सम्पादकीयः विदेशी फूलजन्य वस्तु प्रतिबन्ध गर्न जरुरी



नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिएको छ । तिहारमा सबैभन्दा बढी फूल मालालगायतका फूलजन्य वस्तुको खपत हुने गर्दछ । तिहारको पहिलो दिनदेखि नै फूलजन्य वस्तुको प्रयोग हुने गर्दछ । बाँकेलगायत देशैभर तिहारका समयमा फूलजन्य वस्तुको अत्यधिक खपत र प्रयोग हुने गर्दछ । पछिल्ला केही वर्षयता नेपाली पुष्प व्यवसायीहरू भारतलगायतका अन्य देशहरूबाट नेपालमा आयातित गरिने फूलजन्य वस्तुका कारण विस्थापित हुँदै गएका छन् । बढीजसो सीमावर्ती जिल्लाहरूमा यस्तो समस्या देख्न सकिन्छ । नेपाल–भारत सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरू पनि पछिल्ला केही वर्ष यतादेखि विस्थापित हुने क्रममा रहेका छन् । भारतबाट आउने अवैध प्लास्टिकजन्य फूलमाला र अन्य फूलका कारण सीमावर्ती जिल्ला बाँकेका पुष्प व्यवसायीहरू क्रमशः विस्थापित हुँदै गएका देखिन्छन् । केही वर्ष अघिसम्म दर्जनौँको सङ्ख्यामा व्यवसायिक फूलखेतीमा लागेका यहाँका महिला उद्यमीहरू पछिल्ला वर्षदेखि विस्तारै विस्थापित हुँदै गएको पाइन्छ ।

सीमापारिबाट आउने अवैध फूलमालाहरू स्थानीय सरकार, प्रहरी प्रशासनले रोक्न नसकेको तथा भारतबाट बिना चेकजाँच, बिना भन्सार र बिना क्वारेन्टाइन अवैधरूपमा नेपाल आउने प्लास्टिकलगायतका फूलमालाका कारण बाँकेका पुष्प व्यवसायीहरू मर्कामा परेको र विस्थापित हुँदै जान थालेका देखिन्छन् । भारतबाट बिना भन्सार, बिना क्वारेन्टाइन र बिना चेकजाँच विभिन्न किसिमका फूलमालाहरू बाँके जिल्लाका विभिन्न स्थानहरूमा आउँदा यहाँका पुष्प व्यवसायीहरूले लगानी लगाएर वर्षभरि दुःख गरेर उत्पादन गरेका फूलजन्य वस्तुबाट उचित मूल्य नै पाउँदैनन् । पारिबाट लुकीचोरी ल्याएका फूलमाला सस्तोमा बिक्री हुने गरेका कारण यहाँका व्यवसायीहरूले उचित मूल्य पनि नपाउने र भनेजस्तो पनि बिक्री गर्न नसक्दा पछिल्लो समयमा विस्तारै पुष्प व्यवसायीहरू यो पेसाबाट विस्थापित हुँदै जान थालेका हुन् । गत वर्षसम्म बाँकेका १७ जना महिला उद्यमीहरूले व्यवसायिक फूलखेती गर्दै आएकामा यो वर्ष अधिकांशले फूल खेती गरेका छैनन् ।

लगातारको घाटाका कारण यस वर्ष फूल खेती नगरेका हुन् । सीमापारिबाट आउने फूलजन्य वस्तुलाई रोक्नका लागि सङ्घीय सरकारले नीति निर्माण गर्ने, आवश्यक कानुनको निर्माण गरेर कार्यान्वयन गर्न आवश्यक देखिन्छ । त्यसैगरी स्थानीय सरकारले पनि आफ्नो क्षेत्रभित्र आयातित फूलजन्य वस्तु र प्लाष्टिकजन्य फूलमाला बिक्री वितरणमा पूर्णरूपमा रोक लगाउन आवश्यक छ । हरेक स्थानीय तहले आफ्नो पालिकाभित्र प्लास्टिकजन्य फूल र बाह्य फूल बिक्री वितरण गर्न बर्जित गर्न जरुरी छ । नेपालका पुष्प व्यवसायीहरूलाई उत्साह र प्रोत्साहन गर्न स्थानीय सरकारको बढी महत्वपूर्ण भूमिका हुन्छ । स्थानीय सरकारले किसानहरूलाई तालिम, भ्रमण लगायतका सहुलियत लगानी गरेर पुष्प व्यवसायीहरूलाई फूलजन्य वस्तु उत्पादनमा प्रोत्साहित गर्ने र बजारीकरणसमेत गर्न आवश्यक छ । चाडवाडका समयमा त्यसमा पनि तिहारका समयमा भारतबाट अवैधरूपमा भित्रिने फूल तथा मालाका कारण मानिसको स्वास्थ्यमा समेत दीर्घकालीन असर पुग्ने हुन्छ ।

विभिन्न रासायनिक पदार्थको प्रयोगबाट उत्पादन गरिएका फूलजन्य वस्तुहरू क्वारेन्टाइनबिना नेपाल भित्रिने र नेपाली उपभोक्ताहरूले त्यसलाई प्रयोग गर्दा दीर्घकालीनरूपमा स्वास्थ्यमा नकारात्मक असर पर्ने निश्चित छ । फूल तथा मालाहरू उपभोक्ताको नाक, मुख तथा घाँटीमै हुनेहुँदा यसलाई निरुत्साहित गर्दै पूर्णरूपमा नियन्त्रण गर्न स्थानीय सरकारले उल्लेख्य कदम उठाउनु आवश्यक छ । बिउ, मल, कामदारलगायतमा हुने खर्च, पारिबाट आउने फूलमालासँगको प्रतिस्पर्धाका कारण र उताबाट आउने अवैध फूलमालामा रोकावट नभए अब कुनै पनि पुष्प व्यवसायीले यो पेसालाई निरन्तरता दिन नसक्ने देखिन्छ । नेपाली पुष्प व्यवसायीहरूलाई यसै पेसामा टिकाइराख्न, अवैधरूपमा आयातित फूलजन्य वस्तुलाई रोक्न र स्वदेशी उत्पादनलाई प्रयोग गर्नका लागि नेपाली पुष्प व्यवसायीहरूलाई हौसला र प्रोत्साहनको खाँचो छ । प्रहरी प्रशासनले आयातित फूलजन्य वस्तुलाई कडा निगरानी राखी नेपालमा आउन नदिने र स्थानीय सरकारले स्वदेशी फूलजन्य वस्तु उत्पादन तथा बजारीकरणमा गम्भीर भएर व्यवस्थापन गर्न जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज २८ गते मंगलबार