नेपालमा भलिबल, फुटबल, क्रिकेट लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना हुने गर्दछन् । अन्य खेलकुदभन्दा विशेषगरी भलिबल, फुटबल र क्रिकेट खेलमा युवाको आकर्षण बढी देखिन्छ । खेलकुदले व्यक्तिको स्वास्थ्य अवस्था राम्रो र स्वस्थ मात्रै नबनाएर उनीहरूको शारीरिक, मानसिक, व्यक्तिगत अवस्थामा समेत सकारात्मक प्रभाव पारेको हुन्छ । खेलकुदले हरेक व्यक्तिलाई अनुशासनमा राख्न मद्दत गर्दछ । पछिल्लो समयमा युवा पिँढीहरू विभिन्न लागूपदार्थका कुलतमा फस्दै गएका पाइन्छन् । ती युवाहरूलाई खेलकुदमा लाग्न प्रोत्साहन गरेमा उनीहरूको भविष्य पनि बन्ने र खेलकुदमार्फत समाज तथा देशकै नाम राख्न सक्ने देखिन्छ । विभिन्न प्रकारका खेलकुद प्रतियोगिताहरू निरन्तर आयोजना हुन जरुरी छ । खेलकुद प्रतियोगिताले केवल खेलाडीको मात्र आर्थिक अवस्था नसुधारेर व्यापार तथा पर्यटनसँग पनि जोडिएको हुन्छ । खेलकुदमार्फत स्थानीय व्यापार तथा पर्यटन प्रवर्धन गर्न सकिन्छ । कोहलपुरमा भर्खरै मात्र एउटा क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । यो प्रतियोगिताले खेलकुदमार्फत कोहलपुरलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुराएको छ । यस प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका विभिन्न खेलाडीहरूले समेत भाग लिए । यसले गर्दा पनि यो प्रतियोगिताको स्तर अझ माथि बढाउन सफल भएको छ ।
गत फागुन २८ गतेदेखि कोहलपुरस्थित कोहलपुर क्रिकेट रंगशालामा सञ्चालित क्याम्पा कोहलपुर प्राइड लिग (केपीएल) प्रतियोगिता चैत २ गते सम्पन्न भएको छ । यो प्रतियोगितालाई अत्यन्तै सकारात्मक मान्न सकिन्छ । यसले नयाँ खेलाडी उत्पादन गर्न, कोलहपुरलाई बाह्य संसारमा चिनाउन तथा खेलाडीहरूलाई खेलप्रति प्रोत्साहन गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । खेलमा सरकारले लगानी बढाउन आवश्यक छ । संसारका अन्य देशहरू खेलकुदमार्फत विश्वमा चिनिएका छन् । खेलकुदमार्फत त्यहाँको पर्यटन विकास गर्नमा ठूलो योगदान दिएका छन् । नेपालमा पनि केन्द्रीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले विभिन्न खेलकुद प्रतियोगिताहरू आयोजना गर्न आवश्यक छ । युवा पिँढीलाई खेलकुदमा लाग्नका लागि विभिन्न प्रोत्साहनका कार्यक्रमहरू सञ्चालन गर्न जरुरी छ । खेलकुदमा युवाहरूको भविष्य छ भनेर उनीहरूलाई विभिन्न किसिमका तालिमहरू प्रदान गर्न आवश्यक छ । समग्रमा भन्नुपर्दा विभिन्न खेलकुदका विधामा आवश्यक लगानी गरि खेलकुदमार्फत समाज र देशको नाम उचो राख्नका लागि आवश्यक भूमिका निर्वाह गर्न जरुरी छ । नेपालमा स्थानीय सरकारहरूले केही बजेट खेलकुदमा छुट्याउने गरेको पाइन्छ । तर यो अझै पनि अपर्याप्त देखिन्छ । खेलकुदको समग्र विकासका लागि स्थानीय सरकारहरूले अझै महत्वपूर्ण भूमिका निर्वाह गर्न आवश्यक छ ।
दक्ष खेलाडी उत्पादन गर्नका लागि सरकारले खेलकुद क्षेत्रमा अझै थप लगानी बढाएर उनीहरूको भविष्य समेत खेलकुद क्षेत्रमै सुनिश्चित गर्न पहल गर्न आवश्यक छ । खेलकुद क्षेत्रको समग्र विकासका लागि खेलाडी उत्पादन गरेर मात्र पनि हुँदैन । खेलाडीहरूले अभ्यास गर्नका लागि आवश्यक पूर्वाधारको समेत आवश्यक पर्दछ । तसर्थः आवश्यक पूर्वाधार निर्माणमा पनि लगानी बढाउन आवश्यक देखिन्छ । आवश्यक पूर्वाधार निर्माण गरि तल्लो तहसम्म खेलकुदका विभिन्न गतिविधिहरू नियमित सञ्चालन गर्दै खेलाडीको क्षमता अभिवृद्धि गर्न पनि जरुरी देखिन्छ । पछिल्लो समयमा आम नागरिकको पनि खेलकुद क्षेत्रमा चासो बढ्दै गएको पाइन्छ । खेलाडीहरूलाई संस्थागत र व्यवसायिक रूपमा अगाडि बढाउन विभिन्न किसिमका कार्यक्रमहरूको आवश्यकता छ । खेलकुदसँग आबद्ध भएका विभिन्न संघसंस्थाहरू पछिल्ला समयमा खेलकुदको प्रवद्र्धन गर्नुभन्दा पनि आफ्ना मान्छेहरूलाई भर्ती गर्ने र राजनीतिक थलोका रूपमा प्रयोग समेत गर्दै आएको देखिन्छ । यस कार्यलाई पूर्णरूपमा निरुत्साहित गर्न आवश्यक छ । क्षमता भएका खेलाडीहरूलाई स्थान दिनु आवश्यक छ । खेलमार्फत समाज र देशलाई विश्वमा चिनाउनका लागि सरकारले महत्वपूर्ण भूमिका खेल्न आवश्यक छ । हाल गरिरहेको लगानीलाई थप बढाएर खेलकुद क्षेत्रमा युवा पिँढीलाई अवसर दिन विभिन्न प्रोत्साहन कार्यहरू गर्न आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्