मन्त्रीपरिषद् बैठकबाट १३ देशमा राजदूत सिफारिस



काठमाडौँ ।

सरकारले विभिन्न १३ वटा देशका राजदूतहरु नियुक्ति गर्नका लागि सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको हो । सरकारले डा. निश्चलनाथ पाण्डेलाई भारत, डा. कल्याणराज शर्मालाई चीन र चिरनजंग थापाको नाम संयुक्त राज्य अमेरिकाको लागि सिफारिस गरेको हो । संयुक्त अधिराज्य (यूके)का लागि पूर्वप्रधानसेनापति गौरवशम्शेर जंगबहादुर राणाको नाम सिफारिस गरिएको छ । जिग्यानकुमार थापा जापान र सुरेशकुमार कर्ण इजरायलका लागि प्रस्तावित राजदूतमा सिफारिसमा परेका छन् । यसैगरी, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि शरु जोशी र डा. पद्माक्षी राणालाई ओमानका लागि प्रस्तावित राजदूत सिफारिस गरिएको हो ।

मलेसियाका लागि नेपाली राजदूतमा चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा. डा. संगम श्रेष्ठको नाम सिफारिस गरिएको हो । मन्त्रीपरिषद् बैठकले श्रीलंकाका लागि डा. मंचला झा र साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको छ । विभिन्न क्षेत्रबाट विज्ञता बटुलेका, अध्ययन तथा अनुसन्धान गरेका, विभिन्न क्षेत्रमा नेतृत्व र अन्य हिसाबले समेत काम गरिरहेका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएको सरकारले जनाएको छ ।भारत, चीन र अमेरिकाका लागि सिफारिस भएका व्यक्तिहरु कुन पृष्ठभूमिका हुन् भन्ने आम चासो रहेको छ । भारतका लागि नेपाली राजदूत सिफारिस भएका डा. निश्चलनाथ पाण्डे नेपालका वैदेशिक नीतिका अग्रणी प्राज्ञिक व्यक्तित्व हुन् । उनी हाल सेन्टर फर साउथ एशियन स्टडिजका निर्देशक रहेका छन् ।

डा. कल्याणराज शर्मा नेपाल–चीन मामला विज्ञ, सिनोलोजिस्ट र अर्थशास्त्री हुन्, जसलाई प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ । उनले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।डा. कल्याणराज शर्मा नेपाल–चीन मामला विज्ञ, सिनोलोजिस्ट र अर्थशास्त्री हुन्, जसलाई प्राज्ञिक क्षेत्र, संस्थागत सुशासन र द्विपक्षीय नीतिगत सहकार्यमा दुई दशकभन्दा बढीको अनुभव छ। उनले चीनको फुदान विश्वविद्यालयबाट प्रत्यक्ष वैदेशिक लगानी, व्यापार र पर्यटन वित्तपोषणमा केन्द्रित भई अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।

उनी हाल फुदान युनिभर्सिटी एलम्नाई एसोसिएसन नेपाल, नेपाल–चीन फ्रेन्डशिप फोरम (२०१३ देखि) र काउन्सिल अफ सिनोलोजिस्ट्स–नेपालको अध्यक्ष छन् । साथै, उनी काठमाडौँ विश्वविद्यालय स्कूल अफ म्यानेजमेन्टमा भिजिटिङ स्कॉलरका रूपमा कार्यरत छन्, जहाँ उनले ‘डुइङ बिजनेस इन चाइना’ पाठ्यक्रम तयार गरी अध्यापन गराउँदै आएका छन् । उनी एडभेन्चर आउटडोर एक्स्कर्सन प्रालिका प्रबन्ध निर्देशक भई हिमालयन तथा सीमापार पर्यटन प्रवद्र्धनमा क्रियाशील छन् भने एपेक्स फण्ड्स लिमिटेड र विभिन्न जलविद्युत् तथा ऊर्जा कम्पनीहरूको स्वतन्त्र सञ्चालक समितिमा रहेका छन् । नेपाल–चीन सम्बन्धमा पु¥याएको योगदानको कदरस्वरूप उनलाई नेपालका राष्ट्रपतिबाट नेपाल भूषण (२०१६) र ‘सिल्क रोड फ्रेन्डशिप अवार्ड’ (२०२१) प्रदान गरिएको थियो, जुन पुरस्कार पाउने उनी विश्वभरका १२ जनामध्ये एक हुन् । उनी नेपाल–चीन आर्थिक कूटनीति, व्यापार र ‘बेल्ट एण्ड रोड’ सहकार्यका प्रखर विश्लेषक तथा वक्ता हुन् ।

संयुक्त राज्य अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा राष्ट्रिय सुरक्षा र अन्तर्राष्ट्रिय मामला विज्ञ हुन् । उनीसँग सुरक्षा नीति, संकट व्यवस्थापन र कूटनीतिमा दुई दशकको अनुभव छ । उनले सन् २०१७ देखि उनले अक्सफाममा एसियाका लागि क्षेत्रीय सुरक्षा सल्लाहकारका रूपमा १५ देशहरूमा जोखिम व्यवस्थापन र संकट व्यवस्थापनको नेतृत्व गर्दै आएका छन् । उनी हार्भरर्ड केनेडी स्कूलको ‘लिडरशिप इन होमल्याण्ड सेक्युरिटी’ कार्यक्रम पूरा गर्ने पहिलो गैरसैनिक नेपाली र दुई पटक प्रधानसेनापति प्रशंसापत्र प्राप्त गर्ने पहिलो व्यक्ति हुन् । अब सरकारले राजदूतको लागि सिफारिस गरिएका प्रस्तावित राजदूतहरुको रुपमा संसदीय सुनुवाइको लागि पठाउने छ । संसदीय सुनुवाइ सकिएपछि सरकारले सम्बन्धित मुलुकमा अग्रिमोका लागि पठाउने छ । अग्रिमो आएपछि राष्ट्रपतिले सम्बन्धित मुलुकको लागि राजदूतमा नियुक्त गर्नेछन् ।

 

  • No tags available
प्रकाशित मिति : २०८३ असोज ३ गते शनिबार