‘गैरपरम्परागत सीपले बदलियो जीवन’



शेरबहादुर ऐर । कैलाली ।

बिहानीको घामसँगै जाग्छ मनिषा चौधरीको नयाँ बिहान । मिनेट मिनेट गनेर काम सुरु गर्ने मजदुर जीवन होइन, आफ्नै कौशल र पसिनामा टिकेको उद्यमको बिहान । अहिले उनी टायल–मार्बल फिटिङमा दक्ष उद्यमी हुन् । महिनामा ४०–५० हजारसम्म आम्दानी हुन्छ । कहिल्यै सुनेकी थिइनन्, कहिल्यै विश्वास गरेकी थिइनन् – ‘महिलाले यस्तो काम पनि गर्न सक्छन् ।’ तर आज उनी नै उदाहरण बनेकी छिन् ।

यही परिवर्तनलाई मूर्तरूप दिन्छ, धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा सञ्चालित गैरपरम्परागत उद्यमशीलता विकास परियोजना । मुक्तकमैया महिला विकास मञ्चले नेतृत्व गरेको यो परियोजनाले यतिबेला परिवर्तनका सयौँ कथाहरूको बगैँचा फुलाइरहेको छ । परियोजनाको वार्षिक सामाजिक लेखापरीक्षण सम्पन्न भएसँगै ती कथाहरूको उज्यालो सतह फेरि एकपटक सार्वजनिक भएका छन् ।

परियोजना साधारण राहत कार्यक्रम होइन, यहाँ महिलालाई आत्मनिर्भर बनाउने, सीप दिने र व्यावसायिक विकल्प निर्माण गर्ने प्रयास छ । परम्परागत तालिमभन्दा पर जान खोजिएको छ, त्यसैले परियोजनाको नाममै ‘गैरपरम्परागत’ जोडिएको छ । गत वर्ष परियोजनाले ४२ जनालाई सीप तालिम दियो र ३९ जनालाई व्यावसायिक सामग्री वा रकममार्फत उद्यम सुरु गरिदियो । कसैलाई सिलाइकटाइ मेसिन, कसैलाई टनेल, कसैलाई कम्पोस्ट मल उत्पादनका सामग्री, त कसैलाई घर निर्माणका औजार र आर्थिक सहयोग ।

प्रत्येक सहयोगले एउटा नयाँ सम्भावना जन्माएको छ । परियोजना संयोजक इन्द्र चौधरी भन्छन्, ‘हामीले महिलालाई उद्यमी बनाउन सकिरहेका छौँ, तर एउटा चुनौती देखिएको छ, सहयोग पाउँदासम्म व्यवसाय चलाउने, सहयोग रोकिँदा छोडिदिने प्रवृत्ति ।’ उनका अनुसार सफल उद्यम केवल सामाग्रीबाट होइन, दीर्घप्रेरणा र बजारपहुँचबाट सम्भव हुन्छ । त्यसैले अहिले परियोजना ‘फ्लो–अप’, ‘उद्यम परामर्श’ र ‘स्थायी व्यावसायिक योजना’जस्ता पक्षमा बढी केन्द्रित हुँदैछ ।

मनिषाको कथाः हातमा सिमेन्ट, मनमा आत्मविश्वास

मनिषा चौधरीलाई नजिकबाट हेर्ने हो भने उनी परिवर्तनको जीवित पाठ हुन् । उनी भन्छिन्, ‘पहिले ठेकेदारसँग मिलेर घर निर्माणमा काम गर्थेँ । मेहनत धेरै, कमाइ थोरै । रोजगारी मेलामा तालिम पाएपछि नयाँ बाटो खुलेझैँ भयो ।’ उनको कथा सरल छ, तर गहिरो । तालिमपछि उनले टायल–मार्बल फिटिङ सिकिन् । काम सुरु गरेपछि आम्दानी स्थिर हुन थाल्यो ।

