काँग्रेसको संस्थापन इतर पक्षले समानान्तर गतिविधि गर्ने



शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।

नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसमा समानान्तर पार्टीको अभ्यासमा अघि बढिरहेको छ । गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि आन्तरिक विवादमा रुमल्लिरहेको नेपाली काँग्रेसमा लामो समयदेखि पार्टी फुटलाई बल पुग्नेगरी समानान्तर गतिविधिमा अघि बढिरहेको हो । गत पुस २६ देखि ३० गतेसम्म तत्कालीन महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश समूहको अगुवाई नेपाली काँग्रेसको विशेष महाधिवेशन आयोजना गरेदेखि सुरु भएको काँग्रेस विवाद हालसम्मपनि टुंगिन सकेको छैन् ।

विशेष महाधिवेशनमार्फत गगन थापालाई निर्विरोध सभापति चयन गरिएको थियो । तर, शेर बहादुर देउवा समूहले विशेष अधिवेशन अस्वीकार ग¥यो । सुरुमा दुवै पक्षले निर्वाचन आयोगमा आधिकारिताको दाबी पेस गरे । निर्वाचन आयोगले दुवै पक्षसँगको छलफलपछि गत माघ २० गते गगन थापा नेतृत्वको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिलाई मान्यता दियो । आयोगको निर्णयमा असन्तुष्टि जनाउँदै देउवा समूह फेरि आधिकारिता माग गर्दै कानुनी लडाइँमा गयो । २०८३ वैशाख ४ गते शेरबहादुर देउवा पक्षले दर्ता गरेको रिट खारेज गरिदियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्धय शारंगा सुवेदी र नृपध्वज निरौलाको इजलासले थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको थियो । पछिल्लोपटक २०८३ साउन २१ गते सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाली काँग्रेस आधिकारिकता विवादमा पुनरावलोकन अनुमति दिएपछि पार्टीमा समानान्तर गतिविधि झन् बढेको हो । आधिकारिकता विवादमा शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दायर गरेको पुनरावलोकन निवेदनमा प्रधानन्यायाधीश मनोजकुमार शर्मासहित न्यायाधीशद्धय नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलसमेतको इजलासले पुनरावलकोन आदेश दिएको थियो ।

पूर्ण इजालासबाट हौसिएको नेपाली काँग्रेस संस्थापन इतर समूहको आयोजनामा साउन २९ गतेदेखि सुरु भएको नेपाली काँग्रेस राष्ट्रिय भेला महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको हो । नेपाली काँग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले ‘राष्ट्रिय भेला’ भनेर उद्घाटन गरेको र बन्दसत्रमा आइपुग्दा नाम संशोधन गरेर ‘राष्ट्रिय सम्मेलन’ राख्दै सम्पन्न भएको हो । पार्टी पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाको सहभागितामै तीनदिनसम्म सञ्चालन भएको भेला÷सम्मेलनमा विभिन्न पाँच वटा प्रस्ताव प्रस्तुत गरिएको थियो ।

बन्दसत्रमा पूर्वगृहमन्त्री समेत रहेका नेता रमेश लेखकको ‘नेपाली काँग्रेसको विधान संशोधन अवधारणापत्र’ र पूर्वसहमहामन्त्री उमाकान्त चौधरीको संगठनसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यस्तै, नेता विमलेन्द्र निधिले राजनीतिक, प्रकाशरण महतले आर्थिक, सामाजिक नीतिको कार्यदिशा, एनपी सावदको समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका थिए । पाँचवटै प्रस्तावहरूलाई संशोधनसहित पारित गर्दै इतर समूहले नेपाली काँग्रेसको १५औँ महाधिवेशन,धर्म सम्बन्धी नीतिसहित महत्वपूर्ण पाँच बुँदे प्रस्ताव पारित गर्दै भेला÷सम्मेलन सम्पन्न भएको छ ।

इतर समूहले पारित गरेका पाँच निर्णय 

नेपाली काँग्रेस संस्थापन इतर समूहको तीन दिनसम्म सञ्चालन भएको राष्ट्रिय भेलाले विभिन्न पाँचवटा निर्णय गरेको हो । सम्मेलनले १४औँ महाधिवेशनवाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गर्ने र त्यसको सभापतित्व शेरबहादुर देउवाले गर्ने निर्णय गरेको छ । सम्मेलनको पहिलो निर्णयमा भनिएको छ, ‘१४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिनेछ र श्री शेरबहादुर देउवाको सभापतित्वमा १५औँ महाधिवेशन सम्पन्न हुनेछ ।

उहाँकै नेतृत्वमा पार्टी एकतावद्ध भई १५औँ महाधिवेशन सम्भव हुने दृढ विश्वास यो सम्मेलनले व्यक्त गर्दछ । १५औँ महाधिवेशनसम्म आवश्यक पार्टीको नियमित क्रियाकलाप देउवाको निर्देशनमा राष्ट्रिय भेला र सम्मेलनका संयोजकले नै संयोजन गर्दै जानु हुनेछ ।’ सम्मेलनले २०३३ सालमा बीपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय संकटलाई ध्यानमा राखेर राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखि स्वदेश फर्केको स्मरण गर्दै आज पनि देश अप्ठेरो स्थितिमा रहेकोले राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तीहरूसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियायाशील रहने निर्णय गरेको छ ।

इतर समूहले सम्मेलनले धर्म सम्बन्धी महत्वपूर्ण र रणनीतिक निर्णय गर्दै नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान भएको जनाएको छ । निर्णय नम्बर ३ मा भनिएको छ, ‘नेपालम रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति र धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चित देखि चलिआएको हिन्दु, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरि सनातन धर्मलाई राष्ट्रिको पहिचान रूपमा राष्ट्रलाई अघि बढाउने प्रतिवद्धता गर्नेछ ।’

यसैगरी, वर्तमान संविधानमा जन अपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्था अनुसार नै सम्बन्धित सबैसँग सम्वाद गरि निकाश दिइने उल्लेख गरिएको छ । २०८३ श्रावण २० र २१ गते सम्पन्न नेपाली काँग्रेसको राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावहरूलाई समेत समेटी परिमार्जनसहित पारित प्रस्तावहरूलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य तथा संयोजक एनपी साउदलाई दिइएको छ । जसको सदस्यहरूमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सिता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपक प्रसाद कुइकेल रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १ गते सोमबार