नेपाली काँग्रेसमा हाल कूल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि रहेका छन् । आइतबारसम्म रातिसम्मको तथ्यांकअनुसार विशेष महाधिवेशनको पक्षमा २ हजार ६६२ महाधिवेशन प्रतिनिधिले नाम दर्ता गरेको दाबी गरिएको छ । सो सङ्ख्या आज सोमबारसम्म बढ्ने विशेष महाधिवेशन पक्षधरको दाबी गरेका छन् । आइतबार रातिसम्मको तथ्यांकअनुसार २ हजार ८१ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको विपक्षमा उभिएको देखिएको छ ।

काठमाडौँ ।
नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशन सुरु भएको छ । ‘बदलिएको समयको काँग्रेसको लागि, बदल्नै पर्ने देशका लागि’ भन्ने मूल नारासहित आइतबारदेखि दोस्रो विशेष महाधिवेशन सुरु भएको हो । काठमाडौँको भृकुुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशन उद्घाटनपूर्व काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा बृहत् ¥याली निकालिएको थियो ।
नेपाली काँग्रेस काठमाडौँका जिल्ला सभापति सबुजकृष्ण बानियाँको अध्यक्षतामा सुरु भएको विशेष महाधिवेशनको पार्टीका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूपमा दीप प्रज्वलनसहित बेलुन उडाउँदै बिरुवामा पानी हालेर उद्घाटन गरेका थिए । विशेष महाधिवेशन उद्घाटन सत्रमा धनकुटाकी जेनजी काँग्रेस तथा नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुणा कटुवालदेखि महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापासम्मले सम्बोधन गरे । करिब ५ घण्टासम्म सञ्चालन भएको उद्घाटन समारोहमा २१ जना नेताले सम्बोधन गरेका थिए ।
उनीहरूको एउटै सन्देश दिए, ‘नवीन काँग्रेस, नयाँ नेतृत्व र एकताबद्ध काँग्रेस ।’ विशेष महाधिवेशनको पहिलो वक्ताका रूपमा सम्बोधन गर्दै नेपाल विद्यार्थी संघकी केन्द्रीय सदस्य करुणा कटुवालले नीति र नेतृत्व परिवर्तन गरेर नवीन काँग्रेससहित चुनावमा सहभागी हुने बताइन् । यसअघि असोज २९ गते ५४.५८ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले हस्ताक्षरसहित विशेष महाधिवेशन माग गरेका थिए । काँग्रेस विधानको १७ (२) अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गरेको तीन महिनाभित्र विशेष महाधिवेशन आह्वान गर्नुपर्ने हुन्छ ।
तर, पार्टी सभापति शेरबहादुर देउवासहितको संस्थापन पक्षधरले विशेष महाधिवेशन अस्वीकार गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृृत्वमा विशेष महाधिवेशनको उद्घाटन सत्र सम्पन्न भएको थियो । दोस्रो विशेष महाधिवेशन सचिवालयको तर्फबाट युवराज पाण्डेयद्वारा जारी विज्ञप्तिमा कूल दुई हजार ६६२ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता र हस्ताक्षर गरेको उल्लेख गरिएको छ ।
विज्ञप्तिअनुसार सबैभन्दा धेरै मधेश प्रदेशका ४४६, बागमती प्रदेशका ४३२, कोशीका ४२५, लुम्बिनीका ३९८, गण्डकीका २९६, सुदूरपश्चिमका १५८ र कर्णाली प्रदेशका १३४ जना महाधिवेशन प्रतिनिधिले नाम दर्ता र हस्ताक्षर गरेका छन् । यस्तै उपत्यकाबाट १७८ जना र भातृ, सुभेच्छुक र जनसम्पर्कतर्फ १९५ जनाले हस्ताक्षर गरेका छन् । महाधिवेशन प्रतिनिधिहरूको नाम दर्ता आइतबार बिहान सवा ८ बजेबाट सुरू भएको थियो। सोमबार बवहान ८ बजेदेखि पुनः नाम दर्ता सुरु हुनेछ ।
