अर्थमन्त्रीमा स्वर्णिमको प्रतिक्षाः अर्थतन्त्रमा बज्ला समृद्धको घण्टी ?



रिसव गौतम

निर्वाचनको प्रचार प्रसारको दौरानमा अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई साक्षी राखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवी लामिछानेले ‘डाक्टर साब नयाँ बजेटको खाका कोर्न सुरु गर्नुस्’ भनेको कुरा जनजनमा गुन्जियो । त्यसैले त होला तनहुँका मतदाताले वाग्लेलाई यसपटक पनि भारी मतले जिताए । आफ्नै निर्वाचन क्षेत्रका उम्मेदवार अर्थमन्त्री बन्नेछन् भन्ने भएपछि मतदाताले नजिताउन पनि कसरी ? त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले लोकप्रिय युवा एवं काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन शाहलाई भावी प्रधानमन्त्रीको रुपमा उभ्याएपछि सिँगै देश घण्टीमय भयो । अर्थात नयाँ गर्छौँ भन्ने पात्रहरुसँग देशले धेरै आश ग¥यो । त्यसकारण देशभर घण्टी बज्यो । बालेन र स्वर्णिम मात्र होइन् देशभर घण्टी बज्नुमा रवीले पुराना दलहरुबाट पाएको सास्ती पनि अर्को कारण हो । भए नभएका मुद्दा मामिलाको उल्झनमा अड्काएर भर्खरै जन्मिएको पार्टीलाई अघि बढ्न नदिने पुरानाहरुको अभिष्ट कालान्तारमा असफल भयो । अर्को, रवीसँग अन्याय, अत्याचार, गरिबी, रोग, भोक र पीडाहरु संगालेर निम्छरो जीवन बाँचेकाहरुको ठूलो आशा देखिन्छ । फलतः देशभर बण्टी बज्यो । मतदाताहरुले मुलतः यिनै र यस्तै पात्र हेरेर भोट हाले। उसका देशभरका उम्मेदवारले जित निकाल्न सफल भए । र, उनीहरु प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा पुगे ।

अब जुन हिसाबले निर्वाचनपूर्व राष्ट्रिय स्वतन्त्र पार्टीको अर्थमन्त्री र प्रधानमन्त्री फलानो फलानो हुनेछन् भनेर प्रचार गरियो । त्यही हिसाबमा मन्त्रीमण्डल बनोस् भनेर धेरैले चाहेका छन् । अझ देश विकासको महत्वपूर्ण बागडोर सम्हाल्ने अर्थमन्त्रीमा प्रचार गरिएजस्तै स्वर्णिम वाग्लेको प्रतीक्षा अर्थतन्त्र र शेयर बजारले गरेको छ । सिँगै देशको बजेट बनाउने जिम्मेवारी रहने अर्थ मन्त्रालयमा यसपटक अन्तर्राष्ट्रियस्तरमा परिचित अर्थशास्त्री तथा रास्वपा नेता स्वर्णिम वाग्ले पुग्दैछन् । विश्वविख्यात भनिएका युर्निभर्सिटीहरुमा पढेका, विश्व बैंक तथा युएनडिपी जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा सल्लाहकारको रुपमा काम गरेका वाग्लेलाई पनि काम देखाउने मौका छ । सायद आफैँ अर्थमन्त्री हुने दिनहरुको प्रतीक्षामा विगतका सरकारहरुलाई उनले खासै गम्भीर सल्लाह दिएनन् । आफैँले ठाउँमा पुगेपछि काम गर्नुपर्छ भनेर पनि होला विगतका सरकारहरुलाई आफ्नो विज्ञताको पोको फुकाएनन् । साह्रै बाठा स्वभावका वाग्ले धेरैजसो अन्तर्राष्ट्रिय अर्थतन्त्र र गतिविधिमा रुची राख्छन् । उनलाई खुद्रा मसिना विषयमा रुची नै छैन भन्दा पनि हुन्छ । खासगरी नेपाली मिडियाहरुमा पनि उनले अन्तर्वार्ताबाहेक आर्टिकल लेखेनन् । बरु विदेशी मिडियाहरुमा उनको रुची देखिन्छ र तिनैका सन्दर्भहरु कोट्याएका देखिन्छन् । जे होस् उनलाई सामाजिक सञ्जालमा पछ्याउँदा विदेशका विभिन्न फोरमहरुमा नेपालको पक्षमा बोलेका छन् । गम्भीर बौद्धिक बहसहरु गरेका छन् ।

कतिपय देशहरुको अर्थतन्त्र सुधार गर्न गम्भीर सल्लाह, सुझाव र प्रतिवेदन नै उनले लेखिदिएका छन् । उनलाई नेपालले भन्दा बढी विदेशी विद्वानहरुले चिन्दछन् । अर्थतन्त्रका यत्तिको ज्ञाता मान्छे नेपालमा अर्थमन्त्री बन्दैछन् । सायद अब उनले आफ्नो ज्ञान र विज्ञताको पोको फुकाउनेछन् र सर्लक्क नेपाली अर्थतन्त्रको काँचुली फेरिने हिसाबको बजेट तथा नीति कार्यक्रम ल्याउनेछन् । अहिलेलाई त्यही आशा गरौँ । किनकी वाग्लेले दुनियाँको विकास देखेका छन् । त्यहाँ लागू भएका नीति र कार्यक्रम केलाएका छन् । दुनियाँलाई सुझाव दिएका छन् । अब उनले नेपालको विकास र समृद्धिको चित्र कसरी कोर्नेछन् त्यो हेर्दै जाउँला । तर उनलाई रास्वपाले जसरी चुनाबअघि अर्थमन्त्रीको पोष्टर बनाएको थियो । अब दुईतिहाइ बहुमतसहित सरकारको नेतृत्व गर्ने रास्वपाले उनलाई अर्थमन्त्रीको रुपमा उभ्याउनै पर्छ । किनकी धेरै लामो समयदेखि नेपालको अर्थतन्त्र, शेयर बजार आदीले समकालीन विश्व व्यवस्था र आधुनिक विकास बुझेको विज्ञ अर्थमन्त्री खोजेको थियो ।
खासगरी नेपाल भूगोलका हिसाबले ४० नम्बरको मध्यम स्तरको देशको हो । ३ करोड जनसंख्या भएको विकासशील देशमा उक्लदै गरेको राष्ट्र हो । प्राकृतिक सम्पदा र संस्कृतिले सम्पन्न देश भएकोले यहाँ मूलतः ऊर्जा र पर्यटन क्षेत्र समृद्धिका मूल कडी हुन् । हिमाल, पहाड र तराइको अनुपम संयोजन रहेको यस देश प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । कृषि उत्पादन र जडिबुटीको भण्डार रहेको नेपाल विशाल चीन र भारतको बीचमा अवस्थित छ । त्यसकारण हामीले तरिका जान्ने हो भने हामी हाम्रा वस्तु, सेवाको बजारको दृष्टिकोणले पनि ठूलो बजारको सामीप्यमा छौँ।

