धेरैले आफ्नो खाइनखाइ गरेर जोगाएका पैसा सेयरमा हालेर आर्थिकस्तर बढाउन खोजेका छन् । सानो सानो जागिरदेखि मकै पोलेर, चिया बेचेर आर्जन गर्नेहरू पनि सेयर बजारमा छन् । फोहोर सफा गर्नैपर्ने थियो । देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे–लिष्टबाट हटाउन पनि वित्तीय अपराधमाथि कार्बाही जरुरी थियो । त्यो सुरु भएको छ । धेरै व्यवसायीहरू पनि सम्पत्ति शुद्धीकरणको छानबिनको दायरामा आउने डरले पनि बजार घटेको हो ।
रिसव गौतम
निर्वाचान हुने सुनिश्चित भएर काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाह रास्वपामा प्रवेश गरेपछि सेयर बजार एक्कासि ४७.५५ अंकले बढेको थियो । त्यसअघि त्यही पुस महिना र अघिल्ला महिनाहरूमा पनि सेयर बजार करिब निदाएको थियो । लगानीकर्ता निराश थिए । रास्वपामा बालेन्द्रको मिलनपछि उत्साहित बजार चुनाव नजिकिँदै गर्दा बढ्दै गइरहेको थियो । फागुन २१ गतेको निर्वाचनमा नयाँ भनिएको र ‘जान्नेलाई छान्ने’ नारासहित घण्टी चिन्ह लिएर निर्वाचनमा होमिएको दल रास्वपाले करिब दुईतिहाइ (१८२ सिट) बहुमत ल्यायो । निर्वाचनपछि खुलेको बजारले त झन् भावी प्रधानमन्त्री बालेन्द्र शाहलाई अघि सारेको रास्वपाको जितलाई एकैदिन ३ हल्ट हानेर स्वागत ग¥यो । बजार एकैदिन ६ प्रतिशत अर्थात् १६२ अंकले बढ्यो । त्यसपछि थोरै करेक्सन हुँदै बढ्ने क्रममै रहेको सेयर बजार बालेन्द्र नेतृत्वको सरकार बनेपछि भने निरन्तर घटिरहेको छ । १३ गते नयाँ सरकार बनेपछिको ४ कारोबार दिनमा भने बजार १७४ अंकले घटिसकेको छ र लगानीकर्ता निराश छन् । दुईतिहाइ बहुमतप्राप्त सरकार बनेपछि बजार घट्नु दुई वटा कारण महत्वपूर्ण देखिन्छन् । पहिलो कारण सरकार गठन भएकै दिन मन्त्रीपरिषद्बाट पास भएको सरकारको १०० कार्यसूची हो । जहाँ ०४७ सालयताका उच्चपदस्थ कर्मचारी, सासंद, मन्त्री तथा प्रधानमन्त्रीको सम्पत्ति आयोग बनाएर छानबिन गरिने कुरा आएको छ । सम्पत्ति शुद्धीदकरणको कुरा व्यापक कार्यान्वयनमा लैजाने कुरा आएको छ ।
त्यसलगत्तै जुनै सरकार आए पनि त्यसलाई प्रभावमा राखेर बिचौलिया धन्दा चलाएर अकुत आर्जन गर्दै आएको आरोपमा दिपक भटट् र अग्रवाल थरका उनका साझेदारहरूका वित्तीय अपराधको अनुसन्धान सुरु भएका छन् । त्यसैगरी व्यवसायी तथा पूर्वमन्त्री दिपक खड्का पनि सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि यसबीच पक्राउ परे ।