नेपाली काँग्रेसमा देशभरबाट कूल ४ हजार ७ सय ४३ जना महाधिवेशन प्रतिनिधि छन् । विशेष महाधिवेशनको पक्षमा दुई हजार ६६२ जनाको हस्ताक्षर गरेका हुन् । आइतबारसम्मको तथ्यांकअनुसार २ हजार ८१ जना महाधिवेशन प्रतिनिधि विशेष महाधिवेशनको विपक्षमा उभिएका छन्। विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री गगन थापाले उद्घाटन सत्रमा पार्टी सभापति शेरबहादुर देउवा उपस्थित हुने आशा गरे पनि देउवा उपस्थित नहुँदा आफूखुसी नभएको बताए । उद्घाटन सत्रको अन्तिममा सम्बोधन गरेका महामन्त्री थापाले पार्टी सभापति देउवालाई राजीनामा दिन सुझाए ।
विशेष महाधिवेशनलाई सम्बोधन गर्दै थापाले भने, ‘यहाँ आएका सबैले तपाईँलाई माया गर्छन् । तपाईँको सम्मान नघटोस् । त्यसैले दाई छोडिदिनुहोस् । आराम गर्नुहोस् ।’ थापाले पार्टीको नीति र नेतृत्व बदलिने घोषणा गरे । उनले महाधिवेशन प्रतिनिधिहरूले नै नीति र नेतृत्व बदल्न चाहेको बताएका हुन् । नेपाली काँग्रेसमा कार्यकर्ताहरूलाई हेप्ने दिन सकिएको भन्दै पार्टीमा कोही मालिक र कोही दास नहुने थापाले बताए ।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले नेपाली काँग्रेस देशको नेतृत्व गर्ने गरी अघि बढ्ने बताए । महाधिवेशनलाई सम्बोधन गर्दै उनले काँग्रेसलाई टुक्र्याउने प्रयास नभई सिंगो पार्टीको नेतृत्व गर्ने उद्देश्यसहित आफूहरू अघि बढिरहेको बताए । उनका अनुसार नेपाली काँग्रेस अब पुरानै अवस्थामा चल्दैन । देशभरका कार्यकर्ताहरूको साथ लिएर अब नयाँ ढंगले यात्रा गर्ने उनले बताएका हुन् । शर्माले आम नागरिकका गुनासा, असन्तुष्टि र अपेक्षालाई बुँदागत रूपमा संकलन, पहिचान र समीक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
पार्टीका सहमहामन्त्री फरमुल्लाह मन्सुरले नेपाली काँग्रेस अब गगन र विश्वप्रकाशको युगमा प्रवेश गरेको बताएका छन् । जेनजी व्रिदोहपछिको स्थितिलाई अब दुई महामन्त्रीले पूरा गर्ने उनको भनाइ थियो । आफूले सभापति शेरबहादुर देउवालाई सम्झाउन खोजे पनि नसकेको बताए । वरिष्ठ नेता गोपालमान श्रेष्ठले जेनजी आन्दोलनपछि मुलुक जटिल अवस्थामा पुगेको बताए । राणा फाल्ने, पञ्चायत ढाल्ने र गणतन्त्र ल्याएको काँग्रेसमा नेताले ब्याज खाने दिन सकिएको दाबीसमेत गरे ।
उद्घाटन सत्रमा कसले के भने ?
करिब ५ घण्टासम्म सञ्चालन भएको उद्घाटन समारोहमा २१ जना नेताले सम्बोधन गरेका थिए । उद्घाटन सत्रमा स्वागत मन्तव्य राखेका नेपाली काँग्रेसका नेता गुरुराज घिमिरेले काँग्रेस मूल सभ्यता भएको हुँदा आन्तरिक एकता कायम गर्न आग्रह गरे । नेविसंघकी केन्द्रीय सदस्य करुणा कटुवालले काँग्रेसका लागि र देशको निकासका लागि विशेष महाधिवेशन एउटा अवसर भएको धारणा राखिन् ।
उनले विशेष महाधिवेशनपछि काँग्रेस नवीन सोचका साथ फर्किने र नयाँ ऊर्जाका साथ गाउँगाउँ बलियो पार्टी बनाउने विश्वास व्यक्त गरिन् । नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति तीर्थ लामाले विशेष महाधिवेशन पार्टी चोइट्याउनका लागि नभएर बलियो बनाउनका लागि भएको आह्वान भएको बताए । पार्टीका बैतडी सभापति चतुरबहादुर चन्दले पछिल्लो चार महिना नेपाली काँग्रेस कोमामा रहेको भन्दै पार्टीले निकास दिन विशेष अधिवेशन गर्नुपरेको बताए ।
