कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेल १५औँ महाधिवेशनमा कुनै पनि पदमा नलड्ने



पोखरा ।

नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखराेलले आसन्न १५औँ महाधिवेशनमा कुनै पनि पदमा प्रतिस्पर्धा नगर्ने घोषणा गरेका छन् । पार्टीमा नयाँ तथा युवा पुस्तालाई अवसर र जिम्मेवारी प्रदान गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै उनले प्रतिस्पर्धाबाट बाहिरै रहने निर्णय लिएका हुन् ।

शुक्रबार प्रेस वक्तव्य जारी गर्दै पूर्वमुख्यमन्त्री नेपालीले आफू पदको दौडमा नरहे पनि पार्टीप्रतिको सक्रियता, जिम्मेवारी र प्रतिबद्धता निरन्तर कायम रहने स्पष्ट पारे । ‘हाल जुन हैसियतमा छु, सोही हैसियतमा सक्रिय रहँदै पार्टी र नयाँ पुस्ताका साथीहरुलाई आवश्यक सहयोग, मार्गदर्शन र अभिभावकीय भूमिका निर्वाह गरिरहनेछु,’ उनले भने । उनले महाधिवेशनमा आपसी संवाद, सहमति र सहकार्यका माध्यमबाट सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने वातावरण बनाउन जिल्लाका नेता-कार्यकर्तालाई आग्रह पनि गरे ।

सो अवसरमा उनले हालै भोटेकोसी तथा रसुवा, नुवाकोट र धादिङमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै उद्धार, खोजी तथा राहत कार्यलाई प्रभावकारी बनाउन सरकारसँग माग गरे । विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाको नेतृत्वमा १५औँ महाधिवेशन हुन लागेको उल्लेख गर्दै उनले १४औँ महाधिवेशनका सदस्यहरुलाई समेत समेटेर पार्टी एकता मजबुत बनाउन थापाले देखाएको लचकता प्रशंसनीय रहेको बताए ।

आफ्नो ५५ वर्ष लामो राजनीतिक यात्रामध्ये ४५ वर्ष नवलपरासीमा समर्पित भएको स्मरण गर्दै उनले ४ पटक जिल्ला सभापति, २ पटक केन्द्रीय सदस्य र गण्डकी प्रदेशको पहिलो मुख्यमन्त्री भएर सेवा गर्न पाएकोमा जिल्लावासी र शुभेच्छुकप्रति आभार व्यक्त गरे ।

  • No tags available
प्रकाशित मिति : २०८३ असोज २ गते शुक्रबार