कुनै समय नेपाली क्रिकेटभित्रको गलत राजनीति र खिचातानीले गर्दा नेपाल क्रिकेट संघ मात्र नभई खेलाडीहरू समेत मर्कामा परेका थिए । न खेल्ने राम्रो खेल मैदान नै थिए, न त शरीरलाई आवश्यक डाइट नै उपलब्ध हुन्थ्यो । दुःखका साथ भन्नुपर्छ नेपाली खेलाडीहरू एक प्लेट चना र अण्डाको भरमा खेल खेल्ने गर्थे । नेपालको शिर उचो राख्न खेलाडीहरूले आफूले सक्ने र क्षमताले भ्याएसम्म खेल खेले । समयक्रमअनुसार पछिल्लो समय नेपाली क्रिकेटमा नयाँ नेतृत्वको आगमन र भौतिक संरचना निर्माण भएसँगै नेपाली क्रिकेटको नयाँ अध्याय सुरु भएको छ । नेपाल क्रिकेट संघमा खेल क्षेत्र बुझेका र सही नेतृत्वहरूको आवगमनले थप पछिल्लो समय नेपाली क्रिकेटले राम्रो छाप छाड्न सफल भएको छ । अहिले नेपाली क्रिकेटको विकाससँगै विश्व क्रिकेट जगतमा नेपाली क्रिकेटको चर्चा चुलिएको छ । अर्काेतर्फ नेपाली क्रिकेट र खेलाडीहरूलाई हेर्ने दृष्टिकोण पनि बदलिँदै गएको छ । जसका कारण पछिल्लो समय नेपाली क्रिकेटको विकासले नेपाली राष्ट्रिय खेलाडीहरू विदेशी ठूला लिगहरू खेल्ने अवसहरू पाइरहेका छन् ।
सबैभन्दा धेरै विदेशी ठूला लिग खेल्ने पहिलो नेपाली खेलाडी सन्दीप लामिछाने हुन् । उनले क्रिकेटको सबैभन्दा ठूलो पुरस्कार धनराशीको र चर्चित लिग आएपीएल, बीपिएल लगायतका धेरै विदेशी लिगहरू खेलिसकेका छन् । भर्खरै मात्र उनीसहित नेपालका ८ जना राष्ट्रिय खेलाडीले बेल्जियमको इयू टी–२० लिग खेल्ने भएका छन् । कप्तान रोहित पौडेल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, अनिलकुमार साह, गुल्सन झा, ललितनारायण राजवंशी, ईशान पाण्डे र आसिफ शेखले लिग खेल्ने भएका हुन् । पहिलो पटक नेपालको लिगबाहेक एकैपटक यति धेरै सङ्ख्यामा नेपाली खेलाडीले खेल्न लागेको यो पहिलो विदेशी लिग पनि हो । बेल्जियमको राजधानी ब्रसेल्समा भएको ड्राफ्टबाट ६ जना नेपाली खेलाडीलाई टोलीले मंगलबार आबद्ध गरेको हो । यसअघि लामिछाने र ऐरी टोलीमा आबद्ध भइसकेका थिए । विदेशी लिगहरू नेपाली खेलाडीहरू बिक्री हुनु सुखद पक्ष हो । अर्काेतर्फ नेपाली क्रिकेट खेलाडीहरू खेल कौशलता र क्षमता पनि कम छैन भनेर प्रमाणित भएको छ । विदेशी लिगहरूका नेपाली खेलाडीहरूले आफ्नो क्षमता प्रर्दशन गर्ने मात्र नभई नेपाललाई पनि चिनाउन मद्दत पुग्ने देखिन्छ । यस्ता लिगहरूमा खेलाडीहरू बिक्री हुँदा व्यवसायी खेल क्षेत्र फस्टाउने र नेपाली क्रिकेटको विश्वास हुनेमा दुई मत छैन् ।
विदेशी लिगहरूमा टेस्ट राष्ट्रका खेलाडीहरू र फरक पिचमा खेल्ने बानिको विकाससँगै अनुभव बटुल्ने सुनौलो अवसर पनि हो । राज्यले पनि नेपाली क्रिकेटको विकास सँगसँगै लगानी पनि बढाउन आवश्यक देखिन्छ । अहिले पनि नेपालमा एउटा राम्रो क्रिकेट रंगशाला नहुँदा पनि विश्वमञ्चमा खेलाडीहरूको प्रदर्शनले सबैको मन र खेलहरू जितिरहेका छन् । तीन तहको सरकारले तल्लो तहदेखि क्रिकेटको विकास र खेलमैदान निर्माणमा बजेटको विनियोजन गर्न आवश्यक देखिन्छ । विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली खेलाडीहरू सधैँ भौतिक पूर्वाधार र आर्थिक रूपमै मारमा पर्दै आइरहेका छन् । अहिले खेलाडीहरूलाई क्रिकेट संघले ग्रुपमा विभाजन गरेर तलबको समेत निर्धारण गरेको छ । विगतका वर्षहरूभन्दा सेवासुविधा राम्रो भए पनि अझ धेरै कुराहरू नेपाली खेलाडीहरूले पाउन सकिरहेका छैनन् । क्रिकेट संघले पनि एनपीएल, पिएम कप जस्ता प्रतियोगिताहरू सञ्चालन गर्दा खेलाडीहरूलाई आर्थिक र अनुभव बटुल्ने अवसर पाइरहेका छन् । विगत लामो समयदेखिको नेपाली क्रिकेटको इतिहासलाई आत्मसात् गर्दै नयाँ इतिहासहरू थपिँदै गइरहेका छन् । समयको चक्रसँगै स्वदेशमा मात्र नभई विदेशका ठूला लिगहरूमा नेपाली खेलाडीहरूको सहभागिताले नेपालको र नेपाली क्रिकेटको शिर उचो भएको छ । विदेशी लिगमा ८ जना मात्र नभई सबै खेलाडीहरू खेलको देख्न पाइयोस् शुभकामना ।









प्रतिक्रिया दिनुहोस्