नन्दराम जैशी । सुर्खेत ।
नेपाली राष्ट्रिय महिला फुटबल खेलाडी सिर्जना सिंहले महिलालाई खेलकुद क्षेत्रमा स्थापित हुन निकै संघर्ष गर्नुपर्ने बाध्यता रहेको बताएकी छन् । शक्ति र अवसरका माध्यमबाट महिला सशक्तीकरणका क्षेत्रमा काम गर्ने संस्था हिमशक्ति फाउण्डेशनका अध्यक्षसमेत रहेकी सिंहले खेलकुद र गुणस्तरीय शिक्षाको सन्तुलन कायम गर्नुपर्ने बताइन् ।
नेपाली समाजमा जरो गाडेको लैंगिक विभेद, खेल पूर्वाधारको अभाव र महिला प्रशिक्षकहरूको न्यूनता जस्ता चुनौती झेल्नु परेको उनको भनाइ छ । सोमबार वीरेन्द्रनगरमा फाउण्डेशनले आयोजना गरेको पत्रकार भेटघाटमा सिंहले खेल क्षेत्रमा प्रतिवान महिला खेलाडी उत्पादनमा आफूले काम गरिरहेको बताइन् । संस्थाले महिला खेलाडी उत्पादन गर्न विभिन्न कामहरू गर्ने उनको भनाइ छ ।
कर्णाली प्रदेशको दुर्गम जिल्ला कालीकोटबाट अवसरको अभाव, सामाजिक कुरीति र लैङ्गिक विभेदका बीच हुर्किएकी उनी राष्ट्रिय टोलीसम्म पुग्न निकै संघर्ष गर्नुपरेको थियो । ‘कर्णालीमा ‘१४÷१५ वर्षमै विवाह हुने चलन, सपना देख्न डराउने किशोरीहरू र अवसरको अभाव थियो,’ उनले भनिन्, ‘गाउँमा सरकारी विद्यालयमा पढ्दा दैनिक दुई घण्टा पैदल हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता थियो । अंग्रेजी भाषा र खेलकुदबारे कुनै जानकारी नभएको अवस्थामा पनि मैले समपना देखेँ र यो स्थानसम्म आइपुगेँ ।’
सुरुवाती दिनहरू निकै कठिन रहेको उनले स्मरण गराइन् । उनका अनुसार उतीबेला न पर्याप्त उपकरण, न प्रशिक्षक, न व्यवस्थित मैदान थियो । ढुंगालाई ‘कोण’ बनाएर खेल्ने, घण्टौँ पैदल हिँडेर अभ्यासमा जाने जस्ता व्यवधानबीच आफूले आफ्नो लक्ष्य पछ्याएको उनले बताइन् ।
‘मेहतनले केही वर्षमै विद्यालयस्तरीय खेल हुँदै राष्ट्रियस्तरसम्म पुग्न सफल भएँ । १८ वर्षमुनिको प्रतियोगितामा भुटानमा आयोजित साउथ एसिएन गेमबाट डेव्यु गर्दै उत्कृष्ट प्रदर्शन गर्न सफल भएँ,’ उनले थपिन्, ‘त्यसपछि नेपालको राष्ट्रिय महिला फुटबल टोलीमा डेव्यु गर्दै देशको प्रतिनिधित्व गर्ने अवसर पाएँ । तर महिला खेलाडीलाई अझै पनि परिवार र समाजबाट पूर्ण समर्थन पाइँदैन ।’
खेल खेल्न चाहाने धेरै दिदीबहिनीहरू सामाजिक डर र पूर्वाग्रहका कारण पछाडि हट्न बाध्य भएको उनले बताइन । उनका अनुसार खेलकुदमा लाग्ने महिलाका लागि सुरक्षित वातावरण, महिला प्रशिक्षक र पर्याप्त पूर्वाधार अत्यावश्यक छ । यी आधारभूत कुराहरू नहुँदा प्रतिभाशाली खेलाडीहरू ओझेलमा छन् ।
नेपालमा महिला खेलकुदको विकासका लागि नीतिगत सुधार, लगानी र सामाजिक सोचमा परिवर्तन अपरिहार्य रहेको बताइन् । अवसर र समर्थन पाए कर्णालीजस्ता दुर्गम क्षेत्रका छोरीहरूले पनि अन्तर्राष्ट्रियस्तरमा देशको नाम चम्काउन सक्ने उनको भनाइ छ । यही उद्देश्यसहित उनले नेतृत्व गरेको संस्था हिमशक्ति फाउण्डेशनले कर्णालीका छोरीलाई खेल क्षेत्रमा लाग्न हौसला र प्रेरणा दिइरहेको छ भने आवश्यक समाग्री पनि सहयोग गर्दै आएको छ । भविष्यमा थप काम गर्दै महिला खेलाडी उत्पादनमा लाग्ने संस्थाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्