हुम्ला ।
तीनवटा पक्की पुलको काम अघि नबढाउने एक निर्माण कम्पनीसँगको ठेक्का रद्द गरिएको छ । कर्णाली करिडोरअन्तर्गत कालीकोटको खुलालुदेखि हुम्लाको सलिसल्लासम्मको सडक खण्डमा निर्माण गर्नुपर्ने पक्की पुल निर्माण व्यवसायीले हालसम्म पनि नबनाएपछि ठेक्का रद्द गरिएको हो । सम्झौताअनुसार पुल निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा सकिँदासमेत निर्माण कम्पनीले पुलको अन्तिम डिजाइनसमेत स्वीकृत गराउन नसकेपछि हिल्सा–सिमकोट सडक योजनाले ठेक्का रद्द गरेको जनाएको छ ।
कार्यालयले पटक–पटक निर्माण अघि बढाउन ताकेता गरे पनि कम्पनीले काम अगाडि बढाउन नसकेको जनाएको छ ।हिल्सा–सिमकोट सडक योजनाका इन्जिनियर कुशल भुसालका अनुसार कर्णाली करिडोरअन्तर्गत कालीकोट, बाजुरा र हुम्ला खण्डमा निर्माण गर्नुपर्ने पुलको काम लामो समयसम्म अघि नबढेपछि सार्वजनिक सूचना जारी गरी ठेक्का रद्द गरिएको हो । २०७९ साल असारमा डिजाइन एन्ड बिल्ड प्रक्रियाबाट ठेक्का लागेको तीनवटै पुलको अन्तिम डिजाइन सडक विभागबाट स्वीकृत हुन नसकेपछि सम्झौता तोडिएको भुसालले बताए ।
पुल निर्माणका लागि हिल्सा–सिमकोट सडक योजना र बीकोई बिल्डर्स प्रालिबीच २०७९ साल असार ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार २०८२ साल असोज ३० गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो । नियमानुसार सम्झौता भएको नौ महिनाभित्र डिजाइन तयार गरी सडक विभागबाट स्वीकृति लिनुपर्ने भए पनि कम्पनीले हालसम्म डिजाइन स्वीकृत गराउन सकेको थिएन ।
ठेक्का रद्द गरिएका पुलमा कर्णाली करिडोरको खुलालु खोला, सान्नीघाट खोला र पुगाड खोला रहेका छन् । यी तीनवटै पुल निर्माणका लागि कम्पनीले भ्याटसहित १८ करोड २५ लाख २८ हजार रूपैयाँँमा ठेक्का लिएको थियो । सम्झौतापछि पटक–पटक निर्माण अघि बढाउन कार्यालयले आग्रह गरे पनि कम्पनीले आवश्यक प्रक्रिया पूरा नगरेको खुुलेको छ । निरन्तरको ताकेतापछि अन्ततः ठेक्का रद्द गर्ने निर्णय गरिएको आयोजनाले जनाएको छ । ठेक्का रद्द भएपछि अब ती पुलका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढाइने भएको छ ।









प्रतिक्रिया दिनुहोस्