कैलालीमा सद्भाव कायम गर्न तीन बुँदे निर्णय



कैलाली ।

तराई–मधेसका विभिन्न जिल्लामा पछिल्ला दिनमा देखिएको धार्मिक द्वन्द्व, हिंसा, आगजनी, तोडफोडका घटनाबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै कैलालीमा धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम राख्न तीन बुँदे निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालयमा बसेको अन्तरधार्मिक तथा सामाजिक सद्भाव जिल्ला समन्वय समितिको बैठकले जिल्लाभर धार्मिक तथा सामाजिक सद्भाव सुदृढ बनाउन स्थानीय तहसँग समन्वय गरी उपमहानगरपालिका, नगरपालिका, गाउँपालिका तथा वडा तहमा धार्मिक तथा सामाजिक सद्भाव समन्वय समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकले कुनै एक धार्मिक समुदायको मात्र प्रतिनिधित्व हुने सभा, जुलुस वा ¥याली सकेसम्म नगर्न आग्रह गरेको छ । अपरिहार्य अवस्थामा यस्ता कार्यक्रम गर्दा चर्को ध्वनि उपकरण प्रयोग नगर्न, अर्को धार्मिक समुदायको आस्था र सम्मानमा आँच पुग्ने गतिविधि नगर्न, हातहतियार, लाठी, भाला लगायतका सामग्री प्रयोग वा प्रदर्शन नगर्न तथा सार्वजनिक कार्यक्रम सञ्चालन गर्नुअघि स्थानीय प्रशासनलाई पूर्वसूचना दिई स्वीकृति लिनुपर्ने निर्णय गरिएको छ । साथै शान्ति–सुरक्षामा असर पर्ने कुनै पनि गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरिएको छ ।

यस्तै, कुनै व्यक्ति वा संस्थाले अर्को धार्मिक समुदायको सम्मानमा आँच पुग्ने गरी बोलेर, लेखेर, संकेत गरेर वा सामाजिक सञ्जालमार्फत लाइक, सेयर तथा पोस्ट गरी धार्मिक सद्भाव बिगार्ने गतिविधि गरे तत्काल कानुनी कारबाही अघि बढाइने निर्णय पनि गरिएको छ । बैठकले हालको संवेदनशील अवस्थालाई ध्यानमा राख्दै छिमेकी मुलुकबाट सीमा नाका हुँदै नेपाल प्रवेश गर्ने सबैले अनिवार्य रूपमा आधिकारिक परिचय खुल्ने परिचयपत्र देखाएर मात्रै प्रवेश गर्न पाउने व्यवस्था लागू गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, कैलाली उद्योग वाणिज्य संघ धनगढीको अगुवाइमा शान्ति, सद्भाव, आपसी सम्मान तथा राष्ट्रिय एकताको सन्देश प्रवाह गर्ने उद्देश्यले विभिन्न राजनीतिक दल, धार्मिक समुदाय, व्यवसायिक संघ–संस्था, सञ्चारकर्मी, नागरिक समाज तथा सर्वसाधारण नागरिकको सहभागितामा साउन १८ गते धनगढीमा ‘नागरिक सद्भाव ¥याली’ आयोजना गर्ने निर्णय गरिएको छ ।

सुदूरपश्चिममा सुरक्षा व्यवस्था कडा, सम्भावित जोखिमप्रति तयारी

मधेश प्रदेशमा देखिएको सामाजिक तथा धार्मिक द्वन्द्वको प्रभाव सुदूरपश्चिममा पनि पर्न सक्ने जोखिमलाई मध्यनजर गर्दै सुरक्षा सतर्कता अपनाइएको छ । मुलुकमा विकसित राजनीतिक तथा सामाजिक अवस्था, मधेशका विभिन्न क्षेत्रमा भइरहेका आन्दोलन र त्यसको प्रभावमा हुने सम्भावित प्रदर्शन तथा झडपका घटनाका लगायत जोखिमलाई मध्यनजर गर्दै सुरक्षा दस्ता ‘अलर्ट’मा छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका एसएसपी पदमबहादुर बिष्टका अनुसार ‘सम्भावित प्रदर्शनलगायत जोखिमलाई मध्यनजर गर्दै सोहीअनुसार सुरक्षा सतर्कता अपनाउँदै पूर्वतयारी गरिएको छ ।’

अहिले सुदूरपश्चिमको अवस्था सामान्य नै छ । मधेशमा भइरहेको आन्दोलनको उच्च प्रभाव सुदूरपश्चिममा नपर्न सक्ने सुरक्षा विश्लेषण छ । यद्यपि सम्भावित चुनौतीलाई मध्यनजर गर्दै आन्तरिक तयारी गरिएको छ । नियमित सूचना संकलनसँगै नाकामा जाँचमा कडाइ पनि गरिएको छ । सम्भावित सामाजिक तनावका कारण प्रदेशको शान्ति सुरक्षामा असर पर्न सक्ने अवस्थाको पूर्वानुमान गर्दै सुरक्षा निकायहरूले उच्च सतर्कता अपनाएका छन् ।

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले केही दिनअघि सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै आवश्यक तयारी अवस्थामा रहन तथा कुनै पनि अवाञ्छित घटना हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन पनि दिएका थिए । मनसुनका कारण आउन सक्ने बाढी, पहिरो, डुबानलगायतका विपद्लाई मध्यनजर गर्दै उद्धार, राहत तथा विपद् व्यवस्थापनका सबै संयन्त्रलाई पूर्वतयारी अवस्थामा राख्न पनि सुरक्षा निकायहरूलाई निर्देशन गरिएको थियो ।

बैठकमा प्रमुख सचिव बैकुण्ठप्रसाद अर्याल, सुदूरपश्चिम पृतना मुख्यालय तेघरीका पृतनापति उपरथी किरण केसी, उपरथी पवन खत्री, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव तेजप्रकाश जोशी, प्रदेश प्रहरी प्रमुख सानुराम भट्टराई तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ वैद्यनाथ बाहिनीका बाहिनीपति दिग्बिजय सुवेदीलगायतको उपस्थिति रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १८ गते सोमबार