विदेशबाटै अस्पतालका कर्मचारीमाथि कारबाही



कैलाली ।

कैलालीको लम्कीचुहा नगरपालिकाकी नगरप्रमुख सुशीला शाहीले विदेश भ्रमणमा रहँदा पनि कार्यवाहकको जिम्मेवारी कसैलाई नदिई उतैबाट अस्पतालका कर्मचारीमाथि कारबाही गरेकी छिन् । नगरप्रमुख शाही आफ्नो चार वर्षे कार्यकालमा पटकपटक विदेश भ्रमणमा जाँदा पनि कार्यवाहकको जिम्मेवारी उपप्रमुख वा अन्य जनप्रतिनिधिलाई नदिएको पाइएको हो ।

स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश, २०७४ अनुसार गाउँपालिका अध्यक्ष वा नगरप्रमुखले तीन दिनभन्दा बढी समय स्थानीय तह बाहिर बस्नुपरेमा उपाध्यक्ष वा उपप्रमुखलाई कार्यभार सुम्पनुपर्ने व्यवस्था छ । तर, शाही दुई–तीन सातासम्म विदेशमा रहँदा पनि कार्यवाहक नतोकिएको स्रोतले जनाएको छ ।यसैबीच, विदेशबाटै नगरप्रमुख शाहीले लम्की अस्पतालका कर्मचारीमाथि कारबाही गरेकी छन् । उनले अस्पतालका व्यवस्थापक जयेन्द्रप्रसाद जैशीलाई पदबाट हटाउने तथा सहव्यवस्थापक महेशकुमार बिष्टलाई अर्को व्यवस्था नभएसम्म हाजिर नगर्न निर्देशनसहित पत्र पठाएकी हुन् ।

शाहीद्वारा जारी पत्रमा अस्पताल विकास समितिमा कार्यरत करार कर्मचारीहरूको म्याद २०८३ असार मसान्तसम्म मात्रै रहेको, त्यसपछि म्याद थप गर्ने सम्बन्धमा समितिको कुनै निर्णय नभएको उल्लेख गर्दै, कानूनबमोजिम समितिका पदाधिकारी नै नरहेको अवस्थामा निर्णय प्रक्रियामा सहभागी भएको देखिएकाले सहव्यवस्थापकको करार नवीकरण नगरिएको र अर्को व्यवस्था नभएसम्म हाजिर नगर्न भनिएको छ ।

‘लम्कीचुहा नगरपालिकाको असार १० गतेको नगरप्रमुखस्तरीय निर्णय बमोजिम तहाँ अस्पताल विकास समितिमा कार्यरत कर्मचारीहरूको करार म्याद २०८३ साल असार मसान्तसम्म मात्र रहेको र तत्पश्चात करार सेवामा कार्यरत कर्मचारीको म्याद थप गर्ने सम्बन्धमा अस्पताल विकास समितिको कुनै पनि निर्णय नभएको हुँदा कानुन बमोजिम अस्पताल विकास समितिको पदाधिकारी नै नरहेको अवस्थामा अस्पतालको निर्णय प्रक्रियामा सहभागी रहेको देखिएको हुँदा अर्को व्यवस्था नहुन्जेलसम्मका लागि तपाईको सहव्यवस्थापक पदको करार अवधी नविकरण नगरीएको हुँदा अर्को व्यवस्था नहुँदासम्मका लागी हाजिर नगर्ने व्यहोरा जानकारी गराइन्छ,’ नगरप्रमुख शाहीद्वारा जारी पत्रमा भनिएको छ ।

यस्तै, अस्पतालका जिन्सी प्रमुख वीरेन्द्र चौधरीसँग पनि स्पष्टीकरण मागिएको छ । लम्कीमा यसअघि नै प्रादेशिक अस्पताल उद्घाटन भइसकेको छ । लम्की अस्पतालले प्रादेशिक अस्पतालमा खटिएका कर्मचारीलाई जिन्सी तथा उपकरणसमेत बरबुझारथ गरिसकेको छ । यता उपप्रमुख जुना चौधरीले भने अस्पतालका कर्मचारीमाथि गरिएको कारबाहीबारे आफूलाई कुनै जानकारी नभएको बताइन् । ‘अस्पतालका कर्मचारी हटाउनेबारे नगरपालिकाले कुनै निर्णय गरेको छैन,’ उनले भनिन्, ‘म अस्पताल विकास समितिमा छैन । समितिको निर्णय भएको भए मलाई जानकारी छैन । मेयर साप विदेशमा हुनुहुन्छ भन्ने सुनेकी छु । यस विषयमा पनि औपचारिक जानकारी गराइएको छैन ।’

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १३ गते बुधबार