शेरबहादुर ऐर । कैलाली ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सुदूरपश्चिम प्रदेशमा सन् २०२५ मा मानवअधिकार उल्लंघनको स्थिति सार्वजनिक गरेको छ । मंगलबार धनगढीमा प्रदेशको मानवअधिकार अवस्था विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै इन्सेकले सन् २०२४ को तुलनामा २०२५ मा मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटनाहरूमा कमी आएको जनाएको छ ।
इन्सेक वार्षिक प्रतिवेदनअनुसार राज्य पक्षबाट सात महिला र ५७ पुरुष गरि ६४ जना र अन्य पक्षबाट सात सय २६ महिला र ९९ पुरुष गरि आठ सय २५ जनाको मानवअधिकार उल्लंघन तथा ज्यादतीका घटना भएको जनाइएको छ । सन् २०२५ मा आठ सय ८९ जना पीडित बनेको उल्लेख छ । सन् २०२४ मा मानवअधिकार उल्लंघनका ११ घटनामा एक महिला र १० पुरुष गरि जम्मा ११ जना तथा ज्यादतीका एक हजार ७० घटनामा एक हजार ५४ महिला र ३४ जना पुरुष गरि एक हजार ८८ जना पीडित भएको अभिलेखमा उल्लेख छ ।
सन् २०२५ मा राज्य पक्षबाट कुटपिटको घटनामा दुई जना, बाल सुधारगृहमा मृत्युमा एक जना, कारागारमा मृत्यु दुई जना, हिरासतमा मृत्यु एक जना र घाइते छ महिला र ५२ पुरुष गरि ५८ जना पीडित भएको उल्लेख छ भने अन्य पक्षबाट कुटपिटमा आठ जना, घाइते ७७, बालअधिकार एक सय पाँच, अमानवीय व्यवहारमा एक, महिला अधिकारका छ सय नौ, धम्की आठ जना, धम्की एक, हत्या १८ जना र जातीय विभेदमा छ जना पीडित भएको उल्लेख छ ।
सन् २०२४ मा राज्य पक्षबाट कुटपिटका घटनामा दुई जना, गिरफतारीका घटनामा छ जना, जेलमा मृत्यु घटनामा एक, हिरासतमा मृत्यु घटनामा एक जना र अमानवीय व्यवहार घटनामा एक जना गरि ११ जना पीडित भएका थिए भने अन्य पक्षबाट कुटपिट तथा धारिलो हतियार प्रहारबाट हत्याको घटनामा नौ जना, घाइतेको घटनामा ११ जना, बालअधिकारको घटनामा एक सय पाँच, जातीय विभेदको घटनामा तीन जना, महिला अधिकारका घटनामा नौ सय ४७ जना, अमानवीय व्यवहारका घटनामा दुई जना, कुटपिटका घटनामा आठ जना र धम्कीका घटनामा तीन जना पीडित भएका थिए ।
महिला तथा बालबालिकाका हिंसाका घटनामा अझै कमी आउन नसकेको प्रतिवेदनमा उल्लेख छ । सन् २०२५ मा छ सय नौ महिला पीडित भएको जनाइएको छ । जसमा घरेलु हिंसाका घटनामा पाँच सय २६, बलात्कारका घटनामा ६२ जना, बलात्कारका प्रयासको घटनामा १०, यौन दुव्र्यवहारका घटनामा एक जना, बेचबिखन तथा ओसारपसार प्रयास घटनामा एक जना र दाइजोको कारण तीन जना महिला पीडित भएको अभिलेखमा उल्लेख छ ।
जातीय विभेद कायमै रहनु, दुई जना महिलासहित ६ जना यस वर्ष पनि जातीय विभेदबाट पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख छ ।सन् २०२५ मा एक सय पाँच बालबालिका पीडित भएको अभिलेखमा उल्लेख रहेको छ । जसमा बलात्कारका घटनामा ७६ जना यौन दुव्र्यवहारका घटनामा २१ जना र बेचबिखन तथा ओसारपसार घटनामा आठ जना पीडित भएको प्रतिवेदनमा उल्लेख छ ।









प्रतिक्रिया दिनुहोस्