दार्चुला ।
सुदूरपश्चिम प्रदेश सरकारले दार्चुलाको व्यास गाउँपालिकाका बाढीपहिरो तथा भुइँस्खलनबाट प्रभावित ४० परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ । व्यास गाउँपालिका–४ मडगाउँमा बाढी, पहिरो तथा भुइँस्खलनका कारण विस्थापित भएका परिवारलाई प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले टेन्ट, कम्बललगायतका आवश्यक सामग्री उपलब्ध गराएको हो । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको मंगलबार बसेको बैठकले प्रभावित परिवारलाई तत्काल राहत सामग्री उपलब्ध गराउने निर्णय गरेको थियो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री खुशीराम डगौरा थारुको अध्यक्षतामा बसेको बैठकले गरेको निर्णयअनुसार राहत सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । मन्त्री थारुले गाउँपालिकाका कर्मचारीलाई ४० वटा टेन्ट र ६० वटा कम्बल हस्तान्तरण गरेका हुन् । विपद्का कारण घरमा बस्न नसक्ने अवस्थामा पुगेका परिवारलाई तत्काल आश्रय तथा राहत उपलब्ध गराउने उद्देश्यले सामग्री प्रदान गरिएको मन्त्रालयले जनाएको छ । सरकारले विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक समन्वय र सहयोगलाई निरन्तरता दिने जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्