दाङ ।
दाङको तुलसीपुर उपमहानगरपालिका–११ र दङ्गीशरण गाउँपालिका–२ सरुवाडाँडा जोड्ने बबई नदीमाथिको झोलुङ्गे पुल पछिल्लो समय आकर्षक पर्यटकीय गन्तव्य बनेको छ । हरियालीले घेरिएको बबई नदीमाथिको ४०० मिटर लामो पुलमा दैनिक सयौं आन्तरिक पर्यटक पुग्ने गरेका छन् । विशेषगरी सूर्यास्तको दृश्य, नदीको छायाँ तथा प्राकृतिक सौन्दर्य अवलोकन गर्न आउनेहरू टिकटक बनाउन र तस्बिर खिच्न व्यस्त देखिन्छन् ।
गत वर्षको गर्मीयामदेखि चर्चामा आएको यो पुल हेर्न दाङसँगै सल्यान र रुकुमबाट पनि ठूलो सङ्ख्यामा आगन्तुक आउने गरेका छन् । सल्यानकी शारदा केसीले सामाजिक सञ्जालमा देखेपछि पुल अवलोकन गर्न आएको बताउँदै यस क्षेत्रलाई थप पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्ने बताइन् ।पत्रकार लक्ष्मण बस्नेतका अनुसार विसं २०७९ मा निर्माण भएको पुल गत वर्षदेखि चर्चामा आएको हो । गर्मीयाममा दैनिक एक हजारभन्दा बढी मानिस यहाँ पुग्ने गरेका थिए भने अहिले पनि बर्सातका बेला दैनिक पाँचदेखि छ सय जनासम्म अवलोकनका लागि आउने गरेका छन् ।
रु तीन करोड लागतमा निर्माण भएको पुलले स्थानीयको आवतजावत सहज बनाएको छ । स्थानीय करवीर चौधरीका अनुसार बिहान र साँझ पुलबाट देखिने मनमोहक दृश्यले आगन्तुकलाई आकर्षित गर्ने गरेको छ । स्थानीयले पुल आसपासको क्षेत्र व्यवस्थित गरी पर्यटकमैत्री पूर्वाधार विकास गर्न स्थानीय सरकार र निजी क्षेत्रसँग माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्