सम्पादकीयः जेनजीको प्रदर्शनले सिकाएको पाठ



तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा प्रतिबन्ध लगाएको सामाजिक सञ्जालका कारण देशले अपुरणीय क्षति बेहोर्नुप¥यो । तत्कालीन सरकारको अदूरदर्शी निर्णयका कारण दर्जनौँ निहत्था युवा विद्यार्थीले ज्यान गुमाउनुप¥यो । केही सुरक्षाकर्मीसमेत मृत्युवरण गर्न बाध्य बने । सयौँको सङ्ख्यामा युवा विद्यार्थीहरू घाइते बने । राष्ट्रले मूल्यांकननै गर्न नसकिने गरी राष्ट्रिय सम्पत्तिहरूको क्षति बेहोर्नुप¥यो । सयौँ निजी सम्पत्तिमाथि आगजनी र तोडफोड भए । यो अत्यन्तै दुःखद हो । जे नहुनु थियो त्यो भइनै सक्यो । देशले होनहार युवा विद्यार्थी गुमाउनुका साथै बिसौँ वर्षसम्म पनि बन्न नसक्ने गरी भौतिक संरचना गुमायो । यो अवस्था सिर्जना हुनुमा केवल राजनीतिक दल र तिनीहरूको हठीपन नै हो । जेनजी युवाहरूको आन्दोलनप्रति गम्भीर नबन्नु, आन्दोलन सुरु हुनेबित्तिकै सरकार नछाड्नु उल्टै उनीहरूलाई हतोत्साही र थप आक्रोसित पार्नेगरी वक्तव्य आउनु नै प्रमुख कारण रहे ।

वर्षौँदेखि आम जनताले भ्रष्टाचारमुक्त देश र सुशासन माग गर्दै आएका विषयहरूलाई वास्ता नगर्नु, सरकार सत्तामा पुगेपछि सत्तालिप्सा बन्नु, आफ्नो परिवार र आसेपासेहरूलाई मात्र मौका प्रदान गरिरहनु लगायतका कारणबाट सरकारप्रति नागरिकमा चरम असन्तुष्टि रहेको थियो ।
सत्ता र राजनीतिका नाममा अर्बौँ, खर्बौँ रूपैयाँ भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने सोचमा मात्र लाग्दा देशले आजको यो अवस्था भोग्नुपरेको हो । भ्रष्टाचार र कुशासनतिर नलागेर असन्तुष्ट नागरिकहरूले उठाएका मागहरू समयमै सम्बोधन गरेको भए र नागरिकप्रति सरकार उत्तरदायी बनेर काम गरेको भए सायदै यो अवस्था नआउन सक्थ्यो । यसअघि श्रीलंका र बंगलादेशमा भएका सोहीप्रकारका घटनाबाट पाठ सिकेर नागरिकका आवाज सुनेको भए देशले अहिले यो अवस्था भोग्नुपर्ने थिएन र तत्कालीन राजनीतिक अवस्थाको अन्त्य हुनेथिएन । यो देशको माग थियो, जसलाई जेनजी पुस्ताले नेतृत्व लिएर राजनीतिक अवस्थाको परिवर्तन गर्न सफल बन्यो । अब देशलाई कुन दिशामा अगाडि बढाउने भन्ने कुरा जेनजी पुस्ताको हातमा रहेको छ ।

देशले राजनीतिक परिवर्तन खोजेको थियो सो पूरा भएको छ । अब देशलाई उन्नतिमा लैजानका लागि जेनजी पुस्ता गम्भीर बन्न जरुरी छ । जेनजीको प्रदर्शनका नाममा देशैभर भएका लुटपाटका घटना भने सकारात्मक मान्न सकिन्न । जसरी निजी सम्पत्ति र सार्वजनिक सम्पत्तिमाथि आक्रमण, लुटपाट र प्रहार भयो त्यो नहुनुपथ्र्यो । सरकारी सम्पत्ति भोलि आउने जेनजी पुस्ताका पनि हुन् । ति सम्पत्ति निर्माण गर्न खर्बौँ रकमको आवश्यक पर्नेछ भने वर्षौँसम्म समय लाग्नेछ । जेनजीको प्रदर्शनमा घुसपैठ भएको भन्ने विभिन्न माध्यमबाट बाहिर आएका सूचनाहरूले पनि पुष्टि गर्दछ । प्रदर्शनमा भएका निजी तथा सरकारी सम्पत्तिको लुटपाट गर्ने त्यसता व्यक्तिहरूलाई खोजबिन, छानबिन तथा कारबाहीको दायरामा ल्याउन जरुरी छ । देशलाई कानुनअनुसार चल्न दिनुपर्दछ । कानुनबिनाको राज्य कस्तो हुन्छ भन्ने कुरा सोच्न र आंकलनसम्म पनि गर्न सकिँदैन् ।

अब तत्काल सम्बन्धितसँग वार्ता गरेर संसद्को विघटन, अन्तरिम नागरिक सरकार गठन गरी नरसंहार मच्चाउन आदेश दिने तत्कालीन प्रधानमन्त्री, गृहमन्त्री लगायत संलग्न सबैलाई पक्राउ गरी कानुनअनुसार कारबाहीको दायरामा ल्याउन जरुरी छ । निहत्था दर्जनौँ युवा विद्यार्थीलाई मृत्युको मुखमा पु¥याउने कार्यमा संलग्न जोकोही भएपनि कानुनको दायरामा ल्याउन आवश्यक छ । देश युवाले नै हो सञ्चालन गर्ने, आफ्नो देशको भविष्य कोर्ने युवा पुस्ताको हातमा आएको छ अब । नागरिक समाज, स्वतन्त्र व्यक्ति, सम्बन्धित विषयगत विज्ञ, जेनजी संलग्न अन्तरिम सरकार निर्माण गरेर तत्काल निर्वाचन गराई नयाँ जनादेशसहितको सरकार गठन गर्नतर्फ अब लाग्नुपर्ने आवश्यक छ । देशलाई निकास दिन, देशलाई भ्रष्टाचारमुक्त र सुशासनसहितको शासन व्यवस्था कायम गर्नका लागि यो सुनौलो मौका भएको छ । यो घटनाबाट अब सम्पूर्ण राजनीतिक दल र नेताहरूले पाठ सिक्न जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २६ गते बिहीबार