ललितपुरका सभापति जितेन्द्र श्रेष्ठले विशेष महाधिवेशन ‘एकताको महाधिवेशन’ भएको भन्दै बन्द सत्रमा पार्टी सभापति शेरबहादुर देउवा पनि आउने विश्वास व्यक्त गरे । नेता सुनिल शर्माले सभापति शेरबहादुर देउवालाई सत्ताको ‘रोइलो’ छोड्न सुझाव दिए । गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले नेपाली काँग्रेसमा नीतिगत सुधार, व्यवस्थित पार्टी र नयाँ नेतृत्व चयन आवश्यक रहेकोमा जोड दिए । नेपाली काँग्रेसका नेता विनोद चौधरीको जेनजी आन्दोलन भ्रष्टाचारविरुद्धको मात्र नभई राष्ट्रिय निर्माणको पक्षमा पुकार रहेको भनाइ थियो ।
नेता चन्द्र भण्डारीले एकताबद्ध काँग्रेस र नयाँ नेतृत्व आवश्यक रहेको बताएका थिए । पार्टीका नेता प्रकाश स्नेहीले पार्टीमा विचारको राजनीति हुनुपर्ने बताउँदै अबको नेपाली काँग्रेसको नेतृत्व गगन थापा र विश्वप्रकाश शर्माहरूले गर्ने बताए । उद्घाटन सत्रमा सभापति शेरबहादुर देउवा पक्षधर ३० जना केन्द्रीय सदस्यहरूको प्रतिनिधित्व गर्दै सम्बोधन गरेकी नेपाली काँग्रेसकी नेता पुष्पा भुसालले पार्टीको विधानको सम्मानका लागि आफू विशेष महाधिवेशनस्थलमा उभिएको बताएकी छन् ।
काँग्रेसका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने माग गरे । नेता तथा पूर्वमन्त्री प्रदीप पौडेलले विधानबमोजिमको मागलाई पार्टीले पेल्न खोजेपछि विशेष महाधिवेशन गर्नु परेको भन्दै पार्टी नेतृत्वको दम्भविरुद्ध एकजुट हुनुपरेको बताए । नेता अर्जुननरसिंह केसीले विधि र थितिमा चलाउने काँग्रेस निर्माणमा लाग्नुपर्ने बताए । नेता महेश आचार्यले बहुमतको भावनालाई लत्याउने नेतृत्वविरुद्ध काँग्रेसका नेता कार्यकर्ता जागेको बताए ।
आज बन्द सत्र ः विधान संशोधनदेखि नेतृत्व परिवर्तनसम्म
नेपाली काँग्रेसको दोस्रो विशेष महाधिवेशनको बन्द सत्र आज (सोमबार) बिहान १० बजेदेखि सुरु हुनेछ । बन्द सत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ । पार्टीभित्र सुधार र विधान संशोधन मुख्य एजेन्डा रहेको विशेष महाधिवेशनमार्फत यसअघि नै शर्माले गरेका विभिन्न प्रस्तावलाई नीति र विधानको रुप दिने तयारी गरिएको छ । शर्माले नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको आकार विस्तारको प्रस्ताव गर्ने गरी प्रतिवेदन तयार गरेका छन् ।
केन्द्रीय कार्यसमिति ३०१ सदस्यीय बनाउने उनको प्रस्ताव छ । अहिले नेपाली काँग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय छ । उनले केन्द्रीय समितिमा ७७ जिल्लालाई प्रतिनिधित्व गर्ने ७७ जनासहित २६५ प्रत्यक्ष निर्वाचित, ३६ समावेशी तथा समानुपातिक व्यवस्थाअनुसार सभापतिबाट मनोनीत गर्ने, ३० वर्षमुनिका २० र ३० देखि ४० वर्ष उमेर समूहका २० जनालाई प्रतिनिधित्व गराउने गरी केन्द्रीय कार्यसमिति प्रस्ताव गर्ने भएका हुन् ।
महामन्त्री शर्माले पार्टीमा पदाधिकारीका लागि एक, दुई, तीन र चार पटकको मोडल लागू गर्ने प्रस्ताव गर्नुका साथै राष्ट्रपति एक पटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने व्यवस्थालाई पार्टीको नीति बनाउने तयारीसहित प्रस्ताव गरेका छन् । संघ, प्रदेश र स्थानीय तहका सरकार सञ्चालनका लागि समन्वय समिति बनाउने, अन्तर्राष्ट्रिय जनसम्पर्क समिति २७ सदस्यीय हुने प्रतिवेदन उनले बन्द सत्रमा पेश गर्न लागेका हुन् ।









प्रतिक्रिया दिनुहोस्