नेपालगन्ज ।
नेपालगन्जमा आयोजित एक विचार गोष्ठीका वक्ताहरूले पृथ्वीनारायण शाहको नीति र उपदेशहरू अहिले पनि सान्दर्भिक रहेको बताएका छन्। शाश्वत आचार्य स्मृति प्रतिष्ठानको आयोजनामा भएको विचार गोष्ठीमा बोल्ने वक्ताहरूले पृथ्वीनारायणले चलाएको नेपाल एकीकरण अभियान र दिव्य उपदेशमा वर्णित उपदेशहरू देशले अहिले पनि अनुशरण गर्नु जरुरी रहेको बताए ।
देशको सार्वभौमिकता, अखण्डता, स्वाधीनता र राष्ट्रियता अक्षुण्ण राख्नका लागि पृथ्वीनारायणका नीतिहरू मार्गलदर्शक बन्न सक्ने धारणा राखे ।
प्राडा कृष्णप्रसाद घिमिरेको प्रमुख आतिथ्यता र प्रतिष्ठानका अध्यक्ष प्राडा जनार्दन आचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपालगन्जका पूर्वनगरप्रमुख एवं वरिष्ठ अधिवक्ता विजय गुप्ता, वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, डा. हरिप्रसाद तिमिल्सिना, खगेन्द्र गिरी कोपिलाले बोलेको उक्त कार्यक्रममा कोपिला अधिकारी, विष्णु पादुका, चन्द्रावती अधिकारी र रन्जना नेपालले कविता तथा सुन्दर गुरुङले राष्ट्रिय गीत प्रस्तुत गरेका थिए ।
कोहलपुरमा दीप प्रज्वलन
३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा कोहलपुरमा दीप प्रज्वलन गरिएको छ । प्राज्ञिक विद्यार्थी परिषद् कोहलपुर नगर इकाईको आयोजनामा कोहलपुर–११ स्थित न्युरोड चोकमा दीप प्रज्वलन गरिएको हो । प्राज्ञिक विद्यार्थी परिषद् कर्णाली प्रदेश अध्यक्ष भीम रोकायाले दीप प्रज्वलन गर्दै कार्यक्रमको सुरूवात गरेका थिए ।
लगत्तै सहभागीहरूले जयन्तीको अवसरमा दीप प्रज्वलन गरेका थिए । अध्यक्ष रोकायाले पृथ्वी जयन्ती आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको योगदानलाई सम्झिने दिन भएको बताए । उनका अनुसार परिषद्ले शाहको जन्मोत्सवको अवसरमा दीप प्रज्वलन गरेर सम्मान गरिएको हो । पृथ्वीनारायण शाहले दिएको ‘दिव्योपदेश’ अहिले पनि सान्र्दभिक रहेको उनले बताए । उनले भने, ‘उनले नेपाललाई चार वर्ण ३६ जातको साझा फूलबारी भनेका छन् । आधुनिक नेपालको आकार दिने शाह नै हुन् । त्यसैले आजको दिनलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाइन्छ । हामीले पनि मनाएका छौँ ।’
प्राज्ञिक विद्यार्थी परिषद् कोहलपुर नगर इकाईकी अध्यक्ष विरंगना योगीले पृथ्वीनारायण शाह राष्ट्रिय एकताका प्रतीक भएको बताइन् । उनका अनुसार राष्ट्र निर्माणकर्ता शाहको जन्म जयन्तीको अवसरमा परिषद्ले कार्यक्रम आयोजना गरेको हो । परिषद्का सदस्यहरूको सहभागिता रहेको कार्यक्रममा इकाई सदस्य जमुना घिमिरेले स्वागत मन्तव्य राखेकी थिइन् ।








प्रतिक्रिया दिनुहोस्