सम्पादकीयः निर्वाचनको मौनअवधि



फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदानका लागि आज राति १२ बजेदेखि मौनअवधि सुरु हुँदैछ । मौनअवधि भनेको मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको अवधि हो । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको व्यवस्था गरेको छ । मौनअवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भातृ संगठन वा सम्बन्धित व्यक्तिले आचरणपालना गर्नुपर्ने हुन्छ । निर्वाचन आयोगले गत फागुन ३ गते राति १२ बजेदेखि लागू हुने गरी उम्मेदवार र राजनीतिक दलहरूलाई प्रचार प्रसारको समयसीमा तोकेको थियो । १५ दिने उक्त समयसीमा आज राति १२ बजे सकिँदैछ । यस अवधिमा कुनै पनि प्रकारका चुनावी गतिविधि, छलफल वा कानेखुसी गर्नसमेत निषेध गरिएको छ । मौनअवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नहुने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न वा निर्वाचन प्रचारप्रसार गर्न पाइँदैन् । सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न वा गराउन नहुने आचारसंहितामा उल्लेख छ ।

मौनअवधिमा प्रचारप्रसारका सबै गतिविधि बन्द हुने र यसको निगरानीका लागि निर्वाचन आयोग, सुरक्षा निकाय, केन्द्रीय तथा जिल्लास्तरीय अनुगमन समितिहरू सक्रिय हुनु जरुरी छ । निर्वाचन आचारसंहिता लागू भए पनि कैयौँ राजनीतिक दल र उम्मेदवारहरूले उक्त आचारसंहिता उल्लंघन गरेका विभिन्न घटनाहरू देखिएका छन् । मौनअवधि लागू भइसकेपछि यसलाई पूर्ण रूपमा पालना गराउन जिम्मेवार र सरोकारवाला निकायहरू गम्भीर हुनु जरुरी छ । निर्वाचनको मौनअवधिमा हुनसक्ने चलखेललाई रोक्न विशेष निगरानीको व्यवस्था गरिनु जरुरी छ । निर्वाचनमा मौनअवधि प्रचारप्रसार गरेर थाकेका उम्मेवारलाई थकाइ मार्न र शान्त रहन तथा मतदातालाई पनि सोच विचार गरी स्वतन्त्र रूपमा उम्मेदवार छनोट सम्बन्धमा निर्णय प्रदान गरिएको समय भएकाले निर्वाचन आचारसंहिताविपरीतका कुनै कार्य नगर्न निर्वाचन आयोगले अपिलसमेत गरेको छ । मौनअवधिमा निर्वाचन आचारसंहिताविपरीत राजनीतिक दल र उम्मेदवारले मतदातालाई प्रभावमा पार्न सक्ने गतिविधिहरू गर्न सक्छन् । यसप्रति आयोग सचेत हुनु आवश्यक देखिन्छ । कानुनविपरीतका गतिविधि रोक्न जिल्ला अनुगमन अधिकृत र सुरक्षा निकाय परिचालन गरी विशेष निगरानीको व्यवस्था गरिनु पर्दछ । भित्ते लेखन, निर्वाचन चिह्नअङ्कित टोपी र सर्टजस्ता सामग्रीको प्रयोग भएका पनि पाइएको छ ।

सामाजिक सञ्जालमा आचारसंहिता उल्लङ्घन बढेका छन् । त्यसलाई नियन्त्रण गर्न आयोगले सामाजिक सञ्जाल प्लेटफर्महरू, साइबर ब्युरो र अरु सुरक्षा निकायको प्राविधिक र प्रविधि प्रयोग तथा समन्वयमा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र र विश्वासिलो तुल्याउन आवश्यक छ । सामाजिक सञ्जाल र एआईको बढ्दो दुरूपयोग गरी निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेका पाइन्छन् । भ्रामक सामग्री फैलाउन प्रयोग भइरहेको छ । यस गतिविधिलाई रोक्न आवश्यक छ । विशेषगरी अघिल्ला निर्वाचनहरूमा उम्मेदवार र राजनीतिक दलहरूले मौनअवधिकै समयमा राति रातिको समयमा मतदाताका घरमा पुग्ने नगद पैसा र चामल लगायतका खाद्य वस्तुहरू वितरण गर्ने गरेका घटना भएका पाइएका थिए । यसप्रति गम्भीर हुनु आवश्यक छ । विपन्न वर्गका परिवारमा जाने लोभ लालच देखाउने केही नगद तथा केही जिन्सी सामानहरू दिएर उनीहरूलाई फकाएर मत हाल्न लगाउने लगायतका हुनसक्ने अन्य कार्यहरूलाई गम्भीर रूपमा निगरानी गरी आवश्यक कानुनी दायरामा ल्याउनका लागि पहल हुनु आवश्यक छ । निर्वाचनलाई सुरक्षित, भयरहित, पारदर्शी, सभ्य, निष्पक्ष ढंगबाट सम्पन्न गराउनका लागि मौनअवधिमा हुन सक्ने बढी चलखेलका सम्भावनाहरूलाई रोक्न जरुरी छ । सरोकारवाला सबै पक्षले मौनअवधिको पूर्ण रूपमा पालना गर्दै निर्वाचनलाई सफल बनाउन भूमिका निर्वाह गर्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १८ गते सोमबार