थाइल्यान्डमा रेलमाथि ६५ फिटमाथिबाट खस्यो क्रेन, २२ जनाको मृत्यु



थाइल्यान्डमा तीव्र गतिमा रहेको एउटा यात्रुवाहक रेलमाथि करिब ६५ फिट उचाइ माथिबाट क्रेन खस्दा २२ जनाको मृत्यु भएको छ भने ८० जना घाइते भएका छन् ।

दुर्घटनामा रेलका केही डिब्बा क्षतिग्रस्त बनेका छन् । रेलब्रिज निर्माणका लागि क्रेनको प्रयोग गरिएको थियो । दुर्घटनाको समयमा रेलमा १९५ जना सवार थिए । अधिकारीहरूका अनुसार यिनीहरूमध्ये धेरैजसो स्कुले विद्यार्थी थिए ।

न्युज वेबसाइट नेसन थाइल्यान्डका अनुसार क्रेन खसेपछि चालकले ब्रेक लगाउने मौकासमेत पाएनन् । ठक्कर खाएपछि क्षतिग्रस्त क्रेनसँगै रेलका केही डिब्बा लिकबाट बाहिर निस्किएका थिए ।

अधिकारीहरूले क्रेन खस्नुको कारण स्पष्ट नभईनसकेको जनाएका छन् । यद्यपि, घटनाको अनुसन्धान सुरु भइसकेको छ । दुर्घटनापछि पुगेको उद्दार टोलीले मृतकको शव क्षतिग्रस्त रेलबाट बाहिर निकालेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस ३० गते बुधबार