बद्री कुन्ता मेमोरियल यू–१६ फुटबलः संघर्ष युवा क्लब फाइनलमा



कैलाली ।

धनगढी रंगशालामा जारी बद्री कुन्ता मेमोरियल यू–१६ कैलाली जिल्लास्तरीय पुरुष फुटबल प्रतियोगिताको फाइनलमा संघर्ष युवा क्लब गोदावरी प्रवेश गरेको छ । पहिलो सेमिफाइनल खेलमा बागमारा स्पोट्र्स क्लब लम्कीलाई ३–० गोल अन्तरले पराजित गर्दै संघर्ष उपाधि नजिक पुगेको हो ।

खेलको पहिलो हाफमा संघर्ष युवा क्लबले एक गोलको अग्रता लिएको थियो । २७औँ मिनेटमा आदित्य बडुवालले गोल गर्दै टोलीलाई सुरुआती अग्रता दिलाए । दोस्रो हाफमा संघर्षले थप दुई गोल ग¥यो । ६९औँ मिनेटमा तिलक कडायतले गोल गर्दै अग्रता दोब्बर बनाए भने अतिरिक्त समयमा प्रकाश शाहीले गोल गर्दै संघर्षको जित सुनिश्चित गरे ।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका संघर्ष युवा क्लबका आयुष महर ‘म्यान अफ द म्याच’ घोषित भए । खेल अवधिभर संघर्ष युवा क्लबका खेलाडीहरूले पाँच पहेंलो कार्ड पाएका थिए । खेलको अन्त्यतिर संघर्षका कप्तान दीपक अधिकारीले रातो कार्ड पाएपछि मैदानबाट बाहिरिनु परेको थियो ।

खेल भावना विपरीत व्यवहार गरेको भन्दै संघर्षका टिम म्यानेजर भुपेश श्रेष्ठ र सहायक प्रशिक्षक दिनेश नेपालीले पनि पहेंलो कार्ड पाएका थिए बागमारा स्पोट्र्स क्लब लम्कीका तर्फबाट अर्जुन शाहीले पहेंलो कार्ड पाए । बागमाराले दोस्रो हाफमा केही गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा सेमिफाइनलबाटै बाहिरिनुप¥यो ।

अब संघर्ष युवा क्लब गोदावरीले उपाधिका लागि गौरीगंगा ११ स्पोट्र्स क्लब र साहारा युवा क्लब पहलमानपुरबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । कैलाली जिल्ला फुटबल संघको आयोजनामा तथा बद्री कुन्ता मेमोरियल ट्रस्टको मुख्य प्रायोजनमा सञ्चालन भइरहेको प्रतियोगितामा जिल्लाभरका स्थानीय तहका टोलीहरूको सहभागिता रहेको छ ।

भोलिसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद २ लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १ लाख रूपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ । साथै विभिन्न विधामा उत्कृष्ट खेलाडीहरूलाई पनि पुरस्कार प्रदान गरिने प्रतियोगिता निर्देशक हर्क दानपालीले बताएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस २५ गते शुक्रबार