सुशासनलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको थियो । तर काँग्रेस र एमालेलाई त्यो रुचेन,’ उनले भने, ‘काँग्रेस र एमालेलाई सुशासन रुच्दैन, त्यसैले नेपालमा जेनजी आन्दोलन सुरु भएको हो ।’ नेकपा नेता डा.भीम रावलले पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीको कडा आलोचना गरे । ओलीले नयाँ पुस्ता (जेनजी)को आवाज सुन्नुको साटो दमनमा उत्रिएको र आन्दोलन चर्किएपछि भागेको उनको आरोप छ । सिंहदरबारमा आगलागी भएको सन्दर्भ कोट्याउँदै रावलले भने, ‘सिंहदरबारमा आगो लाग्दा प्रधानमन्त्री को थियो ? देश संकटमा पर्दा वा आगो लागेका बेला भाग्ने प्रवृत्ति नेतामा हुनुहुँदैन ।’
ओलीप्रति आक्रामक रूपमा प्रस्तुत भएका रावलले ओलीलाई देशको नेता हुँ भन्नु लाज लाग्नुपर्ने तर्क गरे । उनले थपे, ‘देशमा आगो लागेका बेला भाग्ने ? जेनजीका माग सुन्नुपर्नेमा उल्टै दमन गर्ने अनि आन्दोलन भएपछि भाग्ने ? हाम्रा कलिला युवाहरूको आवाजले केपीजी भाग्नुभयो, यो लज्जास्पद र शर्मनाक भयो । अझ अहिले पनि म शक्तिशाली हुँ भन्न सुहाउँदैन ।’
नेता रावलले आफ्नो सम्बोधनका क्रममा कर्णाली प्रदेशका जल्दाबल्दा समस्याहरू पनि उठाए । उनले कर्णाली राजमार्गको दयनीय अवस्था सुधार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरे । कर्णालीको स्याउ, यार्सागुम्बा र जडीबुटीको सही सदुपयोग र बजारीकरण हुन नसकेको उनको भनाइ थियो । विशेष गरी अपर कर्णाली जलविद्युत् आयोजनाको सन्दर्भमा बोल्दै उनले भारतीय कम्पनी जीएमआरको आलोचना गरे । अपर कर्णालीलाई जीएमआरको जिम्मा लगाइएपनि अहिलेसम्म काम नभएको भन्दै यसरी काम नगरी ओगटेर राख्नु कर्णाली र सुदूरपश्चिमका जनतालाई धोका दिनु रहेको उनले दाबी गरे ।








प्रतिक्रिया दिनुहोस्