सम्पादकीयः फरार कैदीबन्दीलाई चाँडै नियन्त्रणमा लिइयोस्



जेनजी प्रदर्शनका क्रममा देशका प्रायः जिल्ला तथा मुख्य सहरहरूमा उग्र आन्दोलन भए । भदौ २३ गते प्रदर्शन गरिएको शान्तिपूर्ण प्रदर्शनका क्रममा तत्कालीन सरकारले १९ जना निहत्था विद्यार्थी तथा युवाहरूलाई गोली हानेर मारेपछि २४ गतेको प्रदर्शन उग्र हुँदै अनियन्त्रित आन्दोलनमा परिणत भयो । २४ गतेको अनियन्त्रित आन्दोलनका कारण देशले ऐतिहासिक भवन तथा अर्बौँ खर्बौँको भौतिक संरचना गुमाउन पुग्यो । २३ गते यता प्रदर्शनकारी युवा विद्यार्थी र प्रहरी गरी कम्तीमा ५१ नेपालीको ज्यान गइसकेको छ भने एक हजार बढी सङ्ख्यामा घाइते बन्न पुगे । आन्दोलनकै क्रममा देशैभरका कैयौँ कारागार तथा सुधारगृहमा आगजनी भयो भने कतिपय स्थानमा रहेका कैदीबन्दीले आफैँले आगो लगाएर बाहिर निस्केर फरार भए ।

देशैभरका कारागार तथा सुधारगृहबाट तेह्र हजारभन्दा बढी कैदीबन्दी फरार रहेको तथ्यांक छ । देशका विभिन्न कारागारबाट १२ हजार ८१७ र बाल सुधारगृहबाट ९६२ गरी १३ हजार ७७९ जना कैदीबन्दी फरार रहेको सरकारी तथ्यांकमा देखिन्छ । विभिन्न कारागार र बाल सुधारगृहरूमा विभिन्न अपराध गरेर कैद सजाय भोग गरिरहेका नेपालीसहित भारतीय तथा तेस्रो मुलुकका नागरिकहरू रहेका थिए । समाजमा विभिन्न अपराध गरेर कैद सजाय भोग गरिरहेका ति कैदीबन्दीहरू फर्केर पुनः सोही समुदायमा जाँदा फेरिपनि अपराध नहोला भन्न सकिँदैन् । कारागारबाट भागेका कैदीहरू बलात्कार प्रयासका घटना घटाएर भोलिपल्टै पुनः पक्राउ परेका समाचार पनि बाहिर आए । यसले के देखाउँछ भने जेल जीवन बिताइरहेका कैदीहरू आफ्नो सजाय पूरा नगरी समाजमा फर्के भने फेरिपनि उनीहरूबाट समाजमा अपराधका क्रियाकलापहरू दोहोरिन सक्छन् ।

फरार भएका सबै कैदीबन्दीहरू फेरिपनि समाजमा गएर अराजक मच्याउँछन् अपराधनै गर्छन् भन्ने होइन तर केही कैदीबन्दीहरूबाट भएका क्रियाकलापले गर्दा शंका उत्पन्न गराउँछ । समाजमा कुनै न कुनै आपराधिक क्रियाकलापहरू गरेर कानुनअनुसार जेल पुगेका कैदीहरू कानुनअनुसार नै छुट्नुपर्छ । फरार भएका १३ हजारभन्दा बढी कैदीबन्दीहरूमध्ये केही कैदीबन्दीहरू इमानदारिताका साथ फेरिपनि कारागार फर्केका छन् । आफू बसेका जेल र कारागारहरूमा अराजक समूहले आगजनी गरेपछि ज्यान जोगाउन बाहिर निस्केको भन्दै उनीहरू अहिले धमाधम कारागार फर्कने क्रम जारी छ । उनीहरूले देखाएको इमानदारितालाई सरकारले पक्कैपनि मूल्यांकन गर्न पनि जरुरी छ । कतिपय कैदीबन्दीहरूको कारागार जीवन थोरै बाँकी रहेका, असल आचरण भएका तथा इमानदार रहेका त्यस्ता कैदीबन्दीहरू फर्किरहँदा बेलामौकामा उनीहरूले पाउने सहुलियतमा कारागार प्रशासन र सरकारले पनि मूल्यांकन गर्न आवश्यक देखिन्छ ।

फरार रहेका अन्य हजारौँ कैदीबन्दीहरूलाई पनि खोजीकार्य गरेर यथाशीघ्र फर्काउन आवश्यक छ । कारागार प्रशासन र जिल्लास्थित सुरक्षा निकायहरूले पनि कैदीबन्दीहरूलाई आफैँ फर्केर आउन अनुरोध गरिरहेका छन् । यो मौकामा फरार भएका कैदीबन्दीहरू आआफ्ना जेल तथा कारागारमा फर्किन जरुरी छ । कानुनअनुसार जेल जीवन बिताइरहेका कैदीबन्दीहरूले आफूले पाएको सजाय पूरा गर्नुपर्छ । भाग्ने क्रममा सुरक्षाकर्मीको गोली प्रहारबाट कैयौँ कैदीबन्दीहरूको पनि मृत्यु भएका घटना बाहिर आएका छन् । कानुनले कसैलाई छाड्दैन र छाड्नुपनि हुँदैन् । फरार रहेका कैदीबन्दीहरूलाई पुनः नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीले गोली पनि चलाउन सक्छ भन्ने यो उदाहरणलाई मनन गर्न आवश्यक छ । तसर्थः फरार कैदीबन्दीहरू सबैजना कानुनअनुसार पुनः जेल तथा कारागारहरूमा फर्किनुनै अहिले आफू सुरक्षित हुनु हो भन्ने कुरा समयमै बुझ्न जरुरी छ । फरार कैदीबन्दीहरूलाई पुनः जेल तथा कारागार फर्काउनका लागि समुदायका हरेक व्यक्तिहरूले पनि सुरक्षा प्रशासनलाई सहयोग गर्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २९ गते आइतबार