तीसँगै धेरै सेयर बजारसँग जोडिएका कतिपय अरु व्यापारीहरू पनि तानिने व्यापक हल्लाहरू भए । खासगरी दिपक भट्ट र तिनका साझेदारहरूका रकम सेयर बजारका कतिपय कम्पनीहरूमा भएको पाइएकाले पनि बजार तीव्र घटेको हो । नेपाल जस्तो वित्तीय अपराध, अनियमितता र भ्रष्टाचारको दुश्चक्रमा परेको देशमा दिपक भट्टहरू अरु धेरै होलान् । त्यस्ता अपराधको माध्यमबाट आर्जित धन सेतो बनाउने थलो सेयर बजार पनि बन्ने गरेको अनुमान धेरैका छन् । त्यस्तो परिस्थितिबाट गुज्रँदै आएको बिचौलियाहरूले नै चलाएको देशमा सरकारले पहिलो दिनदेखि नै त्यस्ताहरू खोज्न थालेपछि बजार घट्ने नै भयो । त्यसकारण यो बजार त्यस्तै बिचौलियाहरूले आत्तिएर सेयर घटाएर भए पनि बेच्न थालेपछि घटेको हो । तर बजारका असल एवं व्यावसायिक लगानीकर्ताहरू आत्तिनु पर्ने छैन । बालेन्द्र सरकारले वास्तवमा वित्तीय अपराधमा संग्लनहरूलाई सुरुदेखि नै कार्बाही गर्न थालेको हो । त्यो अत्यन्त सराहनीय काम हो । अझ सकिन्छ भने हरेक नेपालीको आम्दानीको अडिट हुनुपर्छ र देशलाई सङ्लो पानीझैँ वित्तीय रूपमा सफा बनाउन जरुरी छ । त्यसकारण अहिलेको घटाइ वित्तीय बजारको फोहोर कुडार सफा गर्न खोज्दाको परिणाम हो । सेयर बजारमा सबै त्यस्ताहरू छैनन् । त्यस्ताहरू भनेको सीमित छन् । ६३ लाख मानिस बजारसँग जोडिएका छन् । धेरैले आफ्नो खाइनखाइ गरेर जोगाएका पैसा सेयरमा हालेर आर्थिकस्तर बढाउन खोजेका छन् । सानो सानो जागिरदेखि मकै पोलेर, चिया बेचेर आर्जन गर्नेहरू पनि सेयर बजारमा छन् । फोहोर सफा गर्नैपर्ने थियो । देशलाई सम्पत्ति शुद्धीकरणको ग्रे–लिष्टबाट हटाउन पनि वित्तीय अपराधमाथि कार्बाही जरुरी थियो । त्यो सुरु भएको छ । धेरै व्यवसायीहरू पनि सम्पत्ति शुद्धीकरणको छानबिनको दायरामा आउने डरले पनि बजार घटेको हो ।
बालेन सरकारले त्यसको थालनी डे वानदेखि गरेको छ । हामीले के बुझनु पर्छ भने हाम्रा घरहरू जति नै नयाँ, भव्य वा आकर्षक भए पनि फोहोर एवं दुर्गन्धित भयो भने त्यहाँ बस्न सकिँदैन । तर घर परम्रागत भए पनि वा पुराना भए पनि सफा एवं चिटिक्क भयो भने बस्नलायक हुन्छ र बस्न सकिन्छ पनि । त्यसकारण आर्थिक अपराध, अपचलन, ठगी, बेइमानी र भ्रष्टाचारहरूको सफाइ जरुरी छ । त्यसमाथि कार्बाही भएन भने त्यसले सेयर बजार मात्र होइन् समाजलाई नै निकम्मा बनाइदिन्छ । त्यसकारण ती कदम ढिलो चाँडो उठाउनु नै थियो । बालेन सरकारले शपथ खाएको पहिलो दिनबाटै सुरु गरेको छ । त्यो अत्यन्त राम्रो हो । तर यस्ता कदमहरू भेदभावरहित ढंगले र पूर्णता पाउने गरी सतत अघि बढाउनु पर्छ । र, त्यसलाई निष्कर्षमै पुराउनु पर्छ । कतै अपलपत्र पार्नु हुँदैन । माफिया र बिचौलियाहरूको खोजी र तिनका वित्तीय अपराधमाथि अंकुश नलगाई सेयर बजारको दिगो भविष्य पनि