राजनीति र सेयर बजारको सम्बन्ध दर्साउने नेपाल, भारतसहित अमेरिकी चुनाव र त्यसको परिणाम एउटा सशक्त उदाहरण हो । राजनीतिले जहिल्यै सेयर बजारलाई असर गर्ने सम्भावना हुन्छ । यो तथ्य सेयर बजारमा व्यावसायिक हिसाबले लाग्नेहरूलाई मात्र होइन, सामान्य लगानीकर्ताहरूलाई समेत थाहा भइसकेको छ । तर, राजनीतिक उतारचढावले सेयर बजारलाई कुन हदसम्म र कति समयसम्म असर गर्ने सम्भावना हुन्छ भन्ने कुरा बेग्लै हो ।
रिसव गौतम
भदौ २३–२४ को जेनजी आन्दोलनले निम्त्याएको अकण्टक परिस्थितिमाझ आसन्न निर्वाचन ढोकैमा आइपुगेको छ । निर्वाचनको उत्सवले देश धपक्कै बलेको छ । निर्वाचन हुँदैन, कसरी होला र ? भन्नेहरू पनि अब त पक्का हुन्छ भनेर भोट हाल्ने सुरसार कँस्दैछन् । पार्टी र मतदाताको अडिट गर्दैछन् र कसलाई भोट दिने निर्णय प्रक्रिया अगाडी बढाइरहेका छन् । यसै सन्र्दभमा पर्ख र हेरको अवस्था रहेको सेयर बजारले निर्वाचन र त्यसको परिणामलाई खास रूपमा नियालीरहेको छ । के निर्वाचन संघारमै आउँदा र सम्पन्न हुनैलाग्दा सेयर बजारमा त्यसले कस्तो परिस्थिति ल्याउला ? वसन्तको बहार सेयर बजारमा पनि आउला त ? धेरैको आशा र विश्वास निर्वाचनले सेयर बजारमा बहार ल्याउने छ ।२०७८ सालको राष्ट्रिय जनगणनाअनुसार देशमा २ करोड ९१ लाख ६४ हजार ५८० जनसङ्ख्या रहेको छ । केही दिनपछि हुन लागेको चुनावमा निर्वाचन आयोगका अनुसार १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता छन् । आयोगमा सुचित मतदातामध्ये पनि कति विदेशमा छन्स रकारसँग त्यो तथ्यांक छैन् । तर भनिन्छ विदेशमा कम्तीमा ८० लाख नेपाली रहेको अनौपचारिक तथ्यांक छ । भारतबाहेकका देशमा ४० लाख नेपाली रहेको परराष्ट्र मन्त्रालयसम्बद्ध स्रोतको भनाइ रहँदै आएको छ । यसरी करोडभन्दा बढी नेपालीले पक्कै यसपटक भोट हाल्दैछन् र त्यसले नेपालको इतिहासमा नयाँ दिनको सुरुवात गर्ने धेरैको अपेक्षा छ । जसले सेयर बजारलाई प्रत्यक्ष प्रभाव पार्ने कुरा नकार्न सकिन्न ।
राजनीति र सेयर बजार
गत वर्ष अन्तर्राष्ट्रिय क्षेत्रमै तरङ्ग ल्याउने घटनाका रूपमा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको पुनरोदय भयो । दोहो¥याएर चुनाव नजिताउने एक सय ३० वर्षे अमेरिकी इतिहासलाई बे्रक्र गर्दै डोनाल्ड ट्रम्प दोस्रो कार्यकालका लागि विजयी भए । जसले अमेरिकी सेयर बजारमा ठूलो उछाल ल्यायो । अमेरिकी मात्र होइन, युरोप र एसियाका कतिपय देशको सेयर बजारमा समेत ट्रम्प उदयले सकारात्मक प्रभाव परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । त्यति मात्र होइन, अमेरिकी राष्ट्रपतिमा ट्रम्पको उदयसँगै डलर र विट क्वाइनले नयाँ रेकर्ड कायम गरेको थियो । सन् २०२४ जुलाईमा भएको भारतीय लोकसभा निर्वाचनको परिणामले नरेन्द्र दामोदर दास मोदी प्रधानमन्त्री हुने देखिएपछि त्यहाँको सेयर बजारले सगरमाथाजस्तो उचाइ भरेको थियो । बम्बइ स्टक एक्चेन्ज (बीएसई) सेन्सेक्सले अल टाइम हाई बनाएको थियो । त्यसैगरी नेशनल स्टक एक्सचेन्जको निफटी पनि रकेटको गतिमा उचाइ भरेको थियो । लोकसभाको निर्वाचन परिणाम आएको दोश्रो दिन त्यहाँ सेन्सेक्स १६१८ अंकले वृद्धि भएर ७६ हजार ६९३ विन्दुमा बन्द भयो । त्यस्तै एसएसई निफ्टीले ४६८ अंकले बढेको थियो । नेपाली सेयर बजारले पनि आसन्न निर्वाचनबाट त्यही खालको परिवर्तन खोजेको छ । किनकी दलहरूको घोषणापत्रले नै सेयर बजारलाई अन्तर्राष्ट्रियस्तरमा लैजाने कुरा छिपाएका छैनन् । फेरी सेयर बजारप्रति उदार दल नै निर्वाचनबाट उदाउने छनक देखिँदैछ । विगतको निर्वाचनहरूको परिणामले पनि नेपालमा जहिल्यै सेयर बजारमा उछाल ल्याएको थियो । किनकी नेपालीहरू निर्वाचनलाई जहिल्यै परिवर्तनको, आशाको र विकासको सुदिन भित्रने ढोकाको रूपमा लिन्छन् र आशावादी हुन्छ । वास्तवमा त्यो लोकतन्त्रको सुन्दर अभ्यास मानिने निर्वाचनबाट आउने परिणामले अच्छा दिन आउने सबैको विश्वास हुन्छ ।
