हुम्लाका स्वास्थ्य चौकी दसैँंमा बन्द नहुने



हुम्ला ।

जिल्लामा रहेका स्वास्थ्य चौकीहरूले दसैँ बिदामा पनि नियमित सेवा दिने भएका छन् । दसैँ बिदा भएपनि बिरामीको पीडालाई ध्यानमा राखेर जिल्लाभरका स्वास्थ्य चौकीले नियमित सेवा दिने भएका छन् । जिल्ला सदरमुकाममा रहेको सिमकोट गाउँपालिकाले जिल्ला अस्पतालसहित १२ वटा स्वास्थ्य संस्था दसैँमा पनि बन्द नहुने जनाएको छ ।

गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख नरबहादुर भण्डारीले दसैँ बिदामा पनि स्वास्थ्य चौकीले आफ्नो सेवा नियमित रूपमा दिने बताए । असोज १३ गते फूलपातीदेखि असोज १८ गतेसम्म सार्वजनिक बिदा भएपनि पालिकामा रहेका स्वास्थ्य संस्थाले नियमित सेवा दिने उनले जानकारी दिए। जिल्लाको खार्पुनाथ गाउँपालिकाले पनि चार वटा स्वास्थ्य चौकीबाट दसैँं बिदामा नियमित सेवा दिने जनाएको छ ।

गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिभक्त शाहीले प्रत्येक दिन उपचारमा आउने बिरामीको सङ्ख्या नरोकिएको भन्दै स्वास्थ्य चौकी खुल्ला रहने बताए । जिल्लाका अन्य गाउँपालिका नाम्खा, सर्केगाड, चङ्खेली, अदानचुली र ताँजाकोट गाउँपालिकाले पनि आफ्ना गाउँपालिकाभित्रका सबै स्वास्थ्य चौकीले दसैँं बिदामा पनि नियमित सेवा दिने जानकारी दिएका छन् ।

अतिरिक्त समयमा सेवा प्रदान

जिल्ला स्थित सामाजिक विकास कार्यालयले पनि सार्वजनिक बिदा र बिहान बेलुकाको समयमा सेवा प्रदान गर्दै आएको छ । सेवाग्राहीको चापलाई ध्यानमा राखी कार्यालयले अतिरिक्त समयमा पनि सेवा प्रदान गर्न सुरु गरेको हो । गत सोमबार दसैँंको पहिलो दिन घटस्थापनाको बिदाको दिन गाउँबाट आएर कार्यालयमा सेवा प्राप्त गर्न सफल भएको सर्केगार्ड गाउँपालिका– ८ का धर्मराज छत्यालले बताए ।

उनी कोट माविको छात्रावास शैक्षिक भवन तथा खेल मैदान कार्यक्रमअन्तर्गत संरचना निर्माणका लागि सम्झौता गर्न कार्यालय पुगुेका थिए ।बिदाको दिन पनि सम्झौता गर्ने कार्य भएको र अब पेश्की निकासा गर्ने उनको भनाइ छ । ‘कार्यालयले सार्वजनिक बिदा तथा अतिरिक्त समयमा सेवा प्रवाह नगरेको भए एकदिन सदरमुकाममा त्यसै बास बस्नुपर्ने र अर्को दिन काम गर्नुपर्ने अवस्था हुन्थ्यो’ उनले भने, ‘बिदाकै दिन कार्यालयमा काम सकेर गाउँ फिर्ता भएँ । यसले हामी जस्ता सेवाग्राहीलाई निकै सहज भएको छ ।’

अत्यधिक कामको चापले गर्दा कार्यालयले यो व्यवस्था गरेको हो । कार्यालय प्रमुख रणविजय सिंहका अनुसार यसले गर्दा सेवाग्राहीलाई सहज भएको छ । ‘यो वर्ष सेवा प्रवाह गर्ने कार्य धेरै भएकाले पनि यस्तो व्यवस्था गरिएको हो’ उनले भने, ‘कार्यालयले विद्यालय र सार्वजनिक निर्मित संरचनाको योजना तथा कार्यक्रमको सम्झौता गर्ने, योजनाको पेश्की, रनिङ बिल र अन्तिम भुक्तानी दिनुपर्ने जस्ता धेरै काम छन् ।’

विपद व्यवस्थापनका लागि शैक्षिक कार्यक्रमहरू, लक्षित वर्गका कार्यक्रमहरू, विद्यालयम आईसिटी ल्याब स्थापना र सञ्चालन भएका छन् ।यसैगरी अन्य कार्यक्रमहरूमा छात्रवृद्धि कार्यक्रमअन्तर्गत छोरी बुहारी छात्रवृद्धि कार्यक्रम, उच्च शिक्षा दलित छात्रवृद्धि कार्यक्रम, उच्च शिक्षा अपाङ्गता छात्रवृद्धि कार्यक्रम, जिल्ला खेलकुद विकास समितिलाई सञ्चालन तथा व्यवस्थापन सहयोग कार्यक्रम, योजना माग तथा प्रस्ताव पेश गर्ने कार्य र धरौटी तथा सुरक्षण वापत राखिएको रकम फिर्ता गर्ने कार्यहरू गर्दै आएको कार्यालयले जनाएको छ ।

कार्यालयद्वारा सम्पादन गरिने क्रियाकलापहरूका लागि आवश्यक कागजातको विवरण पनि सार्वजनिक गरिएको छ । जसले गर्दा सेवाग्राहीलाई आवश्यक कागजात जुटाउन पनि पहिले नै जानकारी हुने गरेको छ । यी काम सम्पन्न गर्नका लागि कार्यालय प्रमुख र सम्बन्धित अन्य जनशक्तिलाई पनि कार्यालयमै तयारी अवस्थामा राख्ने गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १२ गते आइतबार