दाङ ।
तुलसीपुर उपमहानगरपालिका–१४ मटेराकी ५५ वर्षीया माइली चौधरी कृषि पेसामा संलग्न छिन् । उनले यसपटक १५ क्वीन्टल तोरी उत्पादन गरी दुई लाख रूपैयाँभन्दा बढी आम्दानी गरेकी छन् । तोरीबाट मात्र होइन उनले चना, केराउ र मुसुरो खेतीबाट राम्रै आम्दानी गरेकी छन् ।
उनले त्यही जमिनमा यसअघि खेती गर्दा अहिले जस्तो आम्दानी गर्न सकेकी थिइनन् । हाल आएर लिफ्टिङ प्रविधिमार्फत सिँचाइ योजना सञ्चालनमा आएपछि उनले खेतीबाटै प्रशस्त आम्दानी लिन सफल भएकी हुन् । उनले भनिन्, “पहिले नौ बिघा जमिनमा तोरी चना र केराउ खेती गर्दा उत्पादन कम हुन्थ्यो । तर अहिले त्यही जमिनमा खेती गर्दा पहिलेको तुलनामा १० गुणा बढी उत्पादन हुन्छ ।”
सोही गाउँका ५० वर्षीय पुर्णबहादुर चौधरीले पनि यसवर्ष तोरी खेतीबाट राम्रो उत्पादन लिन सफल भएका छन् । उनले यसपटक १६ क्वीन्टल तोरी उत्पादन गरी प्रतिक्वीटल १४ हजार रुपैयाँका दरले घरबाटै बिक्री गरेको बताए। पहिले गाउँ नजिकै बबई नदी भए पनि सिँचाइ अभावका कारण मुस्किलले एक सिजनमा मात्र खेती हुन्थ्यो । आम्दानी खासै हुँदैनथ्यो । घरमा खान मात्र पुग्थ्यो ।
लिफ्ट सिँचाइ योजना सञ्चालन भएपछि पछिल्ला वर्षमा धेरै सजिलो भएको पूर्व वडा सदस्यसमेत रहेका चौधरीले बताए।माइली र पूर्णबहादुर दुई उदाहरण मात्रै हुन् । केही वर्षअघिसम्म एक सिजनमा मात्र खेती हुने मटेरिया गाउँका अधिकांश किसानले अहिले बाह्रै महिना खेती लगाउने गरेका छन् । हाल मटेरा गाउँ पकेट तरकारी खेतीका रुपमा परिचित छ ।
मेटेरा गाउँका १४० घरपरिवारले लिफ्ट सिँचाइ योजनाबाट लाभ लिइरहेका छन् ।बृहत सिँचाइ योजना दाङको एक करोड ५० लाख रूपैयाँ र गाउँलेको पाँच लाख रूपैयाँ बराबरको श्रमदानमा लिफ्ट सिँचाइ आयोजना निर्माण गरेपछि गाउँको मुहार नै फेरिएको हो । उक्त योजनाअन्तर्गत बबई नदीको पानीलाई करिब ६०० मिटर लम्बाइ रहेको लिफ्टमार्फत तानिएको छ ।
त्यसरी तानिएको पानीले करिब २०० बिघा जमिनमा सिँचाइ सुविधा पुगेको छ । जसमा १२० थारु समुदाय र २० घर अन्य समुदायले सो पानी सिँचाइका लागि प्रयोग गरेका छन् ।पानी तान्नको लागि विद्युत् नहुँदा सजिलो होस् भनी सोलर र विद्युत् दुवै प्रविधि जडान गरिएको छ । लुम्बिनी प्रदेश सरकारले मटेरा र सो गाउँसँगै रहेको लुहाडबरा गाउँलाई स्मार्ट कृषि गाउँ घोषणा गरी त्यहाँका किसानलाई तरकारी खेतीसम्बन्धी तालिम, अनुदानमा कृषि औजार, बीउविजनसमेत प्रदान गरेको थियो । रासस









प्रतिक्रिया दिनुहोस्