खासगरी नेपालमा अधिकांश संसदीय निर्वाचनमा सेयर बजार बढेको छ । ०५६ सालमा दुई चरणमा भएको निर्वाचनपछि सेयर बजार ११ प्रतिशतले बढेको थियो । २८ चैत २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा (निर्वाचनअघि र पछि) पनि सेयर बजार १० प्रतिशतले उकालो लागेको थियो । सो निर्वाचनबाट तत्कालीन माओवादी पार्टी पहिलो बनेको थियो । ४ मंसिर २०७० मा भएको दोश्रो संविधानसभा निर्वाचनअघि र पछि गरेर करिब एक महिना सेयर बजारले ४१ प्रतिशतको फराकिलो वृद्धिदर हासिल गरेको थियो । संविधान बनिसकेपछि ०७४ मा अर्को चुनाव भएको थियो । त्यतिबेला माओवादी र एमाले मिलेर गठबन्धन गरी चुनाव लडेका कारण निर्वाचनमा वामपन्थी प्रभाव बजारमा प¥यो । र, ९ प्रतिशत जसो बजार घटेको थियो । त्यसैगरी २०७९ मा मंसिरमा भएको गत निर्वाचनमा काँग्रेस पहिलो पार्टी बनेको थियो । निर्वाचनमा मिश्रित खालको नतिजा आउँदा पनि त्यतिखेर सामान्य खालको सुधार बजारमा देखिएको थियो । यसपटक भने दृश्यमा पूँजीवादलाई प्रशय दिने र व्यावसायिक वातावरणलाई सर्वोपरि ठान्ने दलहरू बलिया मानिएका छन् । जसले बजारमा उछाल ल्याउने पर्खाइमा लगानीकर्ताहरू छन् ।
राजनीति र सेयर बजारको सम्बन्ध दर्साउने नेपाल, भारतसहित अमेरिकी चुनाव र त्यसको परिणाम एउटा सशक्त उदाहरण हो । राजनीतिले जहिल्यै सेयर बजारलाई असर गर्ने सम्भावना हुन्छ । यो तथ्य सेयर बजारमा व्यावसायिक हिसाबले लाग्नेहरूलाई मात्र होइन, सामान्य लगानीकर्ताहरूलाई समेत थाहा भइसकेको छ । तर, राजनीतिक उतारचढावले सेयर बजारलाई कुन हदसम्म र कति समयसम्म असर गर्ने सम्भावना हुन्छ भन्ने कुरा बेग्लै हो ।
खासगरी राजनीतिक दलहरू विभिन्न सिद्धान्त बोकर अस्तित्वमा हुन्छन् । जस्तो कि कोही कम्युनिस्ट विचारधारा बोकेर अस्तित्वमा छन् त कोही उदार तथा प्रजातान्त्रिक विचार बोकेका हुन्छन् भने कतिपय दलहरू अलिअलि उदार र अलअलि नियन्त्रित विचारधाराको पक्षपोषक हुन्छन् । त्यसकारण विभिन्न विचारधारा बोकेका राजनीतिक दलहरूले सतहमा गर्ने गतिविधि, राजनीतिक उतारचढाव, सत्ता फेरबदल तथा फेरबदल हुने खालका संकेत तथा गतिविधि, त्यस खालका समाचारहरूले सेयर बजारमा प्रभाव पार्दछ, जसले बजारलाई बढाउने तथा घटाउने गर्दछ । अलगअलग विचारधारा बोकेका राजनीतिक दलहरू सरकारमा हाबी हुँदा उनीहरूले ल्याउने नियमन र कानुनहरूले कम्पनीहरूमा प्रभाव पार्छ । फलतः सेयर बजारमा असर गर्दछ । खासगरी राजनीतिक कारण आर्थिक र व्यापारिक वातावरणलाई प्रभाव पार्ने सबैजसो समाचारहरू सेयर बजारका लागि उत्तिकै महत्वपूर्ण हुन्छन् । यसले अप्रत्यक्ष रूपमा बजारमा प्रभाव राख्दछ । राजनीतिमा हुने अस्थिरताका कारण सरकारको आर्थिक नीति, मौद्रिक नीति, सार्वजनिक खर्च, करको दर, कानुनी व्यवस्थामा फेरबदल आउन सक्छन् । जसको कारण सेयर बजारमा उतारचढावको अवस्था सिर्जना हुन्छ । त्यसकारण पनि राजनीतिक अस्थिरता सेयर बजारका लागि घातक हुन्छ । तर पनि सेयर बजारका लागि राजनीतिक घटनाक्रमले बजारमा छोटो अवधिका लागि अस्थिरता निम्त्याउँछ । नयाँ आउने लगानीकर्ताहरूलाई हतोत्साही बनाउँछ । बजारप्रति नकारात्मक मनोवृत्ति सिर्जना गर्दछ । त्यसकारण सेयर बजारले अस्थिर राजनीतिबाट निकास खोजेको छ । बलियो र नीजि क्षेत्रमैत्री दल निर्वाचनबाट चुनिएर स्थायी प्रकृतिको सरकार बनोस् भन्ने बजारको चाहना छ । आशा छ आसन्न फागुन २१ को निर्वाचनले एउटा स्थायी सरकार बनाउने म्यान्डेट जनताले कुनै एक दललाई दिनेछ । जसले बजारमा हरियालीको बहार ल्याउनेछ ।
(गौतम आर्थिक लेखक तथा विश्लेषक हुन् ।)








प्रतिक्रिया दिनुहोस्