१७औँ काठमाडौँ म्याराथन नोभेम्बर १ मा हुने



काठमाडौँ ।

नेपालकै प्रतिक्षित म्याराथन मध्ये एक काठमाडौँ म्याराथन को १७औँ संस्करण आगामी नोभेम्बर १ मा हुने भएको छ । आयोजक एनआरएस स्पोट्र्स फाउण्डेसनले बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै औपचारिक रूपमा मिति घोषणा गरेको हो । नेपाल फर नेपाली, रिलेसनसिफ फरएभर (नेपालीको लागि नेपाल, सम्बन्ध सधैँभरीलाई ) भन्ने नाराका साथ यस पटकको म्यारथन दौड आयोजना हुने आयोजक फाउण्डेसका अध्यक्ष तथा म्याराथनका संस्थापक निलेन्द्र राज श्रेष्ठले जानकारी दिए ।

काठमाडौँ म्याराथन त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको गेटबाट सुरु हुने र चार शहरहरू काठमाडौँ, भक्तपुर, ललितपुर, ठिमी परिक्रम गरेर सकिने आयोजकले जनाएको छ । १७औँ संस्करणमा करिब ५ हजार धावकहरूले सहभागिता जनाउने अपेक्षा रहेको अध्यक्ष श्रेष्ठले जानकारी दिए । ‘विभिन्न १३ विधामा गरी ५ हजार धावकहरूले प्रतिस्पर्धा गर्ने अपेक्षा छ । यस पटक २०० विदेशी धावक म्याराथनमा सहभागी हुन आउनेछन् ।’ उनले भने ।

यस पटक ४ वर्ष देखि ७० वर्षमाथिका उमेरसम्मलाई लक्षित गरिएको आयोजकले जनाएको छ । सबै उमेर समूह र पेशाका व्यकतिहरूलाईलाई एउटै मञ्चमा ल्याउने काठमाडौँ म्याराथनको लक्ष्य राखेको छ । काठमाडौँ म्यारथनले स्वास्थ्यप्रति जागरण ल्याउने, खेल पर्यटन प्रवरद्धन तथा नेपाली धावकलाई अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउन महत्वपूर्ण प्लेटपर्म प्रदान गर्ने आयोजकको विश्वास छ ।

आयोजक फाउण्डेसनका अध्यक्ष श्रेष्ठले सन् २००७ मा एनआरएन काठमाडौँ इन्टरनेशनल म्यारथनको नामबाट सुरु गरेको यस म्याराथनलाई आफूले अहिलेसम्म निरन्तरता दिएको र सकुन्जेल आयोजना गर्ने बताए । पहिलो संस्करणमा महिला र पुरुष दुवैको विजेतालाई १०–१० हजार अमेरिकी डलर पुरस्कार दिएको स्मरण गर्दै श्रेष्ठले म्यारथनमा क्यास प्राइज महत्वपूर्ण हुने बताए । यस्तै काठमाडौँ म्यारथन नेपालकै ठूलो म्यारथन भएको र बिचमा कोभिड हुँदा बाहेक अरु बेला निरन्तर भएको बताए ।

काठमाडौँ म्यारथनको १७औँ संस्करणको मुख्य प्रायोजकको रूपमा सिद्धार्थ बैँक जोडिएको छ । बिहीबारै पत्रकार सम्मेलनमा मुख्य प्रायोजकको घोषणा र सम्झौता भएको हो । सिद्धार्थ बैकका सिएमओ सुरेश राज महर्जनले काठमाडौँ म्याराथनसँग जोडिन पाउँदा खुशी व्यक्त गरे । यस्तै नेपाल पर्यटन बवर्डका निर्देशक सुनिल शर्माले खेलकुद र पर्यटन जोडेर अघि बढ्न सकेन धेरै फाइदा हुने बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रबार