परिवारले उनको काममा गर्व गर्न थाल्यो र एक दिन परियोजनाले उनलाई छ हजार तीन सय ७५ रुपैयाँसहित सम्मान ग¥यो । कम रकम, तर ठूलो पहिचान । परियोजनाका गतिविधिहरू हेर्न उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला राना स्वयम् उनको कार्य क्षेत्रमा पुगिन् । उनी भन्छिन्, ‘हामीले बुधबार फिल्ड अनुगमन ग¥यौँ, बिहीबार लेखापरीक्षण । किसानहरूले राम्रो फाइदा पाएका छन् । महिलाहरू नयाँ–नयाँ सीपमा अघि बढिरहेका छन् । महिलाले अब जे पनि गर्न सक्छन् भन्ने वास्तविकता पुष्टि हुँदैछ ।’

उनका अनुसार उद्यमशीलताका लागि स्थानीय सरकारले निरन्तर प्रतिनिधि तथा प्राविधिक सहयोग उपलब्ध गराइरहेको छ । उद्यमशीलताको पंक्तिमा महिलाहरूको उपस्थिति बढ्नु केवल आर्थिक परिवर्तन होइन, सामाजिक धारणाको परिवर्तन पनि हो । विगतमा ‘पुरुषको काम’ मानिने टायल फिटिङ, मार्बल कटिङ, टनेल खेती वा निर्माणसम्बन्धी काम अहिले महिलाको सीप सूचीमा विस्तार हुँदैछ ।

सिलाइकटाइ मेसिन पाएकी अर्की सहभागी बताउँछिन्, ‘पहिले खर्च चलाउन धौ धौ थियो । अहिले घरकै काखमा बसेर कमाउँछु । छोरीहरूका लागि राम्रो उदाहरण बनेको महसुस हुन्छ ।’ यस्तै, कम्पोस्ट मल उत्पादनमा सहयोग पाएका समूहका महिलाहरू भन्छन्, ‘हामीलाई अब मल मात्र होइन, बजारको सिकाइ पनि चाहिन्छ । उत्पादन राम्रो छ, अब बिक्री व्यवस्थापन सुदृढ भए जीवन झन् बदलिन्छ ।’

यही सूक्ष्म आवाजहरूले परियोजनाका उपलब्धिहरू मात्र होइन, अझै गर्न बाँकी कामका सूची पनि उजागर गर्छ । धनगढी र गोदावरी नगरपालिकाबीचको सहकार्य परियोजनाको मेरुदण्ड बनेको छ । सरकारी संरचनासँगै समुदायका महिला समूह, सहकारी, स्थानीय अगुवाहरू सबैले उद्यमशीलता वातावरण निर्माणमा हात मिलाइदिएका छन् । परिणामस्वरूप परियोजनाले आफ्नो बजेटको ७९.७२ प्रतिशत प्रभावकारी रूपमा खर्च गर्न सफल भएको छ ।

वित्तीय हिसाबकिताब मात्र परियोजना सफलताको सूचक होइन । तर सामाजिक लेखापरीक्षणमा आएको पारदर्शिता, गतिविधि, प्रभाव र लाभग्राहीको अनुभवले यो परियोजना ‘सफलताका कथाहरू सिर्जना गर्ने कारखाना’ बन्ने संकेत दिन्छ । उद्यमको बाटो लामो छ, तर सम्भावनाले भरिएको सामाजिक लेखापरीक्षणले कागजको अंक मात्र देखाउँदैन्, यो परियोजनाबाट खुलेका नयाँ जीवनका ढोका पनि देखाउँछ । मनिषा जस्ता महिलाले आफ्नो जीवन बदल्दैछन् । सहकारी समूहहरूले नयाँ उत्पादन पथ अघि बढाउँदैछ । स्थानीय तहले महिलाका हातमा सीप र सम्भावना थमाइदिँदैछ ।

उद्यमको बाटो कहिल्यै सजिलो हुँदैन, तर जब महिला, समुदाय र स्थानीय सरकार एउटै दिशामा हिँड्छन्, बाटो स्वतः फराकिलो हुँदै जान्छ । धनगढीका यी कथाहरू केवल व्यक्तिगत सफलता होइनन्, यी ग्रामीण समाजले परिवर्तनलाई आत्मसात् गरेको संकेत हुन् र, यी महिलाहरूले बुझिसके, ‘सशक्तीकरण सहयोगबाट सुरु हुन्छ, तर आत्मनिर्भरता आफ्नै हातले निर्माण गर्छ ।’

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २६ गते शुक्रबार