शुक्लाफाँटामा रास्वपाको ‘जनसंवाद यात्रा’



महेन्द्रनगर ।

नागरिकका समस्या, विकास निर्माण र गुनासा सुन्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा जनसंवाद यात्रा थालनी गरेको छ ।कञ्चनपुर निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य दीपकराज बोहराले शुक्लाफाँटा नगरपालिका–१ बाट जनसंवाद यात्रा शुभारम्भ गरेका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिद्वारा आयोजित जनसंवाद कार्यक्रममा प्रतिनिधिसभा सदस्य एवं राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य बोहराले निर्वाचन क्षेत्रका जनताको आवाज सुन्न, जनतासँगै समाधान खोज्न र जिम्मेवार राजनीतिक संस्कृतिलाई थप मजबुत बनाउन जनसंवाद थालिएको बताए ।जनसंवादको पहिलो दिन प्रतिनिधिसभा सदस्य बोहरासहित रास्वपाका नेताहरूले शुक्लाफाँटा नगरपालिका–१ बन्साह र वडा नं १२ कालागौडी क्षेत्रका नागरिकसित भेटघाटका साथै संवाद गरेका छन् ।

“हामी जवाफदेही छौँ, मत माग्न आउँदा जनताले जितेर फर्किँदैनन् कि भन्दै आशङ्का गरे”, उनले भने, “हामी अरु नेताजस्ता होइनौँ, हामी आउँछौँ । छ–छ महिनामा त सार्वजनिक सुनुवाइ गर्ने पनि भनेका छौँ ।” जनताप्रति उत्तरदायी भएर काम गर्ने बताउँदै सांसद बोहराले नागरिकका गुनासा सुन्न हरेक वडास्तरसम्म जाने बताउनुभयो । “वडा तहका कामलाई प्राथमिकता दिएर जनताको समस्या समाधानका लागि सक्रिय रहन्छौँ”, उनले भने ।

राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लाफाँटा नगर समितिका सभापति हरिश धामीले जनसंवाद निरन्तर अघि बढ्ने बताए । जनसंवाद यात्रामार्फत स्थानीय समस्या र समाधानका विषयमा छलफल भइरहेको उनको भनाइ छ । जनसंवाद शुभारम्भ कार्यक्रममा रास्वपाका केन्द्रीय सदस्य विजय जैरु, सुदूरपश्चिम प्रदेशका प्रवक्ता तेज ठकुल्ला, जिल्ला सचिव राकेश चन्द, निर्वाचन क्षेत्र नं २ का क्षेत्रीय सभापति गणेश खड्कालगायत नेता सहभागी थिए ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन ३ गते आइतबार