काठमाडौं ।
वर्षाका कारण बीपी राजमार्गको जोखिमलाई ध्यामा राख्दै सुरक्षा निकायले सवारी साधनकाे आवागमन बन्द गराएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलले उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मंगलटार सडकखण्ड दिउँसो ३ः३० बजेदेखि बन्द गराएको हो ।
वर्षाका कारण रोशी खोलामा ठूलो बाढी आएकाले सम्भावित जोखिम नहोस् भन्ने हेतुले आवागमन बन्द गराइएको प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए । उनका अनुसार राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधरणलाई अनुरोध गरिएको छ भने अर्को सूचना जारी नभएसम्म सो खण्डमा यात्रा नगर्न अपीलसमेत गरिएको छ ।
वर्षाका कारण रोशी खोलामा पानीको बहाव बढ्दा राजमार्गमा यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन बगाउने गरेको थियो । गत सालको बाढीपहिरोले रागमार्गको रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलाेमिटर सडक बगाएपछि डाइभर्सन निर्माण गरी आवागमन भइरहेको थियो ।
यस्तै, गत चैत तेस्रो साता पनि सोही क्षेत्रको विभिन्न स्थानको ४ किलाेमिटर सडक बगाएपछि पुनः अस्थायी डाइभर्सन निर्माण गरिएको थियो । यसैबीच राजमार्ग अबरुद्ध भएपछि सवारी साधनहरूलाई अहिले राजमार्गको प्रवेशमार्ग धुलिखेलको काभ्रेभन्ज्याङ र सिन्धुलीको नेपालथोकमा ‘होल्ड’ गरेर राखिएको छ ।
गत साल असोजको बाढी पहिरोले चौकीडाँडा–नेपालथोक सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त बनाएपछि खोलाबाटै अस्थायी सडक एवं डाइभर्सन बनाएर यातायातका साधन सञ्चालन गर्दै आइएको थियो । हाल साे क्षेत्रमा स्थायी सडक निर्माण भइरहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्