बुढीगंगा नदीमा रहेको बेलिब्रिज दानसाँघु खोलामा सारिँदै



बाजुरा ।

बाजुराको जडाङ्गास्थित बुढिगंगा नदीमा रहेको बेलिब्रिज खोल्ने काम सुरू भएको छ । यो बेलिब्रिज कोल्टीको दानसाँघु खोलामा सार्न लागेको हो । बाजुराको जडाङ्गास्थित बुढीगंगा नदीमा रहेको उक्त बेलिब्रिज दानसाँघु खोलामा स्थानान्तरणको कार्यको थालनी गरिएको जनाएको छ ।

मार्तडी कोल्टी सडकअन्तर्गत जिल्लाको पूर्वोत्तर क्षेत्रमा पर्ने बुढीनन्दा नगरपालिका–२ स्थित दानसाँघु खोलामा सार्ने तयारीका साथ बेलिब्रिज खोलेर ढुवानीको कार्य भइरहेको सडक डिभिजन कार्यालय अछामले जनाएको छ । साँफे–मार्तडी सडकखण्डअन्तर्गत जडाङ्गास्थित बुढिगंगा नदीमा रहेको प्रयोगविहीन बेलिब्रिजलाई हाल दानसाँघु खोलामा स्थानान्तरण गर्न थालिएको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख जनककुमार बोहराले बताए ।

नगरप्रमुख बोहराले जिल्लाको पूर्वोत्तर क्षेत्रका चार वटा स्थानीय तहका साथै हुम्ला र मुगुका बासिन्दाको आवागमन सहज बनाउन उक्त पुल स्थानान्तरण कार्य भइरहेको बताएका छन् । बुढीनन्दा नगरपालिकाको पहल तथा सडक डिभिजन कार्यालय साँफेबगरको आर्थिक सहयोगमा पुल स्थानान्तरण कार्य अघि बढाइएको उनले जानकारी दिए ।

पछिल्ला पाँच वर्षदेखि उक्त पुल जडाङ्गा खोलामा अलपत्र अवस्थामा थियो । सुरुमा त्यहाँ पक्की पुल नहुँदा बेलिब्रिज सञ्चालन भएको भए पनि पछि नजिकै पक्की पुल निर्माण भएपछि यो प्रयोगविहीन बनेको थियो । सडक डिभिजन कार्यालय अछामका अनुसार करिब २ करोड २२ लाख रूपैयाँँको लागतमा जडाङ्गाबाट दानसाँघु खोलामा बेलिब्रिज स्थानान्तरणको काम भइरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार