पछिल्ला केही दिनदेखि देशको राजधानी काठमाडौँ लगायतका देशैभरका अन्य जिल्लाहरुमा तुवाँलोले ढाकेको छ । तुवाँलो बढ्दा आकाश धुम्मिएको छ । केही दिनदेखि मौसम खुल्न सकेको छैन् । देशभर वायुप्रदूषणको स्तर उच्च बनेको छ । काठमाडौँ विश्वकै वायुप्रदूषण धेरै भएका सहरहरूको सूचीमा दोस्रो स्थानमा छ । वन तथा वातावरण मन्त्रालयको वातावरण विभागले हालैका दिनहरुमा मौसमी प्रतिकूलताका कारण देशका विभिन्न भागमा वायुप्रदूषणको स्तर बढ्दै गइरहेको पाइएको जनाएको छ । विशेषगरी काठमाडौँ, पोखरा, वीरेन्द्रनगर लगायतका देशका ठूला सहरहरुका अतिरिक्त तराईका अधिकांश स्थानमा मसिना कणहरुको प्रदूषण बढेको छ । बिहान र बेलुकाको समयमा वायुप्रदूषण उच्च हुने गरेको विभागले जनाएको छ । चिसोका कारण विभिन्न स्रोतबाट उत्सर्जन भएको प्रदूषण छरिएर जान नसक्ने तथा विगत लामो समयदेखि वर्षा नभएका कारण पनि यो सिजनमा वायुप्रदूषण उच्च हुने गरेको छ । उद्योग कलकारखानाहरु, सवारीसाधनहरु, फोहोर जलाउने क्रियाकलापहरु, बालीनालीका अवशेष जलाउने क्रियाकलापहरु, देश बाहिरबाट आउने प्रदूषण, वन डढेलो लगायतका विभिन्न कारणहरुबाट वायुप्रदूषण हुने गर्दछ । वायुप्रदूषणले मानव स्वास्थ्यमा तत्काल र दीर्घकालीन दुवै किसिमका गम्भीर असरहरु पार्न सक्छ ।
यसले आँखा, छाला र श्वासप्रश्वासमा तत्काल समस्या निम्त्याउनुका साथै मुटु, मस्तिष्क, प्रजनन स्वास्थ्यमा असर पु¥याउने र फोक्सोको क्यान्सर दम तथा स्ट्रोकजस्ता घातक रोगहरुको जोखिम बढाउने गर्दछ । आँखा चिलाउने, रातो हुने, पोल्ने र एलर्जी हुने गर्दछ । छाला चिलाउने, इन्फेक्सन हुने, छाला सुक्खा हुने, घाँटी खसखस हुने, सुक्खा खोकी लाग्ने, श्वास फेर्न अप्ठ्यारो हुने, टाउको दुख्ने र सामान्य असजिलो महसुस हुने गर्दछ । त्यसैगरी वायुप्रदूषणका कारण वायुप्रदूषणका सूक्ष्म कणहरु रक्तप्रवाहमा मिसिएर मुटु र मस्तिष्कमा पुग्दा मुटुसम्बन्धी रोग, मस्तिष्कघात (स्ट्रोक) र उच्च मानसिक तनावको जाखिम बढ्छ । यसबाट जोगिनका लागि व्यक्ति स्वयम् सचेत हुनु जरुरी छ । यस्तो समयमा घरबाहिर ननिस्कने, निस्किनै परे मास्कको प्रयोग गर्ने, फोहोर नजलाउने, धुलो र धुवाँबाट जोगिने उपाय अपनाउँदा वायुप्रदूषणको जोखिमबाट बच्न सकिन्छ । वायुप्रदूषणले विशेषगरी बालबालिका, वृद्धवृद्धा एवम् दम खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी रोगीहरुलाई बढी असर पार्न सक्ने भएकाले विशेष सावधानी अपनाउन आवश्यक छ । वायूप्रदूषण न्यूनीकरण गर्नका लागि जिम्मेवार सबै निकाय तथा आम नागरिकको सहकार्य र सकारात्मक प्रयास हुन जरुरी छ । आम नागरिकहरुले वायुप्रदूषण हुने किसिमका कुनै पनि क्रियाकलापहरु गर्नुुहुँदैन ।
मंगलबार दिउँसो १ बजेको मापनअनुसार काठमाडौँको वायुको गुणस्तर मापदण्ड अर्थात् एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १९५ थियो । जनस्वास्थ्यका निम्ति यो ‘अति अस्वस्थकर’ हो । यस्तै उपत्यकामा सबैभन्दा बढी प्रदूषण लाजिम्पाट क्षेत्रमा देखिएको छ । दिउँसो १ बजेको मापनअनुसार लाजिम्पाटको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) २२६ देखिएको थियो । त्यस्तै रानीबारी मापन केन्द्रका अनुसार सो क्षेत्रको एयर क्वालिटी इन्डेक्स १९६ छ । क्षेत्रपाटीको एयर क्वालिटी इन्डेक्स १८८ छ । उपत्यकाबाहिर कर्णाली प्रदेशको वीरेन्द्रनगरमा सबैभन्दा बढी वायुप्रदूषण देखिएको छ । सो स्थानमा एयर क्वालिटी इन्डेक्स २३२ छ । त्यस्तै सुदूरपश्चिम क्षेत्रको धनगढीमा एयर क्वालिटी इन्डेक्स २०९ देखिएको छ । स्वीट्जरल्यान्डमा मुख्यालय रहेको वायुप्रदूषणको स्तर मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यू एयरका अनुसार प्रदूषित सहरको सूचीमा भारतको दिल्ली २४७ (एक्यूआई) मात्र छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को मापदण्डअनुसार यी सहर ‘अति अस्वस्थकर’को सूचीमा छन् । हावा एकदमै कम चलेको, अरू देशहरूबाट पनि प्रदूषण आएको, तर कतै जान नसकेका कारणले पनि वायुप्रदूषण बढको विज्ञहरुको भनाइ छ । हो । सन् २०१९ को एउटा तथ्यांकले नेपालमा वायुप्रदूषणसम्बन्धी रोगका कारण बर्सेनि ४२ हजार जनाको ज्यान गइरहेको देखाएको थियो । वायुप्रदूषणलाई सामान्य रुपमा लिनु हुँदैन । यसको बढ्दो जोखिमबाट बच्नका लागि व्यक्ति स्वयम् सचेत हुन आवश्यक छ ।









प्रतिक्रिया दिनुहोस्