हुँदैन । त्यसकारण साना तथा व्यवसायिक लगानीकर्ताहरूले आत्तिएर सेयर बेच्न जरुरी छैन् । बरु सेयर किन्ने बेला छ अहिले । किनकी सरकारले राम्रो संकेत देखाएको छ । १०० कार्यसूचीमा अर्थतन्त्र सुधारका धेरै कुरा आएका छन् । निजी व्यावसायिक संस्थाहरू लगानीका लागि हौसिएका छन् । विदेशमा रहेकाहरू पनि अलिकति राम्रो भए सम्पत्ति यतै ल्याएर केही गर्नेगरी सरकारको कार्यसम्पादन हेरिरहेका छन् । सरकारले अनावश्यक संघ संस्था तथा खर्च कटौती गरेर डुबेका संस्थानहरू चलाउने, विकास निर्माणमा स्रोत जुटाउने जुक्तिहरू निकालिरहेको देखिन्छ । खासगरि ती काममा अन्तर्राष्ट्रिय रूपमा ख्याती कमाएका अर्थविद् अर्थमन्त्री डा स्वर्णिम वाग्ले लागिरहेका देखिन्छन् । त्यसकारण लगानीकर्ताहरू आत्तिने हैन, बरु आशावादी हुने समय छ् ।
अर्को, बजार अहिले घट्नुको दोश्रो कारण रास्वपाले वाचापत्रमै करार गरेका गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्नुले हो । नयाँ सरकारले जेनजी आन्दोलनको जगमा भएको निर्वाचनबाट अनुमोदित भएपछि त्यो प्रतिवेदन कार्यान्वयनमा लैजानु नौलो कुरा होइन् । सो निर्णयपछि नयाँ गृहमन्त्री तथा जेनजी आन्दोलनका अगुवा सुधन गुरुङ रकेट गतिमा प्रतिवेदन कार्यान्वयन गर्न लागे । आन्दोलनमा लापरवाही गरेर हिंसा भएको भन्दै ज्यान मुद्दामा अनुसन्धानका लागि पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र सो बेलाका गृहमन्त्री रमेश लेखकलाई सरकारले गिरफ्तार ग¥यो । ओलीको गिरफ्तारीसँगै एमालेले आन्दोलनका कार्यक्रमहरू सार्वजनिक ग¥यो । त्यसले पनि बजारमा अन्यौल र त्रासदी बढ्यो र बजार घट्ने कारण बन्यो । तर एमाले काँगे्रस जस्ता जिम्मेवार पार्टीले कानुनलाई सघाएर आन्दोलनका गतिविधिहरू रोक्नु पर्छ र विषय त्यतै गएको पनि छ । उल्लेखित दुवै घट्नाक्रम सेयर बजारमा पहिरो गएको हो । तर त्यो दिगो हुँदैन । केहि दिन, हप्ता वा महिनामा विगतका धेरै फोहोरहरू सरकारले सर्फा गर्नेछ । त्यसपछि सेयर बजारले रकेट गति लिनेमा दुइमत छैन । किनकी, एकातिर दुईतिहाइ बहुमतसिद्ध राष्ट्रिय स्वतन्त्र पार्टीको नयाँ सरकार बनेको छ । १५ मन्त्रालयमा ४० वर्षमुनिकै ९ मन्त्रीहरू सहभागी बालेन नेतृत्वको सरकारमा पढेलेखेका जोशिला युवाहरूको बाहुल्यता छ । त्यसकारण पनि सेयर बजारलाई एक किसिमको आशा छ । नयाँ भनिएका र धेरैजसो पढेलेखेका युवाहरू आइरहँदा बजारले आश गरेको छ । आर्थिक रूपमा देशले परिवर्तन पाउने जनतामा आशा छ ।
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)









प्रतिक्रिया दिनुहोस्