वीरेन्द्र जैसी । नेपालगन्ज ।
होटल पौवा नेपालको आतिथ्य क्षेत्रमा द्रुत गतिमा विस्तार भइरहेको एक स्वदेशी चेन होटल हो । १० वर्षअघि रूपन्देहीको सालझण्डीस्थित एउटा सातकोठे सानो घरबाट सुरु भएको यसको यात्रा एक दशकमा नेपालको प्रमुख हस्पिटालिटी ब्रान्डको रूपमा स्थापित भइसकेको छ । साथै होटलले आगामी १० वर्र्षमा एक सय वटा शाखाहरूमा विस्तार गर्ने लक्ष्यसहित लगानीकर्ताहरूको सम्मेलन गर्न लागेको जनाएको छ ।
१० वर्षभित्रकै लागि निर्धारण गरिएको उक्त लक्ष्यमा कोरोना महामारी तथा देशको आर्थिक सिथिलताले ढिलाइ भएको अध्यक्ष दुर्गा भण्डारी बताउँछन् । होटल पौवाको स्थापना र विस्तारको कथा करिब ११ वर्षअघि ‘पैँचोे’ नामक गाउँका अर्गानिक खाद्यवस्तुको प्याकेजिङ र बजारीकरण गर्ने व्यापारबाट सुरु भएको थियो ।
‘बसे पनि सहर, गाउँकै खाने रहर’ भन्ने मूल नारासहित हरेक सहरमा बिक्री केन्द्र खोल्ने, गाउँगाउँमा संकलन केन्द्र स्थापना गरेर किसान र उपभोक्तालाई प्रत्यक्ष जोड्ने योजना अगाडि सारेको ‘पैँचोे’ पसलले देशदेखि विदेशसम्म गाउँका उत्पादनहरू पु¥याउँदै आएको छ । पैँचोले स्वदेशमा नै उत्पादित मकै, चुक, आँपको अचार, पिठो, हरियो सागसब्जी, अमला, निगुरो, केराको बुङ्गो, अकबरे खुर्सानी, मरौटी, अमलाजस्ता कृषि उपजलाई स्वदेशी बजारमा अलावा विदेशी बजारमा समेत बिक्री गर्दै आएको छ ।
मरौटी चिकेन त ब्राण्ड नै बनिसकेको छ भने पौवाले मरौटी चिकेनको विशेष ‘मेन्यू’ नै राखेको छ । सोही पैँचो ब्राण्डमा स्थानीय र मौलिक परिकारहरू बिकेको र तिनको माग प्रायः होटलहरूमा भएको देखेपछि आफैँ किन होटल नखोल्ने भनेर पैँचोकै टिमले होटल पौवाको अवधारणा अघि सारेको उनले बताए । कम्पनीले अध्यक्ष दुर्गाप्रसाद भण्डारी, उपाध्यक्ष ध्रुवराज न्यौपाने र प्रबन्ध निर्देशक विष्णु ज्ञवालीको नेतृत्वमा पौवाको विस्तार छोटो समयमै देशभर फैलिएको छ ।
सुरुवाती एक शाखाबाट सुरु भएको पौवा अहिले देशका विभिन्न स्थानहरूमा फैलिसकेको छ । पौवाको विस्तार पूर्वदेखि पश्चिमसम्मका प्रमुख पर्यटकीय र धार्मिक स्थलहरूसम्म छ । बुटवल, भैरहवा, सालझण्डी, तानसेन, भालुवाङ, नेपालगन्ज, धनगढी, पोखरा, काठमाडौँ, चितवन, जनकपुर, सिन्धुली, खोटाङ, जुम्ला र सुर्खेत लगायतका महत्वपूर्ण स्थानमा पौवको सेवा सञ्चालनमा छ ।
पौवाको सफलताको अर्को महत्त्वपूर्ण पक्ष भनेको यसको सामूहिक लगानी मोडेल हो । होटलले आफ्ना कर्मचारीहरूलाई पनि लगानीमा सहभागी गराइरहेको छ । अहिले नै ७० भन्दा बढी कर्मचारीहरू लगानीकर्ता पनि छन् । अध्यक्ष भण्डारी भन्छन्, ‘कर्मचारीहरूलाई नै लगानीकर्ता बनाउँदा उनीहरूलाई आफू पनि साझेदार र परिवारको सदस्यजस्तो महसुस गराउँछ ।
आम्दानी पनि राम्रो हुने भएपछि उनीहरूले स्वदेशमै आफ्नो भविष्य देख्छन् । जसले दिगो रोजगारीको वातावरण पनि बनाउँछ ।’ पौवाले साना–साना लगानीहरू जम्मा गरेर ठूलो व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । अध्यक्ष भण्डारी भन्छन्, ‘एक जनाले मात्रै लगानी गरेर यति ठूलो ब्राण्ड बनाउन सकिने थिएन । हामीले सामूहिक लगानीलाई प्रवद्र्धन गरेकै कारण पनि यो सफलता प्राप्त भएको हो।’
पौवाको अर्काे विशेषता नेपाली संस्कृति, परम्परा र रैथाने स्वादलाई प्राथमिकता दिनु पनि हो । होटलले ‘अतिथि देवो भव’को संस्कारलाई आत्मसात् गर्दै, रैथाने परिकारहरू, परम्परागत सजावट र नेपाली चाडपर्वहरूमा विशेष कार्यक्रमहरू आयोजना गर्दै आएको छ । पौवा केवल व्यवसायमा मात्र सीमित नभई सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थ्य र विपद् व्यवस्थापन जस्ता क्षेत्रहरूमा पनि सहयोग पु¥याउँदै आएको अध्यक्ष भण्डारीको भनाइ छ ।









प्रतिक्रिया दिनुहोस्