पोखरा ।
गण्डकी प्रदेशका पर्वत र बागलुङ जिल्लामा शनिबार चट्याङका छुट्टाछुट्टै घटनामा एक जनाको मृत्यु भएको छ भने एक युवती गम्भीर घाइते भएकी छन् ।
पर्वतको फलेवास नगरपालिका–५ मा चट्याङ लागेर खानीगाउँकी ५५ वर्षीया सीता लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घरभित्र बसिरहेको अवस्थामा एक्कासि परेको चट्याङले गम्भीर घाइते भएकी लामिछानेलाई उपचारका लागि प्रदेश अस्पताल पर्वत लगिएको थियो ।
उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । उता बागलुङको बडिगाड गाउँपालिका–१० पात्लेमा पनि चट्याङ लागेर १९ वर्षीया शर्मिला रसाइली गम्भीर घाइते भएकी छन् । शनिबार दिउँसो घरमै काम गरिरहेका बेला चट्याङ पर्दा उनी घाइते भएकी हुन् ।
उनलाई उपचारका लागि बुर्तिबाङ प्रादेशिक अस्पताल लगिएको प्रहरीले जनाएको छ ।चट्याङकै कारण बागलुङमा दुई बाख्रा र एक दुहुना गाईसमेत मरेका छन् । प्रहरीले दुवै घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । रासस








प्रतिक्रिया दिनुहोस्