सम्पादकीयः सामाजिक सञ्जालको बढ्दो दुरुपयोग



प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै छ । निर्वाचनको मिति नजिकिएसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरू पनि बढी सक्रिय हुँदै आएका छन् । विशेषगरी विभिन्न पार्टीनिकट व्यक्तिहरू बढी सक्रिय भएका पाइन्छन् । आआफ्ना पार्टीका उम्मेदवारका प्रचारप्रसारदेखि विभिन्न धारणा राख्ने माध्यम बनेको छ सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरू । यिनै प्लेटफर्मको प्रयोग गरेर पछिल्लो समयमा गालीगलौज लगायतका विभिन्न नकारात्मक टीकाटिप्पणीहरूका कारण सामाजिक सञ्जाल रंगिएका छन् भने समाज पनि नकारात्मकतातिर गइरहेको पाइन्छ । निर्वाचनलक्षित विभिन्न नकारात्मक शब्दहरूको प्रयोग गरी एक पक्षले अर्काे पक्षलाई गालीगलौज गर्ने प्रवृत्ति बढ्दो क्रममा रहेको देखिएको छ । यस्ता कतिपय शब्दको प्रयोग पत्रकारितामूलक सञ्चारमाध्यमबाटसमेत सुरुवात भएका थिए भने कतिपय शब्दहरू जेनजी आन्दोलनपछि एक पक्षले अर्को पक्षलाई होच्याउन प्रयोग गर्न थालेका थिए । यी नकारात्मक टीकाटिप्पणी र गालीगलौजका कारण समाजमा नकारात्मक धारणा बढ्दै जाने एकअर्कामा द्वेष बढ्ने, भाइचारा सम्बन्ध र आपसी सम्बन्धहरू समेत टुट्नसक्ने सम्भावना रहन्छन् । निर्वाचनको सामुन्नेमा राजनीतिक दलका नीति र सिद्धान्तमाथि, राजनीतिक दलहरूले दिने निकासका तरिकामाथि बहस गर्नुपर्नेमा अहिले सामाजिक सञ्जालमा देखिने टिप्पणीहरू एकदमै व्यक्तिवादी भइरहेका पाइन्छन् ।

जसले समाजलाई अग्रगतितिर नभएर पश्चगतितर्फ धकेल्ने निश्चित छ । सामाजिक सञ्जालमा विभिन्न छद्मभेषी नाम राखेर आफूलाई मन नपर्ने व्यक्ति र पार्टीलाई हेर्नै नसकिने र पढ्नै नसकिने किसिमका गालीगलौज गर्ने लहर बढ्दो देखिन्छ । त्यसैगरी व्यक्तिगत मेसेन्जरमा गालीगलौज गर्ने तथा जे पायो त्यही लेख्ने क्रियाकलापहरू बढ्दै गएका छन् । यस कार्यलाई रोक्नका लागि सम्बन्धित सरोकारवाला निकाय सक्रिय हुनुपर्ने देखिन्छ । त्यसै पनि समाजमा नकारात्मक धारणा फैलाउँदै आएका यस्ता प्रवृत्तिका पात्रहरू निर्वाचन नजिकिएसँगै झनै बढी आक्रामक र सक्रिय हुँदै आएका छन् । यस्तो क्रियाकलाप रोक्नका लागि सरकार तथा निर्वाचन आयोगले निगरानी बढाउनुका साथै कारबाहीको दायरामा ल्याउन आवश्यक छ । त्यसप्रकारका प्रवृत्तिलाई कारबाहीको दायरामा ल्याउन नसक्ने हो भने झनै उनीहरूको मनोबल बढ्ने र प्रोत्साहन हुँदै अझै हौसिने खतरा देखिन्छ । प्रेस काउन्सिल, निर्वाचन आयोग तथा अन्य न्यायिक तथा अर्धन्यायिक अंगहरू सक्रिय भएर यस्ता क्रियाकलापलाई न्यूनीकरण गर्न र रोकथाम गर्न आवश्यक छ । सामाजिक सञ्जालमा देखिएका नयाँ वा पुराना ट्रोल ह्यारासमेन्टले सिङ्गो समाजको सामाजिक सद्भाव पनि खल्बल्याइरहेको छ । यसले लोकतन्त्रलाई सफल हुन दिँदैन ।

कुनै व्यक्तिले आफ्नो पक्षका राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारको पक्षमा कुनै स्टाटस सामाजिक सञ्जालमा राख्यो भने विरोधी व्यक्ति तथा राजनीतिक दलका व्यक्तिहरूले त्यसको कमेन्टमा गएर विभिन्न गालीगलौज गर्ने तथा नकारात्मक टीकाटिप्पणी गर्ने गरेका पाइन्छ । यसले समाजलाई अन्धकारतिर धकेलिरहेको हुन्छ भने नयाँ पुस्ताहरू पनि यसैको सिकाइबाट अगाडि बढ्ने हुँदा भविष्यमा झन खतरनाक अवस्थाको सिर्जना नहोला भन्न सकिँदैन् । कतिपय घटनाहरू त मानिसलाई मृत्युको मुखसम्म पनि पु¥याएका उदाहरण हेर्न र पढ्न सकिन्छ । सामाजिक सञ्जालबाटै कसैको चरित्रहत्या गर्ने तथानाम लेखिदिने गर्नाले कैयौँ व्यक्तिहरूले मृत्युको बाटो समेत रोजेका घटनाहरू पनि देख्न, सुन्न र पढ्न पाइन्छ । यो अत्यन्तै संवेदनशील विषय बन्दै गएको छ । यो गलत प्रवृत्तिलाई रोक्नका लागि सरोकारवाला गम्भीर हुनु पर्ने देखिन्छ । निर्वाचनका विषयमा सामाजिक सञ्जाललाई स्वस्थ बहसको माध्यमको रूपमा लिइनुपर्ने तथा प्रयोग गरिनुपर्नेमा त्यसलाई दुरुपयोग गर्दै एकअर्कालाई तर्साउने माध्यमका रूपमा प्रयोग भइरहेको देखिन्छ । आजको मिडिया, कन्टेन्ट क्रिएटर र बौद्धिक जगतसामु खडा भएको सबैभन्दा ठूलो चुनौती यही हो । सामाजिक सञ्जालमा देखिएको बढ्दो दुरुपयोग रोकथाम गर्न नसके यसले भविष्यमा थप अन्योलता सिर्जना गर्ने देखिन्छ । तसर्थः सामाजिक सञ्जालको गलत प्रयोगलाई न्यूनीकरण गर्न र रोकथाम गरी सभ्य समाजको विकास गर्नका लागि सबै गम्भीर हुनु जरुरी छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २५ गते आइतबार