घर्कियो मुख्यमन्त्री भट्टले दिएको बजेटको भाका



सुदूरपश्चिम ।

सुदूरपश्चिमका मुख्यमन्त्री खगराज भट्टले भदौ मसान्तभित्र बजेट ल्याउनेगरि द्रुत गतिमा काम भइरहेको दाबी गरेका थिए । तर, आज असोज ३ गते भइसकेको छ । अर्थात् मुख्यमन्त्री भट्टले दिएको बजेट ल्याउने भाका घर्किएको छ ।सुदूरपश्चिम प्रदेश बजेट शून्यतामा गएको दुई महिना बितिसक्यो । स्वयंम एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री भएको पनि महिना दिन पुगिसक्यो । तर, बजेट ल्याउन प्रदेश सरकारले कुनै सुरसार गरेको छैन् ।

प्रदेश मन्त्रीपरिषद् र सार्वभौम प्रदेशसभा सदस्यको समेत अपमान हुनेगरि मुख्यमन्त्री भट्टले बजेट बनाउने भन्दै नियुक्त गरेका दुई जना विज्ञ सल्लाहकारहरु नीति तथा योजना आयोगका उपाध्यक्षसमेत बोकेर विभिन्न ठाउँ पुगेर गोप्य खानपिन र छलफलमा सक्रिय छन् । भदौ मसान्तभित्र बजेट ल्याउने दाबी गरेका स्वयम् मुख्यमन्त्री भट्टलाई नै बजेट कहिले आउँछ अत्तोपत्तो छैन भन्दा सायदै फरक नपर्ला । बजेटका लागि भदौ मसान्तको भाका दिँदै आएका मुख्यमन्त्री र उनका मन्त्रीहरुले अहिले बोली फेरेका छन् । अब उनीहरु छिट्टै बजेट ल्याउछौँ भन्न थालिसकेका छन् ।

तर, त्यो कहिले हो उनीहरुलाई नै थाहा नभएको टिप्पणी भइरहेको छ । कतिसम्म भने मुख्यमन्त्रीले बजेट ल्याउने बाचा गरेको भदौ मसान्त घर्किन केही घण्टा बाँकी छँदासम्म प्रदेश सरकारले संघीय सरकारको नियन्त्रणमा रहने बजेट सूचना प्रणालीकोे पासवर्डसमेत पाएको छैन् ।आर्थिक मामिला मन्त्रालयका उपसचिव सत्यराज जोशीले बजेट कहिले आउँछ भन्ने कुरा अहिले नै भन्न नसकिने बताएका छन् । उनले संघीय सरकारसँग प्रदेशगत मन्त्रालय बजेट सूचना प्रणाली अथात् पि.एल.एम.बी.आइ.एसको पासवर्ड मागिएको तर अहिलेसम्म प्राप्त हुन नसकेको जनाएका छन् । बजेट सूचना प्रणालीको पासवर्ड पाएपछि आर्थिक मामिला मन्त्रालयले त्यसमा बजेटमा समावेश गरिने योजना समावेश गर्न पाउनेछ ।

तर, अहिलेसम्म बजेट सूचना प्रणालीकै पासवर्ड प्राप्त गर्न सकेको छैन् ।भदौ मसान्तमै बजेट ल्याउने बाचा पूरा गर्न नसकेको प्रदेश सरकारसँग योजना माग्न भने पहाडी जिल्लाबाट सुकिलामुकिला व्यक्तिहरु धनगढी झरिसकेका छन् । कतिपय तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारका बेला फेल भएको बजेटमा परिसकेका योजना निरन्तरता दिन दबाब दिइरहेका छन् भने कतिपय नयाँ योजनाको माग गर्दै मन्त्रालय पुगिरहेका छन् ।योजना माग्नेमा स्थानीय तहका जनप्रतिनिधि, प्रदेशसभा सदस्य मात्रै नभएर बिचौलियाको जालोसमेत उत्तिकै सक्रिय बनेको चर्चा व्यापक चलिरहेको छ । यद्यपि शाह नेतृत्वको सरकारको पालामा भन्दा चमत्कारिक बजेट ल्याउने शैली देखाइरहेकोे भट्ट नेतृत्वको सरकारले बिचौलियालाई निषेध गर्ने दाबी गर्दै आइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार