काठमाडौँ।
काठमाडौँस्थित पाकिस्तानी दूतावासले आइतबार ‘मार्का–ए–हक दिवस’लाई विशेष कार्यक्रम आयोजना गरी गम्भीरता र राष्ट्रिय गौरवका साथ मनाएको छ । नेपालका लागि पाकिस्तानका राजदूत अबरार एच हाश्मीले दूतावास परिसरमा आयोजित समारोहमा राष्ट्रिय झण्डा फहराएका थिए ।
कार्यक्रममा दूतावासका अधिकारीहरू, नेपालमा रहेका पाकिस्तानी समुदाय, उनीहरूका परिवार तथा पाकिस्तानका शुभेच्छुकहरूको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारी, प्रधानमन्त्री मोहम्मद शहबाज शरीफ तथा उपप्रधान एवं विदेशमन्त्री सिनेटर मोहम्मद इशाक डारका सन्देशहरू वाचन गरिएको थियो ।
राष्ट्रपति जरदारीले आफ्नो सन्देशमा ‘मार्का–ए–हक’ले पाकिस्तानको प्रतिरोध क्षमता केवल नारामा सीमित नभई व्यावसायिक दक्षता, सुरक्षा निकायबीचको समन्वय र जनताको दृढ संकल्पमा आधारित रहेको विश्वलाई देखाएको बताएका छन् । उनले देशका सुरक्षाकर्मी तथा सहिदहरूप्रति सम्मान व्यक्त गरेका थिए ।
प्रधानमन्त्री शहबाज शरीफले ‘योम–ए–मार्का–ए–हक’लाई अल्लाहप्रति कृतज्ञता व्यक्त गर्ने दिनका रूपमा उल्लेख गर्दै पाकिस्तानले कठिन परिस्थितिमा देखाएको साहस र शत्रुमाथि दिलाएको निर्णायक पराजयको स्मरण गर्ने अवसर भएको बताएका छन् । उनले स्थल, समुद्र, आकाश र साइबर क्षेत्रसम्म फैलिएको सुरक्षा संयन्त्रको समन्वित प्रतिक्रियाले पाकिस्तानलाई अजेय राष्ट्रका रूपमा स्थापित गरेको दाबी गरे ।
उपप्रधान तथा विदेशमन्त्री इशाक डारले दक्षिण एशियामा दीगो शान्तिका लागि जम्मु–कश्मीर मुद्दाको संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्का प्रस्तावअनुसार समाधान आवश्यक रहेको बताएका छन् । उनले पाकिस्तान संवाद, कूटनीति र पारस्परिक सम्मानमार्फत विवाद समाधानमा विश्वास गर्ने उल्लेख गरे ।
राजदूत हाश्मीले कार्यक्रममा सम्बोधन गर्दै पाकिस्तानको सार्वभौमसत्ता र भौगोलिक अखण्डताको रक्षाका लागि सशस्त्र बलले खेलेको भूमिकाको प्रशंसा गरे । उनले ‘मार्का–ए–हक’ पाकिस्तानको राष्ट्रिय एकता, दृढता र संकल्पको प्रतीक भएको बताए ।









प्रतिक्रिया दिनुहोस्