बाटो, घाटो, बिजुली, खानेपानी, विद्यालय र स्वास्थ्यचौकी जस्ता आधारभूत पूर्वाधारहरुमा समेत देशले निकै प्रगति गरिसकेको अवस्था छ । देशका हरेक सदरमुकाम पीच सडकले जोडिइसकेका छन् । गाउँगाउँ, दूरदराजसम्म पक्की सडकहरु पुगिसकेका छन् । समकालीन नेपालको सबैभन्दा खड्किएको विषय भनेको रोजगारी र उद्यमशीलताको विकास हो । पर्यटनको यथोचित प्रर्वद्धन गर्नुपर्ने विषय हो । विश्वमा अग्ला हिमालहरुमध्ये सगरमाथासहित १८ अग्ला हिमाल नेपालमै अवस्थित छन् । हिमाल र हिमाली बसोबास, संस्कार, संस्कृति हेर्न नेपालबाहेक विश्वमा अर्को विकल्प छैन । अग्ला गगनचुम्बी महाभारत पर्वतहरु हेर्न र त्यहाँ पाइने अनेकन प्रजातिका फूल, जनावर हेर्न नेपालबाहेक अर्को विकल्प छैन । त्यसकारण सुन्दर नेपालको निकै सुन्दर चित्र कोर्ने बेला आएको छ । नेपाललाई मौलिक हिसाबको विकास र समृद्धिको उचाइ भर्ने बेला आएको छ । त्यसको ड्राइभर सिटमा स्वर्णिम वाग्लेलाई अर्थमन्त्रीको रुपमा देशले हेर्न चाहेको छ । हाम्रो देशलाई कृत्रिम रुपमा विकसित भनिएका देशहरु जस्तो होइन् रोजगारी र उद्यमले सम्पन्न मौलिक विकासले हराभरा बनाउन जरुरी छ । हामीले आइफल टावर अथवा बु्रर्ज खलिफा होइन् सांस्कृतिक रुपले सम्पन्न बस्तीहरु बनाउनु छ । किनकी आइफल टावरहरु हाम्रा सगरमाथाका फेदी बराबर पनि होइनन् । ती कुनै पनि कारण ढल्न सक्छन् तर हाम्रो प्रकृतिका देव सगरमाथाहरु कहिल्यै ढल्ने छैनन् ।

नयाँ सरकारलाई सुझाव

अब बन्ने सरकारले खासगरी शिक्षा, स्वास्थ्य र रोजगारी अनि ग्रामिण क्षेत्रका आवश्यक पूर्वाधार निर्माणमा जोड दिनुपर्छ । त्यसअलावा २६ वटा जो राष्ट्रिय गौरवका निर्माणाधीन आयोजना छन् ती समयमै सक्ने गरी लाग्नु पर्छ । लगानीका प्लेटफर्महरु शेयर बजार, कम्पनी दर्ता तथा सञ्चालनका सरकारी झन्झट, कर्मचारीहरुको ढिलासुस्ती तथा जनताका स–सना कामहरुमा हुने झन्झटिला प्रावधान शीघ्र रुपमा हटाउनु पर्छ । निजी क्षेत्र तथा विदेशी लगानीका लागि प्रोत्साहनकारी नीति लिइनु पर्छ । नीतिगत रुपमा अत्यन्त सुन्दर व्यवसायिक वातावरण बनाइनु पर्छ ।
त्यसैगरी सरकारले २१ प्रतिशत जो गरिबी छ, त्यसलाई ५ वर्षमै शून्यमा झार्ने लक्ष्यसहित काम गर्नुपर्छ । प्रगतिशील करमार्फत धनी र गरिबको खाडल हटाउने र नेपाली अर्थतन्त्रलाई विश्व अर्थतन्त्रसँग जोड्ने गरी काम गर्नुपर्छ । भावी अर्थमन्त्रीले आफ्नो विगतका पहुँच, अनुभवका आधारमा विदेशी लगानी भित्राउन जोड दिनुपर्छ । ५ वर्ष स्थिर सरकार र व्यवसायमैत्री वातावरण खडा गर्ने हो भने पक्कै पनि देशमा समृद्धिका बहार भित्रने छ । त्यसका लागि अर्थमन्त्रीमा रास्वपाका उपसभापति तथा वरिष्ठ अर्थशास्त्री डा स्वर्णिम वाग्लेलाई धेरैले हेर्न चाहेका छन् । विश्व अर्थतन्त्र बुझेका उनले अर्थतन्त्रबारे ठूलठूला प्रवचन दिएअनुसार कत्तिको काम गर्न सक्छन् । नेपाली अर्थतन्त्र कत्तिको बुझेका छन् जनताले अब हेर्नेछन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत २ गते सोमबार