सम्पादकीयः राजनीतिक दल विभाजन हुनु दुःखद



नेपालमा राजनीतिक दलहरूको लामो इतिहास छ । देशमा हालसम्म भएका सम्पूर्ण राजनीतिक परिवर्तनमा राजनीतिक दलहरूको ठूलो र महत्वपूर्ण भूमिका रहँदै आएको छ । राणा शासन होस् कि पञ्चायती तानाशाही व्यवस्था तथा राजतन्त्र होस्, सम्पूर्ण व्यवस्थालाई फालेर देशमा नयाँ राजनीतिक व्यवस्था ल्याउनका लागि राजनीतिक दलहरूले बलिदानी गरेका छन् । देशमा बहुदल, लोकतन्त्र तथा गणतन्त्रसम्म ल्याएर देशको आमूल परिवर्तन गर्नका लागि तत्कालीन राजनीतिक दलहरूको महत्वपूर्ण बलिदानी योगदान रहेको छ । पछिल्ला समयहरूमा प्रायः ठूला राजनीतिक दलहरूले व्यक्तिगत तथा आफ्नो स्वार्थअनुकूल प्रयोग गर्नका लागि राजनीतिक दलहरूलाई समयसमयमा टुटफुट तथा विभाजन गरिरहेका छन् । नेपालको राजनीतिक इतिहासमा बारम्बार दल विभाजनको घटना घटिरहेको छ । यो परिघटनाले केवल राजनीतिक स्थिरतालाई प्रभावित मात्रै नपारेर देशको विकास र प्रगतिमा पनि नकारात्मक प्रभाव पारिरहेको छ । नेपालमा बारम्बार राजनीतिक दलहरू विभाजन भइरहँदा त्यसको नकारात्मक असर सम्पूर्ण देशको राजनीतिक, आर्थिक तथा सामाजिक रूपमा परिरहेको हुन्छ । यो कार्यलाई सकारात्मक मान्न सकिँदैन् । राजनीतिक दल विभाजन हुँदा देशमा अस्थिरता कायम हुनु स्वभाविकनै हो । तसर्थः यस कार्यले आम नागरिक, सुभेच्छुक, सम्बन्धित पार्टीका सदस्यहरूबीच पनि एकआपसमा वैमनस्यताको भाव जागृत गराउँदै समाजमा द्वन्द्वको समेत अवस्था सिर्जना गराउन सक्दछ ।

नेपालको इतिहास हेर्दा नेतृत्वको विवाद, नीति र सिद्धान्तमा मतभेद, व्यक्तिगत स्वार्थ र अहम्, बाह्य दबाब र प्रभाव लगायतका कारणहरूबाट राजनीतिक दलहरू टुट्ने फुट्ने र विभाजन हुने गरेको पाइन्छ । यसरी राजनीतिक दलहरू विभाजन हुँदा देशमा राजनीतिक अस्थिरता, सरकारको कमजोरी, विकास र प्रगतिमा बाधा तथा जनताको विश्वासमा कमी हुने गर्दछ । राजनीतिक दल विभाजनलाई रोक्न र त्यसको नकारात्मक प्रभावलाई कम गर्न दलभित्रको एकता र सुशासन, नेतृत्वमा परिवर्तन र नवप्रवर्तन, नीति र सिद्धान्तमा स्पष्टता र सहमति, बाह्य दबाब र प्रभावलाई कम गर्न आवश्यक छ । सम्पूर्ण राजनीतिक दल र नेतृत्वले समय र अवस्थाअनुसार युवालाई अवसर प्रदान गर्दै पार्टीका विभिन्न संरचनालाई युवाको सहभागिता र नेतृत्व प्रदान गर्न पनि जरुरी छ । नेपालको राजनीतिले हालैका दिनहरूमा धेरै उतारचढाव भोगिरहेको छ । राजनीतिक दलहरूमा आन्तरिक संघर्ष र विभाजनले देशको राजनीतिक स्थिरतामा प्रश्नचिन्ह खडा गरेको छ । यो स्थिति न त सरकारको कामकाजमा सुधार ल्याउन सकिरहेको छ, न त जनताको भरोसा पुनः निर्माण गर्न सकेको छ । हरेक राजनीतिक दलले दलभित्रका विभिन्न गुट, उपगुट, समूह र नेताहरूबीचको विवाद न्यूनीकरण गरेर आन्तरिक समस्या समाधान गर्न आवश्यक छ ।

सत्तामा पहुँच र प्रभावको लागि हुने संघर्ष पनि विभाजनको एक कारण हो । राजनीतिक दल विभाजन रोक्न र राजनीतिक स्थिरता कायम गर्नका लागि दलभित्र नियमित संवाद र विचार–विमर्श, महत्वपूर्ण मुद्दाहरूमा साझा सम्झौता तथा बलियो र दूरदर्शी नेतृत्व छान्न आवश्यक छ । राजनीतिक दल विभाजन नेपालको राजनीति र विकासका लागि ठूलो चुनौतीका रूपमा देखिएको छ । यसलाई रोक्न र राजनीतिक स्थिरता कायम राख्न सबै राजनीतिक दल र नेताहरूको सहयोग र समर्पण आवश्यक छ । देशको आमूल परिवर्तन गरि देशमा धर्म निरपक्षता, गणतन्त्र स्थापना, राजतन्त्रको अन्त्य, संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा, समावेशी समानुपातिक प्रतिनिधिसहितको संविधान निर्माण, भूमि सुधार र वर्ग उत्पीडनको अन्त्यका लागि आधार तयार, जनताका सामाजिक न्याय, समानता लगायतका जनताका अधिकार प्राप्त गर्नका लागि राजनीतिक दलले खेलेको भूमिका महत्वपूर्ण रहिआएको छ । यो सब टुटफुटबाट भन्दा पनि एकजुट र सम्पूर्ण पक्षको सहभागितामा मात्र सम्भव भएको हो । विभिन्न चरणका आन्दोलनबाट प्राप्त जनताका अधिकारलाई सुनिश्चित गर्दै थप अधिकारका लागि राजनीतिक दलहरू विभाजन भएर होइन एकजुट भएर अगाडि बढ्न आवश्यक छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ २ गते शुक्रबार