सम्पादकीयः ऐतिहासिक निर्वाचन



नेपालमा हिजो फागुन २१ गते ऐतिहासिक रूपमा प्रतिनिधिसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । फाुगन २१ गतेलाई ऐतिहासिक रूपमा देशले सम्झना गर्नेछ । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि देशमा परिवर्तन भएको विशेष परिस्थितिमा सम्पन्न भएको यो निर्वाचनलाई विभिन्न आशंका गरिएको थियो । तोकिएको समयमै निर्वाचन हुन्छ कि हुँदैन ? शान्तिपूर्ण, भयरहित र निष्पक्ष रूपमा निर्वाचन होला कि नहोला ? भन्ने विभिन्न आशंकाबीच निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको मान्न सकिन्छ । केही स्थानहरूमा भएका सानातिना छिटफुट घटनाबाहेक निर्वाचनलाई सफलता मान्न सकिन्छ । जेनजी आन्दोलनपश्चात् बनेको सुशीला कार्की नेतृत्वको सरकारले छ महिनाभित्र निर्वाचन गराउनुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको थियो । यो छोटो समयावधिमा निर्वाचन हुन नसक्ने भन्दै कतिपयले आशंका व्यक्त गरेका थिए भने कैयौँ तत्वहरू देशमा निर्वाचन हुन नदिनका लागि विभिन्न क्रियाकलापहरू गरिरहेका थिए भने कैयौँले निर्वाचन बहिष्कारसमेत गरेका थिए । तर पनि यो संकटपूर्ण अवस्थामा शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न गराउनु यो सरकारको महत्वपूर्ण सफलता हो । तोकिएकै समयमा निर्वाचन सफल बनाउनका लागि निर्वाचन आयोगले गरेको कार्यलाई सकारात्मक मान्न सकिन्छ । सम्पूर्ण नागरिक तथा सबै सरोकारवाला पक्षको सकारात्मक पहल र जिम्मेवारीमा यो निर्वाचन सम्पन्न भएको छ ।

अबको केही दिनमा मतगणना भई परिणाम पनि आउने छ । परिणाम आएअनुसार निर्वाचित प्रतिनिधिहरू संसद् छिर्नेछन् । उनीहरूको झनै महत्वपूर्ण भूमिका रहनेछ । विशेष र फरक परिस्थिति सम्पन्न भएको निर्वाचनबाट चुनिएर गएका प्रतिनिधिहरूले जेनजी आन्दोलनको मर्म, सहिद तथा घाइते परिवारको आशालाई मार्नु हुँदैन् । देशलाई नयाँ दिशा दिनका लागि फरक परिस्थितिमा भएको निर्वाचनको महत्वपूर्ण पक्षलाई आत्मसात् गर्दै सम्पूर्ण जनप्रतिनिधिहरूले काम गर्न आवश्यक छ । निर्वाचनलाई असफल बनाउनका लागि विभिन्न तत्वहरू लागे पनि अन्ततः निर्वाचन ऐतिहासिक रूपमा सम्पन्न भएको यो परिस्थितिमा जनताको म्यान्डेटअनुसार काम गर्नुपर्ने जिम्मेवारी प्रतिनिधिहरूमा रहन्छ । निर्वाचनमा आम नागरिकको उल्लासमय रूपमा सहभागिता रह्यो । देशलाई निकास दिनका लागि मतदाताहरू आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्दै गोप्य मतदान गरेका छन् । आम मतदाताहरूले आफूले दिएको अमूल्य गोप्य मतदानबाट जुन आशा गरेका छन्, विकसित देशको सपना देखेका छन् । ती कुराहरू प्रतिनिधिहरूले ध्यानमा राख्दै गम्भीर हुनु जरुरी छ । मत पाएर फेरि पनि सत्ता र सरकारमा जाने, अंकगण्तििय हिसाबमा सरकार ढाल्ने र आफू पुनः सत्तामा पुग्ने फोहोरी खेलको अन्त्य हुने मतदाताले अपेक्षा गरेका छन् ।

फेरि पनि देशमा आगो नलागोस्, फेरि पनि कुनै आन्दोलन नहोस्, फेरि पनि कसैका नानीबाबुहरू नमरुन्, देश समृद्धितिर जाओस्, देशमा फेरि राजनैतिक अस्थिरता नहोस् भनेर जुन आशा र अपेक्षासहित मत प्रदान गरेका छन् । उनीहरूका मतको सम्मान गर्न जरुरी छ । निर्वाचन सम्पन्न भइरहँदा उल्लासमय रूपमा मतदाताले निर्वाचनमा भाग लिइरहँदा पनि केही कमीकमजोरीहरू भने भएका पाइन्छन् । मतदाताहरू यस वर्ष थपिएका छन् । विगतका अन्य निर्वाचनमा भन्दा यो निर्वाचनमा प्रशितका हिसाबले कम मत खसेको देखिन्छ । निर्वाचन शिक्षा आम समुदायसम्म नपुगेको पाइएको छ । जमाना एआईको आइसक्दा पनि अझै नागरिकता, मतदाता परिचयपत्र, लालपुर्जा, राष्ट्रिय परिचयपत्र, चालक अनुमतिपत्र तथा राहदानीजस्ता प्रमाणपत्रको सक्कलै प्रति मागिनु समयअनुसार भएको देखिँदैन् । कतिपय मतदाताहरूसँग यी प्रमाणपत्रको हार्डकपी नहुँदा र प्रतिलिपिले मतदान गर्न नपाउँदा पनि कैयौँ मतदाताले मतदान गर्न पाएनन् भने सहभागी प्रतिशतको सङ्ख्यामा पनि कमी आएको पाइयो । डिजिटल युगमा प्रवेश गरिरसकेको अवस्थामा विस्तारै सबै प्रणाली पेपरलेस भइसकेको अवस्थामा आगामी दिनहरूका निर्वाचनमा यसलाई मध्यनजर गर्दै यसको व्यवस्थापन गर्न जरुरी देखिन्छ । समग्रमा भन्नुपर्दा निर्वाचन सफल भएको छ । यसले देशलाई अब नयाँ आशासहितको दिशातर्फ अगाडि बढाउने छ । फागुन २१ ऐतिहासिक दिनका रूपमा रहनेछ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन २२ गते शुक्रबार